आजकाल हरेकतिर देख्छु, मान्छेहरु आफ्ना सन्तानलाई डाक्टर बनेको हेर्न चाहन्छन्।अभिभावक अलि सम्पन्न छन् भने ‘जसरी पनि’ डाक्टर नै बनाउने चाहना हुन्छ। पहिलो त आफ्ना सन्तानलाई छात्रवृत्तिमा नाम निकाल्न नै प्रयास गराउँछन्। नभए पैसाको जोबलमा भए पनि चिकित्साशास्त्र पढाउने ‘घमन्ड’ गर्छन्।
अलि कमजोर आर्थिक स्थितिका अविभावकहरु भने ‘कठै, मेरा छोराछोरीलाई डाक्टर बनाउन पाएको भए!’ भनेर चुकचुकाउँछन्। गाउँघर छिमेक वा आफन्तका कोही जेहेन्दार छात्रले चिकित्साशास्त्रमा नाम निकाले आफ्नालाई ‘राम्रो नपढेको’ भनेर गाली गर्ने अविभावक पनि छन्।किनभने, छोराछोरीलाई चिकित्सक बनाएपछी आमाबाबुहरु आफ्नो ‘नाकको उचाई’ बढेको ठान्छन्।
पढाइसकेर चिकित्सक बनेपछि पनि यस्ता प्रतिक्रियाहरु रोकिँदैनन्। अनि पैसा कमाउने र कुरा काट्नेबीच द्वन्द्व हुन्छ।
‘डाक्टरको मुख्य उदेश्य नै पैसा कमाउनु हो नि! के को सेवा गथ्र्यो र?’ यसो भन्न थाल्छन्।
‘हेर त कस्तरी मोज गरेको!’ भन्नेहरु पनि हुन्छन्।
‘मोराले (वा मोरीले) त खप्परमा लिएर आएको रहेछ नि!’ पनि भन्छन्।
हरेक चिकित्सकले अनेक मान्छेहरुको संगतमा अक्सर यस्ता भनाइ सुन्ने गर्छन्। धेरैले डाक्टरलाई धर्तीको फरक प्राणीजस्तो व्यवहार गरेको देख्दा अचम्म लाग्छ। वास्तवमा डाक्टर पनि अरुजस्तै सामान्य मान्छे हो। उसको पनि मन हुन्छ। उसका पनि सुख दुःखका कहालीलाग्दा कथा हुन्छन्। ऊ पनि यो देशको नागरिक हो।
म पनि डाक्टर हुँ, भर्खर पढाइ सकेर पेसागत यात्रा सुरु गर्दै गरेकी।
म मध्यपश्चिम तराईको राजमार्गमा पर्ने बुटवल शहर नजिकै जन्मे हुर्केँ। बाबा बैंकमा काम गर्नुहुन्छ। मेरो परिवार आर्थिक हिसाबले ठीकै अवस्थाको हो। म बाबाको जागिरको क्रममा उहाँसँगै भैरहवा, बुटवल हुँदै पोखरा पुगेँ। भाइ, बहिनी र मैले बाबाको जागिर जता सरुवा हुन्छ उतै चाहर्दै पढ्यौँ।
मामुले पनि बीएसम्म पढ्नु भएको हो। तर, उहाँले गृहिणी बनेर परिवारमा योगदान गर्नुभयो। विद्यालयबिदा भएको बेला, चाडपर्वको बेला र घर आएको बेला मैले मेरो हजुरबुबाको सानिध्य पाएँ।
मलाई मेरो हजुरबुबाले नै क,ख चिनाउनु भएको हो। बाबा–मामुले व्यवहारिक शिक्षा दिनु भयो। बाबाले हामीलाई पढेर असल मान्छे बनाउन अहोरात्र मिहिनेत गर्नुभएको हो। राम्रो शिक्षाका लागि आवश्यक सम्पूर्ण वातावरण मिलेको हुनाले मेरो पढाइ राम्रै भयो।पोखराको यौटा विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि काठमाडौँ गएर छात्रबास बसी ‘प्लस टु’ पढ्न थालेँ।
