आश्विन १८ गते, कृष्णनगरको बहादुरगंजस्थित शिवराज अस्पतालमा रातिको ८ बजेदेखि बिरामीहरुको चाप अचानक बढ्न थाल्यो। अस्पताल आउने सबै बिरामीहरुको एकै खाले लक्षणहरु थिए; केही घण्टाको अवधिमा उनीहरुलाई तारन्तार पानी जस्तो पातलो दिसासंगै बान्ता भएको थियो। जीवनजल वा अन्य कुनै औषधिले छोएको भए सायद यी बिरामीहरु अस्पताल आउँदैन थिए होलान। तर केही घण्टाभित्रै सुरु भएको झाडापखाला र वान्ता यति कडा थियो कि अधिकांस बिरामीहरु खान र निल्न नसक्ने गरी शिथिल भइसकेका थिए। १५ शय्याको अस्पतालको प्रमुख सहितको टोलीले आफ्नो सामर्थ्यभन्दा बढी दुई दिनको अवधिमा ३ सयभन्दा बढी बिरामीहरुको व्यवस्थापन गरिसकेको थियो। आजका मितिसम्म एक हजार तीन सयभन्दा बढी बिरामीहरुको व्यवस्थापन भइसकेको छ। यसै दौरान झाडापखाला (हैजा)कै कारण ६ जनाको दुखद मृत्यु भइसकेको छI मृत्यु हुनेमा २ बर्षे बालकदेखि वृद्ध, सबै उमेर समूहका रहेका छन्। आजको २१ औं शताब्दीमा झाडापखाला (हैजा) बाट कसैको पनि मृत्यू हुनु अत्यन्त दुखद बिडम्बना हो।
कसरी लाग्छ ज्यानै लिने रोग, हैजा?
दुषित खाना वा पानी अथवा अझ बुझ्ने गरी भन्ने हो भने दिसा खाएर हुने रोग हो हैजा। सुन्दा अचम्म लाग्छ ,पत्याउन पनि अफ्ठ्यारो नै हुन्छ, मानिसले दिसा कसरी खान्छ भनेर। अनुसन्धानका क्रममा झाडापखाला प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्दा के पाइयो भने त्यस क्षेत्रका अधिकांस व्यक्तिहरु घर नजिकैको खुला स्थानमा दिसा गर्छन, दिसा धोएपछी पानीले मात्र हात धुन्छन, त्यही हातले घरमा खानको लागि प्रयोग हुने पानी चलाउँछन्, खाना पकाउँछन्, सबैलाई त्यही हातले पस्केर दिन्छन्, पाकेको खाना छोपेर राख्दैनन् र ठेला वा खुला सडकमा बनाएको खाना बडो शानका साथ खाने गर्छन्। लक्षण नभएका वा सामान्य लक्षण भएका व्यक्तिहरुले खुलामा गरेको दिसामा प्रसस्त मात्रामा हैजाका किटाणुहरु हुन्छन्। जसलाई स्वयम् मानिसले फोहोर हातको माध्यमबाट वा झिंगाहरु सोही दिसामा बसेर आफ्नो खुट्टामा भएको दिसालाई मानिसले खाने खानामा ल्याएर छोडी दिन्छन, मानिस त्यही दिसा मिसिएको खाना खान्छ वा पानी पिउँछ अनि ज्यानै लिन सक्ने रोग हैजाबाट प्रभावित हुन्छ।
कहाँबाट , कसरी र किन हैजा कपिलवस्तुमा?
महामारी तथा रोग नियन्त्रण महाशाखाबाट खटिएका अनुसन्धान तथा प्रतिकार्य टोलीहरुलाई सबैभन्दा पहिले यति ठुलो संख्यामा एकै पटक यति धेरै जनसंख्यालाई प्रभावित पार्ने र ६ जनाको ज्यानै लिन सक्ने झाडापखालाको कारण पत्ता लगाउने चुनौती थियो। रोगको प्रकृति, समय, बिरामीहरुको दिसाको नमुना जाँच, पिउने पानीको परीक्षण, खुलामा दिसा गर्ने यहाँको संस्कार, दिसा गरिसकेपछी सामान्य पानी वा माटोले हात धुने बानी, सरसफाईको नाजुक अवस्था, आम नागरिकमा यसबाट हुन सक्ने जोखिमको कत्ति पनि आभास नहुनु र विगतमा पनि मानिसको ज्यान गएका झाडापखालाका घटनाहरु समेतलाई सुक्ष्म विश्लेषण गर्दा कपिलवस्तु जिल्लामा हैजाको ब्याक्टेरिया पहिले देखिनै विचरण गरिरहेको, समय समयमा कुनैनकुनै स्थानमा स-साना झाडापखालाका घटनाहरु घटाइरहेको र कहिलेकाँही यसकै कारणबाट मृत्यू समेत भएको तथ्यको उजागर भएको छ।
यसपटक किन यति धेरै संख्यामा प्रभावित, के अझ पनि महामारीको जोखिम कायमै छ ?
