केही दिन अघि एक जना ६० वर्षीय बिरामी उपचारपछि अस्पतालबाट डिस्चार्ज भए। डिस्चार्जको क्रममा चिकित्सकले लेखिदिएको औषधि उनले अस्पतालकै फार्मेसीबाट लिए। औषधि खाईसकेपछि बिरामीमा सुगरको मात्रा अत्यधिक कमि हुुनगई मुर्छा पर्ने, रिंगटा लाग्ने, पेट दुख्ने, वान्ता हुने जस्ता नकरात्मक असर देखिन थाले। फार्मेसीमा औषधि दिने व्यक्तिले जान्टर ८० (febuxostat) भनिने युरिक एसिड कम गर्ने औषधि दिनुपर्नेमा भुलबस जाइड ८० (Gliclazide) भनिने सुगर कम गर्ने औषधि दिएछन्।
प्रेस्कृप्सन अस्पष्ट भएको र दुवै औषधिको मात्रासमान भएकाले यस्तो त्रुटि हुन गएको थियो। समयमा नै उनलाई अस्पताल ल्याइएका कारण थप क्षति भने हुन पाएन। यो त एक प्रतिनिधि घटना मात्रै हो। औषधिको सिफारिस, वितरण र प्रयोगमा हुने कुनै सानो भुलले पनि बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ भने कतिपय अवस्थामा त ज्यानै समेत जान सक्छ।
एनसीबीआई भनिने अमेरिकी जर्नलमा सन् २०२१ मा प्रकाशित एक अनुसन्धानमा अमेरिकामा मेडिकेसन इरर अर्थात औषधिको गलत प्रयोग भएर प्रत्येक वर्ष ७ देखि ९ हजार मानिसको मृत्यु हुने गर्दछ। त्यस्तै रोयल कलेज अफ फिजिसियन्स अफ इडिनवर्ग भनिने युकेको एक जर्नलमा प्रकाशित अनुसन्धानमा मेडिकेसन इररका कारणले मृत्यु हुनकोे संख्या अमेरिकाकै हाराहारिमा छ। युएसएफडिए २०१९ को रिपोर्ट अनुसार मेडिकेसन इरर संग सम्बन्धित प्रतिवर्ष १ लाख घटना दर्ता हुने गर्छन्। नेपालमा यस्ता किसिमका त्रुटिका कारण हुने मानवीय र आर्थिक क्षतिको विषयमा कुनै ठोस अध्ययन त छैन तर एक अध्ययनले करिब एक तिहाइ बिरामीमा मेडिकेसन इररको समस्या देखिने गरेको छ।
मेडिकल भाषामा Look alike Sound alike (LASA) भनिने एक शब्दावली छ। हेर्दा उस्तै देखिने र सुन्दा उस्तै लाग्ने औषधिहरु यसमा पर्छन। जस्तै स्टानिल भनिने मानसिक रोगको उपचारमा प्रयोग गरिने औषधि र स्टाटिन भनिने कोलेस्टेरोलमा प्रयोग गरिने औषधिमा यदि प्रेस्कृप्सन अलिकति पनि अस्पष्ट (illegible handwriting) भएमा औषधि वितरण गर्ने स्वास्थ्यकर्मी झुक्किने सम्भावना हुन्छ। त्यस्तै मधुमेहको उपचारमा प्रयोग गरिने क्लोरप्रोपामाइड र मानसिक रोगको उपचारमा प्रयोग गरिने क्लोरप्रोमाजिनमा झुक्किने सम्भावना धैरै हुन्छ।
बिरामीको चाप भएको समयमा औषधिको ज्ञान र अनुभव नभएको व्यक्तिबाट यस्ता त्रुटि हुने बढी सम्भावना हुन्छ। यस्ता किसिमका त्रुटिलाई कम गर्न प्रेस्कृप्सन स्पष्ट बुझिने गरि (legible) जेनेरिक नाममा लेख्ने गर्नुपर्छ। यसमा फर्मासिष्टको भुमिका पनि महत्वपूर्ण हुन्छ। औषधि वितरण र परामर्श गर्ने क्रममा अनुमानका भरमा औषधि नदिई अर्को व्यक्तिबाट क्रस चेक गराउने वा सम्बन्धित चिकित्ससँग सम्पर्क गरी औषधि निश्चित गरेर मात्र दिनुपर्छ। प्रेस्क्राइवकर्ताले पनि यस्ता प्रेस्क्राइव इररबाट हुन सक्ने त्रुटि रोक्न आफ्नो प्रेस्क्राइव अभ्यासमा सुधार गर्नुपर्छ।
