भदौमा पनि हल्का झरी परिरहेथ्यो। रोमाञ्चित मौसम छँदैथियो, आफूलाई भने परीक्षाको चटारो। यो चटारो पन्छाएर मन बहलाउने एक जना छन्, जोसँग माया, प्रेम, गुनासो, बहस, वादविवाद हुन्छ। जुनसुकै विषयमाथि छलफल गर्न कुनै बाधा छैन। एक–अर्काका लागि एकदमै सहज छौँ।
प्रायः बिहान उनको फोन आउँछ। ‘जब चराहरूले ब्युँझाउँछन्, त्यसपछि तिम्रो आवाजले फुर्तिसाथ उठाउँछ। मेरो दिनको उदय तिमी हौ।’ अधिकांश यही वाक्य दोहोर्याउँछन्।
सम्बन्धमा कतै न कतै सन्देह पनि हुनुपर्छ भन्ने लाग्छ, मलाई। फोनवार्ताबाहेक हाम्रो भेटघाट पातलो छ। पछिल्लो समय त भेट भएकै छैन। यस्तो बेला सन्देह पनि हुन्छ र माया पनि बढ्छ।
उनी भनिरहन्छन्, ‘वर्षौँपछि भेट्दा पनि सम्बन्ध उस्तै रहोस्।’
एक दिन बिहानै उनको कलभन्दा पहिला मेसेज आयो। लेखिएको थियो, ‘ए सुन न, आजको परीक्षामा म पनि तिमीसँगै जान्छु, हस्?’
अनौठो लाग्यो। मेसेजको घण्टीले भदौरे झरीको पृथकतामा रौनकता थप्यो। परीक्षा नजिकिँदै गर्दा मसँग जाने भनेर उत्सुकता जनाइरहेका थिए। मैले पनि ‘हुन्छ’ भनेर सहमति जनाएको थिएँ।
‘हस्, चाँडै निस्कनू। एक्जाम सेन्टरमा बरु एक छिन बाहिरै बस्नु परोस्, ढिलो नहोस्,’ मैले जवाफ फर्काएँ।
परीक्षा र महिनावारीको समय एकैसाथ नजिकिएको थियो। तर, मैले महिनावारी हुने दिन याद गरेको थिइनँ। सधैँ उही समय नभइदिने, गडबड भइराख्ने। यस्तो भएपछि ख्याल राख्ने कुरा पनि भएन। महिनावारी भए पनि परीक्षा त दिनै पर्छ। काम गर्नै पर्छ।
परीक्षा दिउँसो १ बजेबाट थियो। परीक्षा केन्द्र ‘मदन भण्डारी मेमोरियल कलेज’मा थियो। परीक्षा केन्द्रमा आधाघण्टा अगाडि नै पुग्नुपर्ने हुन्छ। तर, हामी भने साढे ११ बजे नै पुगेछौँ।
‘पारिपट्टि सियाँलमा बसेर कुरा गरौँ। यहाँ बाइकको आवाज र मानिसहरूको आवतजावत बढी छ। डेढ घण्टा छ, के उभिइरहनु?’ उनले भने।
उनको आग्रहलाई प्रेमिल शिरोपर गरी स्वीकृतिको मुन्टो हल्लाएँ। सियाँलमा पँलेटी कसेर बस्यौँ। म चाहिँ झोलाबाट किताब निकालेर पढ्न सुरु गरेँ। परीक्षाको मुखमा मात्र किताब रट्ने त बानी नै छ।
उनी भने मोबाइल चलाइरहेका थिए। फोन कल, भिडियो कलमा जस्तो भेटमा उनी धेरै बोल्दैनन्।
‘आधा छकाल भइसक्यो, सियाँल टल्यो, ल त यतातिर आऊ।’
किताबसँग बगेकी मलाई उनको आवाजले निद्राबाट ब्युँझेजस्तो भयो। उनले चप्पल फुकालेर मलाई बस्नको लागि आग्रह गरेका थिए।
‘मोबाइल हेरेर पनि थाकिन्न है? तिमी प्रश्न सोध न, म उत्तर भन्छु,’ मैले भनेँ।
उनको अनुरोधलाई सहर्ष स्विकार्दै उनीतर्फ बढ्न जुरुक्क उठेँ। मलाई आफू महिनावारी भएको महसुस भयो। उभिएरै यसो झोला खोतलेँ। के पर्छ के भनेर महिनावारी नजिक आउँदा प्रायः प्याड बोकेर हिड्थेँ। तर, यसपटक त बिर्सिएँछु।