यति बेलासम्म म समझदार किशोरी बनिसकेको थिएँ। परिवारसँग बसेर नजिकैको विद्यालयमा पढ्नुभन्दा टाढाको कलेजमा पढ्दा स्वतन्त्रता बढी हुन्थ्यो। विद्यालयमा उपभोग गर्न नपाएका स्वतन्त्रताका स्वादहरुमा रमाउन पाउने मौका थियो। मेरै कतिपय साथीहरु पढाइलाई तिलान्जली दिएर मायाप्रेमको उल्झनमा लागेका पनि थिए। मेरो मन पनि त्यस्तो चमकधमकमा तानिन्थ्यो। तर, मलाई मेरो हजुरबुवाले दिनुभएको संस्कारले त्यताको बाटो हिँड्न दिएन। बाबामामुको सपनालाई कुल्चन सकिँन।
यसै कारण मैले उत्कृष्ट अंक ल्यायेर १२ कक्षा उत्तीर्ण गरेँ। अब स्नातक पढ्नुअघि मैले मेरो जीवनको बाटो तय गर्नु थियो। मैले हासिल गरेको नतिजाले मलाई चिकित्साशास्त्र, इन्जिनियरिङ वा चाहेका जुनसुकै विषय पढ्न पाउथेँ।
मैले मेरो बाल्यकाल भैरहवा र पोखराका अस्पताल नजिक बिताउन पाएको थिएँ। बाबाको अफिस क्वार्टरअगाडिबाट सेतो एप्रोन लगाएका डाक्टर र चिकित्साशास्त्र पढ्दै गरेका विद्यार्थीहरु ओहोरदोहोर गरिरहेको देख्थेँ। यसले गर्दा मेरो मनमा चिकित्सा पेसाप्रति नजानिँदो आकर्षण पैदा भएको रहेछ।
घरमा ‘मैले अब के पढ्ने’ भन्ने छलफल भैरहेका बेला मैले फ्याट्ट भनिहालेँछु, ‘म अब मेडिसिन पढ्ने।’
मेरो बाबाले जागिरको क्रममा धेरै चिकित्सकलाई भेट्नु भएको थियो। चिकित्सकीय पेसामा हुने दुःख नजिकबाट नियाल्नु भएको थियो। चिकित्सक बन्नको लागि गर्नु पर्ने दुःख र मिहिनेतको आभास भएको रहेछ। त्यसैले होला, उहाँलाई चिकित्साशास्त्रको पढाइर चिकित्सकको कामलाई ‘दुःखिया’ मान्नु हुँदोरहेछ।
उहाँले मलाई जे विषय पढे पनि मेडिकल नपढ्न सुझाव दिनुभयो। मेरो मनमा तिर हानेजस्तो भएछ। म पिलपिलाएँछु।
त्यतिबेला हजुरबुबाले मेरो अनुहार नियालीरहनु भएकोरहेछ। उहाँले बाबालाई भन्नुभयो,‘नातिनीले डाक्टरी पढ्ने इच्छा गरी, राम्रै त हो। उसको रहर अनुसार गर्न दे।’
मामुले पनि डाक्टरी नै पढाउने बताउनुभयो। बाबाले सहमतिमा मुन्टो हल्लाउनुभयो।
मैले अथक मिहिनेत गरेर प्रवेश परीक्षाको तयारी गरेँ। उत्तीर्ण पनि गरेँ।
तर, मजस्तो सामान्य कर्मचारीको छोरीलाई महंगो शुल्क तिरेर भर्ना हुन र मासिक शुल्क अनि पढाइ खर्च बेहोर्न पक्कै सजिलो थिएन। तर, परिवारले ऋणधन गरेर पनि मेरो पढाइ अगाडि बढाइदिनुभयो।
पढाइमा आर्थिक मात्र नभएर सामाजिक र सम्बेगात्मक कठिनाइ पनि हुन्थे। नयाँ जीवन बनाउने यस्तो कठिन मोडमा ढाडस दिनु सट्टा नजिकैका केही आफन्त भने हामीलाई खिस्याइरहेका हुन्थे।
‘लु हेर, फलानाले कुन धनको तुजुकले छोरीलाई डाक्टरी पढाको होला?’
‘ऋण गरेर पनि छोरी पढाउँछु भन्ने फलानो त मुर्ख रहेछ नि!’
