सम्बन्ध भनेको दुई चरित्रबीचको पारस्परिक विश्वास र सम्झौताको जग हो। जसको आधारमा टेकेर व्यक्ति अर्थात् एउटा चरित्र व्यक्ति–व्यक्तिरुपी चरित्रहरु मिलेर बनेको समाजमा बाँचेको हुन्छ र समाजसँग दोहोरो सम्बन्ध गाँसेको हुन्छ। आफ्नो सम्बन्धको गहिराईलाई मापन गर्न सक्ने अथवा पहिचान गर्न सक्ने सामथ्र्यवान् व्यक्तिले मात्र सफलतालाई हात पार्ने गर्दछन्। सफल हुनु भनेको मानसिक तवरले समेत स्वस्थ रहनु हो। सम्बन्धको प्रकृति वा स्वरुप बुझ्न असमर्थ व्यक्तिहरु दुविधा र असमञ्जसको जीवन बाँचिरहेका हुन्छन्। त्यस्ता व्यक्तिहरुलाई कदम कदममा असफलताले पनि पछ्याइरहेको हुन्छ।
स्वस्थ शरीरमा स्वस्थ मनको बास भएझैँ शान्त समाजमा स्वस्थ सम्बन्धको सार रहेको हुन्छ। कुनै पनि राष्ट्रको दीर्घायूको कवच भनेको त्यसमा हुने सुसम्बन्धको विस्तार नै हो। सम्बन्ध सधैँ एकनासले यौटै धरातलमा कायम रहेको हुँदैन। यो गतिशील हुन्छ र समय सन्दर्भ बमोजिम यसले आफ्ना आयामहरु बदलिरहेको हुन्छ। मानसिक स्वास्थ्य समस्या हुनु भनेको सम्बन्धको त्यस्तो बदलिँदो आयामलाई पहिचान गरी आफूलाई समय सापेक्ष सो अनुरुप ठीक ढंगले समुदायमा प्रकट गर्न नसक्नु पनि हो।
सम्बन्ध जति सरल र सहज भयो समाज पनि त्यतिनै सबल र सुदृढ एवम् सुरक्षित र संरक्षित हुने गर्दछ। पेचिलो सम्बन्ध मानसिक स्वास्थ्य समस्याको द्योतक हो। यसले सौहार्दपूर्ण सामाजिक वातावरणलाई बिथोल्ने कार्य गर्दछ। पेचिलो सम्बन्धका कारण सामाजिक वातावरण सकसयुक्त, उकुसमुकुसले भरिपूर्ण बन्दै जान्छ। पेचिलो सम्बन्धले जरा गाडेको समाजमा रिस–राग, वैमनुष्यता, द्वन्द आदि झाँगिँदै अनि मौलाउँदै जाने हुन्छ। जसले सामाजिक सद्भाव र त्यसमा रहेको मधुरतालाई नष्ट गरी कुरुप तथा रुग्न सम्बन्धले गाँजिएको अस्थिर समाजको ढाँचामा रुपान्तरण हुन उपरोक्त संरचनालाई सघाऊ पुर्याउँछ। यसरी अस्थिर समाजको मूल्य, मान्यता विकसित भएपछि त्यस्तो समाजमा व्यक्तिमात्र हैन, मानव सुचांकको अवस्था नै बिथोलिने गरी सम्पूर्ण समुदायले गम्भीर क्षति भोग्नु पर्ने हुनसक्छ। जस्तो कि उदाहरणका लागि मानव सभ्यतामा गृहयुद्धले क्षत–विक्षत भएका राष्ट्रहरु रहेका छन्।
आजभोलि विकसित मुलुकबाट शुरुवात भएको प्रायोजित सम्बन्धको यतिबेला नेपालमा पनि बोलाबाला रहेको अवस्था छ। निश्चित प्रायोजनका लागि गाँसिने यसप्रकारको प्रायोजित सम्बन्ध आवधिक हुन्छ र यो उद्देश्य पुरा भएपछि आफैँ समाप्त हुने गर्दछ। यस्तो प्रायोजित सम्बन्धलाई विखण्डनकारीहरुले आफ्नो उद्देश्य साँध्ने हतियारको रुपमा इस्तमाल गर्न सक्तछन्। प्रायोजित सम्बन्धले व्यक्तिलाई वास्तविक संसारबाट टाढा कपोल कल्पित दुनियाँमा रम्न सिकाउँछ र यसले प्रकृतिको सिद्धन्त विपरीत व्यक्तिलाई साधन ठान्छ। यस्तो अवस्थामा व्यक्ति समुदाय अथवा परिवारमा रहे पनि ऊ नितान्त एक्लो र निःसहाय हुन्छ। यान्त्रिक समाजको अवधारणामा विश्वास राख्ने प्रायोजित सम्बन्धमा मानवीय मूल्य र मान्यताका कुराहरु गौण रहनुका साथै यसले दीगो विकाशको लक्ष्यको नारालाई समेत ओझेलमा पार्न सहायक भूमिका खेल्ने हुन्छ। व्यक्तिलाई असामाजिक बनाउन ठूलो हात रहने यो प्रायोजित सम्बन्धको हालीमुहाली हाम्रो जस्तो अविकसित भौगोलिक विकटता रहेको मुलुकका लागि