माथि उल्लेख भए जस्तै हैजाको किटाणु यस क्षेत्रमा पहिले देखिनै छ। विगतमा छिटपुट झाडापखालाका घटनाहरु देखिएता पनि यसपटक यसले विकराल रुप लिनुमा प्रभावित अधिकांसले एकै स्रोतबाट प्राप्त दुषित पानी वा खाना खाएको हुनु पर्दछ। महामारी फैलनु भन्दा अगाडि प्रभावितहरुले एकै स्थानबाट खाना खाएको, कुनै भोज भतेरमा सहभागी भएको तथ्य फेला परेन। तर प्रभावित अधिकांस व्यक्तिहरुले प्रयोग गर्ने पानीको स्रोत साझा रहेको र विभिन्न स्थानबाट वितरीत सोही पानीको नमूना परीक्षण गर्दा प्रशस्त मात्रामा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ। कोलिफर्म बाहिरी वातावरणमा र मानिसको दिसामा पाइने ब्याक्टेरिया हो र पानीमा यसको उपस्थितिले पानी दुषित छ भन्ने कुराको पुष्टि गर्दछ। यही दुषित पानी प्रयोग भएको हुनाले एकै पटक यति ठूलो जनसंख्या प्रभावित भएको आकलन गर्न सकिन्छ। खुलामा गरिने दिसा, सो दिसा पानीमा मिसिन सक्ने सम्भावना तथा नजिँकिदै गएको चाडवाड, बिहे भोज, धेरै मानिसहरुले खाने खानामा कुनै माध्यमबाट (झिंगा वा मानिसको फोहोर हात) हैजाको किटाणु मिसिएमा यसले फेरि अर्को ठूलो महामारी निम्त्याउन सक्छ भन्ने तथ्यलाई नकार्न सकिँदैन।
भविष्यमा यसलाई रोक्न के गरिनु पर्दछ ?
स्वास्थ्यका आधारभूत सेवाहरु विस्तारै वडा तहसम्म पुर्याउने प्रकृयामा रहेको देशमा कुनै दूरदराज वा स्वास्थ्य संरचना कमजोर भएको समुदायमा हैजाको महामारी फैलियो भने स्वास्थ्य प्रणालीले नथेग्न सक्छ, प्रतिकार्यमा पुग्दै गर्दा धेरै जनधनको क्षति भइसकेको हुनसक्छ। यसर्थ रोग लागेर उपचारमा स्रोत र साधन खर्चिनुभन्दा रोग लाग्न नदिनको लागि समुदायमा समुदायसंग व्यापक रुपमा काम गर्नु पर्ने देखिन्छ। सबैभन्दा ठुलो बिडम्बना त के हो भने जुन समुदायमा हैजा फैलिएको छ त्यस समुदायका बासिन्दाको मन मस्तिष्कमा यसको जोखिमको आभास, डर नै छैन। हामीले समुदायलाई यसबारे सचेत गरी उनीहरुको व्यवहार परिवर्तन गर्न सके मात्र यसले दिगो समाधान दिन्छ। नेपाल खुला दिसामुक्त देश घोषित भएसंगै कपिलबस्तु जिल्ला पनि खुला दिसामुक्त क्षेत्र हो तर वास्तविकता त के हो भने यहाँका अधिकांस घरहरुमा शौचालय छैन, आफैं बनाएका वा कुनै संघ संस्थाले बनाइदिएका शौचालयहरु पनि प्रयोगविहिन छन्। गरिब र अशिक्षित मात्र होइन, आर्थिक रुपमा सम्पन्न र शिक्षित भएकाहरु समेत मोटरसाइकल चढेर खेतमै खुला रुपमा दिसा गर्न जान्छन्I खुला रुपमा दिसा गर्न पाउनु जन्मसिद्ध अधिकार झैँ मान्ने यहाँका आम नागरिकलाई सो गर्नबाट रोक लगाउन यहाँका राजनीतिका दलका नेताहरुले ठूलै भूमिका खेल्नु पर्ने देखिन्छ। आउदै गरेको स्थानीय चुनाबमा हुने हार वा जीतलाई वास्ता नगरी यो मुद्दा जोडदार रुपमा उठाउनु पर्ने देखिन्छ।
विकसित मुलुकहरुमा इतिहासकै पानामा सिमित भैसकेको हैजा रोगबाट अझै पनि हाम्रा गाउँ बस्तीहरु प्रताडित हुनु, नागरिकले ज्यान गुमाउनु अत्यन्त दुखलाग्दो सत्य हो। अझ यो रोग सर्ने माध्यमलाई नियालेर हेर्दा यसले हाम्रो संस्कार अनि सभ्यतालाई गिज्याइरहेको छ। विश्व जगतले हामीलाई हेर्ने दृष्टिकोण, हामी र हाम्रो देशप्रति गर्ने व्यवहारलाई निर्धारित गरिरहेको छI सम्बन्धीत सबै सरोकारवालाहरु (स्वास्थ्य, शिक्षा, खानेपानी, खाद्य, जनीतिक दल , साझेदार सहयोगी संघ संस्थाहरु) प्रतिबद्ध र एकजुट भइ लागेमा नेपाल र नेपालीको जनधनको क्षति गराउने र विश्व सामु हामीलाई कलंकित बनाउने यो हैजाको किटाणुलाई सदाको लागि सेप्टिक ट्यांकमा कैद गर्न सम्भव छ।
-(डा पोख्रेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख हुन्।)