दक्ष जनशक्ति र परामर्शको अभाव
औषधि व्यवस्था विभागमा हालसम्म करिब उनान्तीस हजार औषधि पसल दर्ता छन्। कतिपय ठाउँंमा त विना दर्ताका औषधि पसल पनि संचालन भइरहेका छन्। नेपालका धेरैजसो औषधि पसलमा फार्मेसी अध्ययन गरेका जनशक्ति छैनन्। नेपाल फार्मेसी काउन्सिलमा फर्मासिस्ट र फार्मेसी सहायक गरि दर्ता रहेको जनशक्तिको संख्या करिब १० हजार छ।
जम्मा दर्ता फार्मेसी र हालसम्म उत्पादन भएका फार्मेसीको जनशक्तिको अनुपात हेर्दा धेरै औषधि पसलमा गैर–फर्मासिष्टको संख्या धेरै देखिन्छ। औषधिको प्रतिअसर, प्रयोग गर्न नहुने अवस्था र सहि प्रयोग विधिका बिषयमा गैर–फर्मासिष्टलाई पर्याप्त ज्ञान नहुँदा बिरामीले सहि परामर्श प्राप्त गर्न सक्दैनन्। जसको असर बिरामीको स्वास्थ्यमा पर्ने गर्छ। जस्तै पेनिसिलिन र क्लोराम्फेनिकोल गु्रपका औषधिबाट कतिपय मानिसमा गम्भीर एलर्जिक रियाक्सन देखिन सक्छ। प्रेस्क्राइवकर्ता र औषधि वितरण गर्नेले बिरामीमा विगतमा कुनै यस्ता खाले रियाक्सन देखिएको छ/छैन भन्ने विषयमा ध्यान दिनुपर्छ। गलत औषधिको छनौट र उचित परामर्शको अभावमा बिरामीको शारीरिक, मानसिक र आर्थिक अवस्थामा असर त पुग्छनै स्वास्थ्यकर्मी र औषधिप्रति बिरामीको विश्वास समेत घटेर जान्छ। दिर्घरोगहरु जस्तै दम, मधुमेह, मुटुरोग मानसिक रोगका बिरामीरुलाई विशेष परामर्श गरि औषधिको सहि प्रयोगमा जोड दिनुपर्छ। यसका लागि जहाँ औषधि त्यहाँ फर्माशिष्टको नारा लाई कार्यान्वयन गर्नुपर्छ।
सेल्फ मेडिकेसन अथवा आफूखुसी औषधि सेवन गर्ने अभ्यास
नेपालमा चिकित्सकको सिफारिस आवश्यक नपर्ने औषधि आफूखुसी किनेर खाने चलन छ। सन् २०१८ मा पोखराका विभिन्न ठाउँमा गरिएको अध्ययनमा ३८ दशमलव २ प्रतिशत मानिसले सेल्फ मेडिकेसन गर्ने गरेको पाइयो। जसमा मुख्यत दुखाई कम गर्ने औषधि धेरै रहेका छन् । यस्ता खालका औषधिको अधिक प्रयोगले पेटको अल्सर हुने, रगत बग्ने हुनुका साथै कलेजोमा समेत हानी गर्छ। यस्तै रुघाखोकी निको पार्ने औषधिमा स्युडोइफिडिन, फिनाइलइफ्रिन भएका औषधिको सेवनले उच्च रक्तचापका बिरामीलाई रक्तचाप अझ वृद्धि गर्छ। मलाई सबै थाहा छ, सामान्य त हो नि भनेर आफूखुसी खानु हुदैन। औषधि प्रयोग गर्दा चिकित्सक र फर्माशिस्टकको परामर्श अनिवार्य लिने गर्नुपर्छ।
फर्माकोभिजिलेन्स केन्द्रको व्यवहारिक अभ्यास नहुनु