दुर्भाग्य हो। यसबाट काटमार, हिंसा, द्वन्द र अशान्तिको सुत्रपात हुनु बाहेक अरु कुनै सकारात्मक परिसूचकको अपेक्षा गर्नु कठिन हुन्छ। प्रायोजित सम्बन्धको प्रादुर्भावले मानसिक स्वास्थ्य समस्याको दरलाई मात्र बढाउँदैन, बरु यसले राष्ट्रको गरिमा, मर्यादा र अखण्डतालाई समेत नोक्सान गर्छ। त्यसैले प्रायोजित सम्बन्धको दलदलबाट मुलुकलाई बचाएर राष्ट्रको मौलिकतालाई जीवन्त राख्न मानवीय मूल्य र मान्यतामा आधारित दृष्टान्तहरु प्रधानताका साथ व्यवहारमा लागु हुनेगरी विधिको शासन कायम हुनु पर्दछ।
मानसिक स्वास्थ्य समस्यामाथि चासो वा पर्वाह राख्नुको साटो पूर्वाग्राही ढंगले मानसिक स्वास्थ्य समस्या भएको व्यक्ति तथा उनीहरुका परिवारमाथि श्रापित बहिष्करणको नीति अख्तियारी गर्नु समस्याको यथोचित सुनुवाई होइन, बरु यो समस्याप्रति देखिएको उदासिनता हो। मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति तथा सम्बन्धित पक्षलाई औँलो तेर्साएर भूत, प्रेत, पिसाच लागेको भनी भ्रमको डम्फू फुकेको भरले राज्यमा रहेको स्रोत, साधन र सम्पत्तिबाट निजहरुलाई अलग्याउनु अथवा अलग्याउन खोज्नु नाङ्लो ठटाएर हात्ती तर्साउनु जस्तै असान्दर्भिक कार्य हो। यस्तो प्रवृत्तिजन्य कार्यबाट लामो शसस्त्र द्वन्द भोगेको धरासायी राज्यलाई मानसिक स्वास्थ्य समस्याले गाँजेको वर्तमानको कहालीलाग्दो अवस्थाबाट कहाँ बाहिर निकाल्न सकिन्छ र ? तर, बदलामा पेचिलो बन्दै गएको सामाजिक सम्बन्धको धारलाई फुकाएर खुकुलो तुल्याउने प्रयास स्वरुपसम्बन्धित पक्षले त्याग र समर्पण भाव जस्ता मानवीय मूल्य मान्यताका विषयहरु व्यवहारमा अंकित हुने गरी सम्बन्धको कसीलाई मजबुति प्रदान गर्न सके बाँकी रहेको मानसिक सुस्वास्थ्यरुपी सुधा रसलाई नष्ट हुनबाट जोगाउन नसकिएला भन्न पनि सकिँदैन।
विश्व स्वास्थ्य संगठनले प्रत्येक चारजना व्यक्तिमध्ये एक जनालाई जीवनको कुनै कालखण्डमा मानसिक स्वास्थ्य समस्याको भएको हुन्छ भन्ने कुराको खुलासा गरेको अवस्था छ। यसले मानसिक स्वास्थ्य समस्याको विष्फोटक अवस्थालाई प्रतिविम्वित गर्छ। यस्तो भयावह अवस्थाबाट बाहिर आउन राज्यले सकारात्मक हस्तक्षेपकारी भूमिका खेल्नु पर्छ। तर, व्यवहारमा भने राज्यबाट सो बमोजिम कार्य भएको देखिँदैन। बरु यसको विपरीत राज्यपक्ष सुनियोजित तवरले विभिन्न विभेदकारी कानून तथा प्रतिकूल व्यवस्थाहरुमार्फत मानसिक स्वास्थ समस्या भएका व्यक्ति वा उनीहरुको समुदायलाई कलंकित र बदनाम तुल्याई सिङ्गो समाज अनि सामाजिक मर्यादा नै धरापमा पर्ने गरी विनाशकारी पथतिर लम्कन खोजेकोझैँ प्रतीत हुन्छ।
त्यसैले समयमा नै जिम्मेवार कर्तव्यवाहक पक्षहरुबाट मानसिक स्वास्थ्य समस्याको समाधानका लागि उचित पहल हुनु अवश्यक छ। अन्यथा, कुनैदिन एकले थुकी सुकी, सयले थुकी नदी भनेझैँ सबैको आँखाको कसिङ्गर बन्न सफल यस मानसिक स्वास्थ्य समस्याको दहले सबैलाई लिएर नजाला भन्न सकिँदैन र अन्त्यमा, जो अगुवा उही, बाटो हगुवा भन्ने उक्ति चरितार्थ हँुदै आएको यस नेपाली समाजमा त्याग र समर्पण भावजस्ता कुराहरु तपसिलमा रहेता पनि यसलाई नीति निर्माता तथा विज्ञहरुले गम्भीर भई व्यवहारिक रुपमा अनुसरण गर्न सके यो लेख इन्द्रका अगाडि स्वर्गको बयान भने पक्कै हुने थिएन।