यस्तो बेलामा हजुरबुबाले ‘झिंगाको सरापले डिंगा मर्दैन’ भनेर बाबामामुलाई ढाडस दिनु हुन्थ्यो। बाबा मामुले पनि खुट्टा तान्नेहरुको कुरालाई एक कानले सुनेर अर्को कानले उडाउनुभयो।
यो त घरको कुरा भयो। कलेजमा बस्दा पनि मनभित्र उकुसमुकुस भैरहन्थ्यो।
अन्य विधामा पढ्ने मेरै उमेरका विद्यार्थीहरु हाँसखेल र रमाइलो गरिरहँदा हामी ‘असाइन्मेन्ट’मा घोत्लिरहेका हुन्थ्यौँ। अरु साथीहरु नयाँ चलचित्र आउने बितिक्कै हलमा पुग्थे। हामी मुर्दाघरमा गएर मानव शव चिरफार गरिरहेका हुन्थ्यौँ। कहिलेकाहीँ त जिन्दगी साँचै निरसजस्तो लाग्थ्यो।
कतिपय साथीसंगीले घरबार बसाएर काखमा बच्चा खेलाउँदै गर्दा बल्ल मेरो पढाइ सकियो। म पनि चिकित्सक बनेँ। जिन्दगीमा धेरै खुशी, रहर र भर्भराउँदो किशोरावस्था अनि जवानी गुमाएर मैले ठूलो प्रतिफल प्राप्त गरेँ।
यसपछि मैले मेरै शहरको अस्पतालमा करारमा मेडिकल अधिकृतको जागिर पाएँ। कतिपय मान्छेहरु म जस्ती सानी फुच्ची केटीलाई चिकित्सक भनेर पत्याउँदैनथे। कतिले ‘सिस्टर, डाक्टर साबलाई बोलाइदिनुस् न’ भन्थे।
जागिरको पहिलो कमाइले हजुरबुबालाई एउटा इस्टकोट, बाबालाई घडी, मामुलाई पछ्यौरा र भाइलाई टिसर्ट दिएँ। अनि छिमेकीहरुलाई एक–एकवटा लड्डु बाडेँ।
यहि बेला कोभिड–१९ को महामारी आयो।
हामी चिकित्सकहरु आफ्नो दायित्वबोध गर्दै दुनियाँको स्वास्थ्य रक्षाको लागि आफ्नै जीवन धरापमा पारेर मैदानमा खटियौँ। सामाजका कतिपयले त्यस्तो संकटको बेला रोगलाई भन्दा हामी स्वास्थ्यकर्मीलाई घृणा गरेँ। मान्छेहरुले जति छिः छिः र दुरः दुरः गरे पनि हामीले आफ्नो कर्तव्य भुलेनौँ।
हामी चिकित्सकहरु ड्युटी सकेर आफ्नो घर आउन पाउँदैन थियौँ। त्यसैले अस्पतालले नजिकैका घरहरुमा बस्ने व्यवस्था मिलायो। हामी दुई हप्ता रातदिन काम गथ्र्यौँ र अर्को दुई हप्ता आइसोलेसनमा बस्थ्यौँ।
दुईहप्ता लगातार पीपीई, चस्मा र मास्क लगाउँदा शरीर पाछेर हैरान हुन्थ्यो। मेरो नाकमा निको नहुने गरी बसेका खतहरु त अझै बाँकी छन्।
यस्तो संकटपूर्ण घडीमा म ‘फुच्ची’ले आफैँले नपत्याउने गरी काम गरेँ। अस्पतालका शय्याहरु भरिएपछी करिडोरमा बिरामी सुताएर पनि उपचार गरियो।
जति बेला म आइसोलेशनमा थिएँ, आफैँ कोभिड–१९ बाट संक्रमित हुन पुगेँ। त्यो अघिल्लो दशैँको बेला हो। घरको यादले पलपल ग्रस्त बनायो। दशैँ सकेपछी मात्र मेरो रिपोर्ट ‘नेगेटिभ’ आयो। भयेँ। फेरी ड्युटी सुरु भयो।
एक दिन ड्युटीको थकाइले लखतरान भएर खानै नखाई कतिबेला सुतेँछु, पत्तै भएन। रातको २ बजेतिर ब्युँझिएर हेर्दा घरबाट मोबाइलमा झन्डै ५० वटा कल आएको देखेँ। मोबाइल ‘साइलेन्ट’मा थियो।
फोन नउठेपछि म्यासेज छाडिएको रहेछ। त्यसमा लेखिएको थियो, ‘तिम्रो हजुरबुवा यस धर्तीमा रहनु भएन।’
आइसोलेशनमा बसेको म राति नै जर्याकजुरुक उठेर घर पुगेँछु। त्यो मेरो बेहोसीको यात्रा थियो। मेरो हजुरबुवाको निष्प्राण देहलाई तुलसीको मोठ नजिकै सुताइएको थियो। म धेरै बेर रोएँ। मैले अन्तिम अवस्थामा पनि हजुरबुवा भेट्न नपाएको दुःख आँसुमा झारिरहेँ।
त्यसपछि मलाई आमा कोठामा लगेर आफ्नो अंगालोमा सुताउनु भएछ। भोलिपल्ट सुनेँ, केही छिमेकीले भनेछन्, ‘यस्तो बेला अस्पतालमा काम गर्ने डाक्टरलाई पनि घरमा ल्याएर सुताउने?’
यो बेला लाग्यो, ‘संसारकै सबैभन्दा दुखिया पेसा मेरै रहेछ।’
बिस्तारै परिस्थीति बदलियो। कोभिड–१९ हाम्रो नियन्त्रणमा आयो। कोभिड नियन्त्रणमा खटेको पुरस्कार स्वरुप मलाई ‘कोभिड हिरो’ भनेर सम्मानित गरियो। लाग्यो, देश र जनताको लागि गरेको सेवाको कुनै दिन अवश्य कदर हुने रहेछ।
प्रस्तुति: राम हरि अधिकारी