औषधिको प्रयोगबाट देखा पर्नसक्ने प्रतिअसरको विषयमा अध्ययन गर्न फर्माकोभिजिलेन्स केन्द्रको स्थापना गरिएको हुन्छ। नेपालमा सन् २००४ मा पहिलोपटक औषधि व्यवस्था विभागमा यसको स्थापना गरिएको हो। हाल नेपालमा विभागकै मातहतमा रहने गरि १२ वटा क्षेत्रीय केन्द्रहरु छन्। यसले औषधिको प्रति असरका विषयमा रिपोर्ट संकलन गर्ने र त्यसलाई आवश्यक अध्ययन र विश्लेषण गरि स्वीडेन स्थित उपशाला मोनिटरिङ केन्द्रमा पठाउँछ। उक्त केन्द्रले प्राप्त सवै रिपोर्टको अनुसन्धान र विश्लेषण गरि प्राप्त रिजल्ट पुनः सवै सरोकारवाला निकायमा पठाउने गछर्। त्यहाँबाट प्राप्त सुचनालाई औषधि व्यवस्था विभागले देशका सबै क्षेत्रीय फर्माकोभिजिलेन्स केन्द्रमा पठाउने गर्छ। यसले औषधिको प्रतिअसरबाट हुन सक्ने हानी कम गर्न र बिरामीको स्वास्थ्य सुरक्षामा सकरात्मक भुमिका खेल्दछ। तर सवै अस्पतालमा यस केन्द्रको स्थापना नहुनु र पर्याप्त जनशक्ति, स्रोतसाधनको अभावका कारण यसले नतिजाजनक उपलव्धि हासिल गर्न सकेको छैन। नेपालका सवै अस्पतालमा यस केन्द्रको स्थापना गरि औषधिको प्रतिअसरका विषयमा अध्ययन र सम्बन्धित निकायमा रिपोर्टिङं गर्ने व्यवस्था गर्नुपर्छ।
मेडिकल पेसा आफैंमा एक निरन्तरको सिकाई हो। असल मेडिकल अभ्यास गर्ने हो भने मेडिकेसन इररबाट बिरामीको स्वास्थ्यमा पर्न सक्ने असरहरुलाई धेरै हदसम्म रोक्न सकिन्छ। आफ्नो हातबाट सधैँ सहि औषधि जाओस् भन्ने चाहना हामी सबै स्वास्थ्यकर्मीको हुन्छ, तैपनि कहिलेकाहि कमजोरी र त्रुटि हुन सक्छन्, यसलाई दण्डनीय सोचबाट मात्र हेर्नु हुँदैन। यसलाई रोक्न र सम्भावित त्रुटि कम गर्न औषधि प्रेस्क्राईब गर्ने स्वास्थ्यकर्मी,चिकित्सक र वितरण तथा परामर्श गर्ने फर्माशिष्ट सचेत हुनुपर्छ। साथै बिरामीले पनि औषधि लिने तरिका, अवधि, प्रतिअसरका विषयमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ। यसो हुन सकेमा औषधिको गलत प्रयोग बाट हुनसक्ने क्षतिलाई हामी धेरै हदसम्म कम गर्न सक्छौ। एक जना अमेरिकी फुटबल खेलाडी एवं प्रशिक्षक पावलविअर व्रान्टको एउटा भनाई निकै प्रसिद्ध छ जब तपाई कुनै गल्ती गर्नुहुन्छ त्यसलाई सुधार्न तीन कुराहरु हुन्छन् जुन तपाईंले पालना गर्नैपर्छ। पहिलो आफूबाट भएको कमजोरीलाई स्विकार गर्नुहोस् अर्थात यसलाई नलुकाउँनुहोस्, दोस्रो कमजोरी कहाँ–कहाँं भयो भनेर पत्ता लगाउँनुहोस् र तेस्रो अब यस्तो कमजोरी कहिले पनि नदोहोर्याउँनुहोस्।
-(लेखक विरेन्द्र अस्पताल, छाउनीका फर्मासिष्ट हुन्।)
References :
1.https://www.rcpe.ac.uk/journal/issue/journal_37_4/Williams.pdf
2.https://www.dda.gov.np/content/pharmacovigilance
3. https://www.ncbi.nlm.nih.gov/books/NBK519065/
4. https://pubmed.ncbi.nlm.nih.gov/32429936/
5. https://www.drugs.com/pseudoephedrine.html