कोभिड-१९ संक्रमित बिरामीको चाप आस्पतालहरुमा हेर्ने हो भने घटिरहेको देखिँदैन। धेरै बिरामीहरु सिकिस्त र क्रिटिकल प्रकारका रहेका छन्। स्थानीय तहहरुको आइसोलेसन केन्द्रमा पनि त्यसै प्रकारका बिरामीहरु छन्। विश्व स्वास्थ्य संगठनको अन्तरिम कोभिड-१९ केश व्यवस्थापनको रोगको गम्भीरता अनुसार हेर्ने हो भने ९० प्रतिशतभन्दा काम अक्सिजन सेचुरेसन भएका सिकिस्त बिरामीहरु अक्सिजनको सहारामा सामान्य आइसोलेसनमा रहेका छन्। जबकी उनीहरु जुनसुकै बेला क्रिटिकल अवस्थामा जान सक्छन्।
स्वास्थ्य संस्था, आइसोलेसन केन्द्र तथा होम आइसोलेसनमा रहेका बिरामीहरुको क्लिनिकल ट्रायज तथा उचित प्रेषण प्रणालीको अभावमा मृत्यु भइरहेको देखिन्छ। अस्पतालहरुमा सघन उपचार कक्षको अभावले अझै बिरामीहरुको मृत्यु हुने सिलसिला केहि समयका लागि चलीरहने देखिन्छ।
समुदायमा हेर्ने हो भने रुघा खोकी, ज्वरो जस्ता समस्या भएका व्यक्तिहरु थुप्रै छन्। व्यक्तिहरु एकै चोटी श्वास प्रश्वासमा समस्या लगायतका लक्षण चिन्ह लिएर स्वास्थ्य संस्था, फिबर क्लिनिक तथा आइसोलेसन केन्द्रमा आइरहेका छन्। स्थानीय तह भित्र हप्तामा २/३ दिन पिसिआरका लागि स्वाब संकलन हुने गरेको छ। संकलित स्वाब पिसिआर जाँचका लागि पठाउने हो भने केहि बिरामीले कि त निको भइसके पछि कि त मृत्यु भइसके पछि रिपोर्ट पाउने गरेका छन्। जसका कारण समयमा नै रोगको पहिचान तथा निदान गरि संक्रमण रोकथाम र आइलोसलेट गर्ने प्रति कार्यलाई चुनौती थपेको छ। लक्षण विहिन तथा ल्याटेन्ट केश बाट हुने संक्रमणको त कुरै नगरौं, फलस्वरूप बेसिक रिप्रोडक्सन दर घट्न सकिरहेको छैन। समुदायबाट एकै चोटी सिकिस्त भएर आइसोलेसन तथा स्वास्थ्य संस्थासम्म आइपुग्नु, अक्सिजन सेचुरेसन कम हुनु, अस्पताल लानुस भन्दा यही नै राख्छु, कम्तिमा बेड र अक्सिजन त पाउँछ भन्ने धेरै नै भेटिन्छन्।
धेरै बिरामीको केश अध्ययन तथा कन्ट्याक्ट ट्रेसिंग गर्दा, बिरामीले आफ्नो आफ्नो घर परिवारको अन्य सदस्य वा नजिकको आफन्तलाई रोग सारी सकेको हुन्छ। धेरै जसो केशमा त घर परिवारका सबै जना संक्रमित भएका हुन्छन्। यो बेला सबैको ध्यान अस्पातलको बेड तथा अक्सिजनमा नै भइरहेको र प्रति दिन समुदाय तथा शहरमा हुने नयाँ संक्रमण न्यूनीकरण तथा रोकथामका रणनीतिक योजना तथा प्रति कार्यहरु खासै अघिसरेको देखिँदैन र क्वारेन्टाइन, संचालन तथा आइसोलेट जस्ता कार्यहरु प्रभावकरी रुपमा संचालन भएका छैनन्। धेरै जसो ठाउँहरुमा क्वारेन्टाइन निर्माण नभएको वा खाली नै रहेको छ।
हाल समुदाय तथा शहरी क्षेत्रमा घुमफिर, चिया पसल तथा चौतारामा गफ, छिमेकी आफन्त भेटघाट लागायतका सामान्य लापरवाहीले निषेधाज्ञा मार्फत संक्रमणको चेन ब्रेक गर्न सघाउ पुर्याउने अवस्थालाई पर धकेलेको छ। समुदायमा संक्रमण रोकथाम तथा नियन्त्रण प्रभावकारी नहुनुको कारण पिसिआरको रिपोर्ट समयमा नआउनु तथा एन्टीजिन टेस्ट किटको उपलब्धता नहुनु पनि हो। जसले गर्दा रोगको पहिचानमा समस्या भएको हो।
संक्रमणको दर घटाउने नै हो भने "पहिचान र आइसोलेट" को रणनीति लिएर अगाडि बढ्नु पर्ने हुन्छ। रोगको पहिचान भई सम्भवित सर्न सक्ने आवस्थालाई न्यूनीकरण गरि परिवार र समुदायमा थाहै नभइ भैरहेको संक्रमण केहि हदसम्म घटाउन सकिन्थ्यो। समुदायमा संकास्पद बिरामीहरुको समयमा नै पहिचानका लागि एन्टीजिन परिक्षण किटको प्रयोग एउटा प्रभावकारी उपाय हो। जसले धेरै जसो श्वासप्रश्वासमा समस्या आएपछि मात्रै अस्पताल तथा आइसोलेसन केन्द्रमा सम्पर्कमा आउने अवस्था घटाउन र समुदाय तथा घर भित्र नै भइहेको संक्रमणको चेनलाइ ब्रेक गर्न सकिन्थ्यो।
होम आइसोलेसनमा स्वास्थ्यकर्मीहरुको नियमित घर भेट, परामर्श तथा फलोआप र मध्यम तथा सिकिस्त बिरामीको उचित निगरानी र प्रेषण जस्ता प्रति कार्यहरु अतिनै आवस्यक छ। केश अध्ययन तथा कन्ट्याक्ट ट्रेसिंग मार्फत सम्पूर्ण व्यक्तिहरुको उचित फलोआप र परामर्श गर्नु पर्दछ। समुदायमा रहेको स्वास्थ्य संस्था, आइसोलेसन केन्द्र तथा होम आइसोलेसनमा रहेका बिरामीहरुको क्लिनिकल ट्रायज तथा उचित प्रेषण प्रणालीको व्यवस्था गर्नु पर्छ, जसले अक्सिजन मात्रै लगाएर सिकिस्त तथा क्रिटिकल बिरामीहारुलाई राखिने बाध्यात्मक अवस्थाको अन्त्य हुन्छ। अत: प्रत्यक दिन हुने नयाँ संक्रमणमा कमी आइ अस्पतालमा भएको चाप घट्ने र संक्रमण नियन्त्रणमा टेवा पुग्ने हुन्छ।
-(जनस्वास्थ्य निरीक्षक युजिन कुश्मी बर्दगोरिया गाउँपालिकाको सिआइसिटी संयोजक हुन्।)