काठमाडौं- चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शय्याको आइसीयू वार्ड स्थापना गरेको छ। फाउन्डेसले आइसीयूका लागि आवश्यक पर्ने बेड, मोनिटर लगायतका सबै सामग्री सहयोग स्वारुप उपलब्ध गराएको हो।
फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवन रक्षाका लागि आम नागरिकको सहज पहुँच भएको वीर अस्पतालमा १८ शय्याको आइसीयू स्थापना गरीएको जानकारी दिए।
'सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा १८ शय्याको आइसीयू वार्ड स्थापना गरी सम्पूर्ण नेपालीको सेवामा समर्पित गरिएको छ,' चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, 'कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवन रक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो । यसका लागि आमनागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी बोध गरेर हामीले वीर अस्पतालमा आइसीयू वार्ड स्थापना गरेका हौं।'
वीर कोभिड युनिफाइड अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमले फाउन्डेसनको सहयोगले ठूलो मद्दत मिलेको बताए। उनले अस्पतालमा १०० शय्याको आइसीयू बनाउने योजना रहेको र त्यही अनुसार काम अगाडि बढाइएको जानकारी दिए।
उनले आइसीयूमा जनशक्तिको समस्या नहुने पनि बताए।