संयोग अनौठो पर्यो। पर्ससमेत लिन बिर्सेँछु।
‘ला... प्याड पनि बिर्सेको, पैसा पनि। पैसा भए प्याड किनेर ल्याइदेउन न। म त भर्खरै मिन्स भएँ,’ मैले भनेँ।
उनीसँग पैसा थियो, तर गमक्क परेर बसिरहे। केही बोलेनन्। बकुल्लाले झैँ मोबाइलबाट ध्यान हटाएनन्।
‘साँच्ची, भनेको म मिन्स भएँ के, प्याड ल्याइदेउ न यार।’
उनले फेरि नसुनेजस्तै गरे। जान्छु पनि भनेनन् जादिनँ पनि भनेनन्। बरु कुरालाई मोडिराखे, ‘आजको परीक्षा राम्रो गर्नुपर्छ है।’ यति भनिरहँदा उनको अनुहारमा मलिनता थियो। मानौँ, मिन्सका कारण परीक्षा राम्रो हुन्न। ‘बिटुलो भयो’ भन्नेजस्तो भाव अनुहारमा देखेँ।
सायद, उनलाई लाज लाग्यो होला। फोन कल वा भिडियो कलमा पनि मिन्स भएको सुनाउँदा नसुने झैं गरी कुरा मोड्थे। हाम्रो समस्या उनलाई के थाहा भन्ने लागिरह्यो। तर, त्यस्तो बेला टेबलको पानी तानेर खानसमेत नसक्दा बेस्सरी सम्झिने उनैलाई हो। महिनावारी लज्जाको विषय हो भनेर ठान्ने उनको मानसिकताले पसल गएर प्याड ल्याउन रोकेको हुनुपर्छ। फेरि अविवाहित हुन्, संस्कारिक देखिनु पनि परेको होला। या उनलाई पनि पुरुष हुनुको अहंता थियो, सायद।
म आफैँले हतार–हतार उनको सर्टको खल्तीमा भएको पैसा निकालेँ र पसल खोज्न भौतारिएँ।
हाम्रो कुराकानी सबै विषयमा हुन्छ। हामी बहसमा एकले अर्कालाई महिला र पुरुष भनेर सायदै सोच्छौं, बस् हामी बलिया तर्कहरूको उत्खनन् गर्छौँ। उनी आफै शिक्षित छन् र बौद्धिक पनि। तर, मैले उनको बौद्धिकता र व्यवहार थाहा पाएँ।
मेरो दिमागमा एउटा कुराले सधैँ रन्थनाउँछ– किन एक शिक्षित प्रेमीले आफ्नी प्रेमीकाको लागि सजिलै प्याड किन्न सक्ने सोचको विकास गर्न नसकेको होला? कि उसमा पितृसत्ताको अपढ पुरुष मानसिकता भएर हो? नत्र एउटा वस्तुमा कसरी उसको बौद्धिक आँखाले लाजको पसारो देख्यो त? पाचौँ जेनेरेसनको प्रविधि चलाउने र परिवर्तित सोचको एउटा जागरूग प्रगतिशील युवाले किन महिनावारीजस्तो गम्भीर विषयलाई लाज, अपराध र पाप देख्यो?
‘सुनन! परीक्षाको समय भयो! गेटमा निकै भिड छ, बरू हिँड उतै जाऊँ,’ मैले भनेँ।
महिनावारी भएँ भन्दा कानमा तेल हाल्नु, मुहारमा छेपारोले झैं रङ फेर्नु, पसलसम्म गएर प्याड किनेर ल्याउन नसक्नु उनको लाचारी थियो। उनको मौन उत्तर भनेको– प्रेमिका प्रिय छ, तर उसको प्राकृतिक प्रक्रिया अप्रिय छ।
महिनावारीको समय महिलाको शरीर झन् कमजोर हुन्छ, यस्तै बेलामा उनको साथ स्याहार, प्रेम पाउनुपर्ने हैन र? किन उनले यसलाई खुलेर मसँग कुरा गर्न सक्दैनन्। के यो घटनाप्रति पनि उनी मौन बसेरै बहिष्कार गरिराखेका छन्?
मैले आफ्नै प्रेमीलाई सम्झाउन सकेकी छैन? बुझाउन सकेकी छैन? के मलाई आफ्नै प्रेमीले बुझेका छैनन्?
मैले त आफ्नै परिवारको व्यवहार पनि बुझेको छैन।
घरमा मेरा दाइहरूका सुकाइएका लुगा मैले सहजै उठाइदिएको छु। तर, मेरा दाइहरूले कहिल्यै मेरा लुगा उठाएनन्। सुकिसकेको कपडा बरु भिज्न दिन्छन्, हेरेर बस्छन्। यस्तो पुरातनवादी समाजका सदस्य हामी भाषणमा भने प्रगतिशील सोचको रटान लगाउछौँ। तर, प्रगतिशील व्यवहार भने पटक्कै भेटिँदैन।
आज पनि समाजका कुसंस्कारको कुरा आउँदा हामी तत्काल बाआमालाई दोष दिन्छौँ। हामी भन्छौँ– म त मान्दिनँ, तर घरमा बुढा आमाबुवा छन्। यो एक सजिलो बहाना भएको छ।
अचम्म लाग्छ, काठमाडौँ वा बजारमा रहँदा केही मतलब नराख्ने। गाउँ फर्किएपछि फेरि उही विभेदपूर्ण सोच दोहोरिहाल्छ। व्यक्ति स्वीकार गर्ने, उसको शारीरिक अवस्था नस्विकार्ने। मैले उनीसँग योबारे पटक–पटक बहस गरेकी छु।
सरकारले स्यानिटरी प्याडमा १३ प्रतिशत भन्सार लगाएको विरोधमा सामाजिक सञ्जालमा ‘रातो कर माफ गर’ भनेर आक्रोश पोखिनै राखेका छन्। यो विषसमा बहस भइरहेकै छ। अझै हुनुपर्छ। मैले पनि यही मौकामा प्याडका आवश्यकताबारे उनलाई बुझाएँ। तर, उनी प्याड शब्द उच्चारण गर्न पनि भारी मान्छन्। अझ बेतुकको तर्क गर्छन्– ‘किन कन्डमको विरोध गरेको?’
प्याड र परिवार नियोजनका साधन त नितान्त फरक छन्। महिनावारीलाई धर्म र संस्कारसँग जोडेर विभेद गरिएको छ। जसरी मेरो प्रेमीले प्याडलाई विभेद गरेका छन्। उनलाई यो मान्नै ग्राहो छ। साँच्चै अहिले उनको र मेरो सम्बन्धको बीचमा प्याडको पर्खाल आएको छ।
हुन त हामी एक अर्कालाई कमरेड भनेर सम्बोधन गर्छौं। उनी आफूलाई भौतिकवादी भन्न रुचाउँछन्। तर, यस्तो भौतिकवाद जो एउटा प्याडलाई पनि स्वीकार गर्न सक्दैन। यस्ता खाले क्रान्तिकारी साँच्चै मलाई आजकाल खोक्रो लाग्छ। उनको पनि के दोष? यही समाजका उपज हुन्। यही समाजमा हुर्के, यही संस्कारमा बढे। जे सिकाइयो त्यही सिके।
महिला र पुरुषको कुरा आए उनी र म बारम्बार दुई खेमामा उभिएका छौँ। मेरो विद्रोह उनीसँग छ, अचेल। सम्बन्धमा दिन प्रतिदिन भइराख्ने यस्ता खालका अन्तरद्वन्द्वले के मोड लिने हो थाहा छैन।
प्रिय कमरेड!
अब मानसिकता बदल्ने प्रयास गर। समय अझै तिम्रै पखाईमा छ।