काठमाडौं- चिकित्सा शिक्षा आयोगले विद्यार्थी संख्या कम भएका सबै विश्वविद्यालयले कुनै एक सम्बन्धित कलेजमा विद्यार्थी भर्ना लिन अनुमति दिएको छ।
चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा निकै कम विद्यार्थी मात्र उतीर्ण गरेको भन्दै कतिपय कलेजले पारामेडिक्सका विषय अध्यापन गराउन नसक्ने बताएका थिए।
पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थी संख्या कम भएकोले सबै कलेजहरुको विद्यार्थी कुनै एक सम्बन्धित कलेजमा पढाउन दिन आयोगसँग अनुमति मागेको थियो। आयोगले पूर्वाञ्चल विश्वविद्यालयको उक्त प्रस्ताव कार्यकारी समितिबाट स्वीकृत भएको बताएको छ ।
आयोगका उपसचिव सेमन्तराज कोइरालाले सूचना जारी गर्दै म्याचिङमा छात्रवृत्तितर्फ विश्वविद्यालयमार्फत भर्ना भएका र न्युन संख्यामा विद्यार्थी भर्ना भई शिक्षण संस्थानमा अध्ययन गर्न असमर्थ भएका विद्यार्थीहरुको व्यवस्थापनका लागि विश्वविद्यालयहरुबाट पेश भएको प्रस्ताव कार्यकारी समितिबाट स्वीकृत भएको जानकारी दिएका छन्।
पारामेडिक्सतर्फका विद्यार्थीले छात्रवृत्तिमा नाम निकाले पनि कलेजले भर्ना लिन नमानेपछि आन्दोलन गरेका थिए। कलेजले भर्ना लिन नमानेको भन्दै पीडित विद्यार्थीले संसदीय समितिको ध्यानाकर्षण समेत गराएका थिए।
पूर्वाञ्चल विश्वविद्यालय अन्तरगत उपत्यकामै छात्रवृत्ति पाएका विद्यार्थीलाई उपत्यकामै रहेका १० भन्दा बढी पूर्वाञ्चलका कलेजमध्ये जुनकुनै एकमा मर्ज गराउनुपर्ने, चिकित्सा शिक्षा आयोगले भर्ना अगावै छात्रवृत्तिका विद्यार्थीसँग गरेको कबूलियतनामा खारेज गरी विद्यार्थीले चाहेको अरू कलेज वा विश्वविद्यालयमा पढ्ने वातावरण मिलाउनुपर्ने माग उनिहरुको थियो।
यस्तै, काठमाडौं उपत्यका बाहिरका छात्रावृत्ति पाएका विद्यार्थीहरू पनि काठमाडौंमा नै सहज हुने भएकाले र सबै विद्यार्थीहरू सहमत पनि भएकाले उपत्यका भित्रै मर्ज गर्नुपर्ने माग अघि सारेका थिए।
आयोगले लिएको एकीकृत परीक्षामा बीपीएचमा १४२० कोटा छुट्याएकोमा ५६५ जनाले मात्रै प्रवेश परीक्षा उत्तीर्ण गरेका थिए। बिएससी नर्सिङमा ११०० सय छुट्याइएकोमा ५०४ जनाले प्रवेश परीक्षा उतीर्ण भएका थिए। बी फार्मेसीमा ९०२ वटा कोटा छुट्याउदा ५४७ जना मात्रै उत्तीर्ण भएका थिए।
फिजियोथेरापी बीपीटीमा १५० जनाको कोटा हुदाँ ११४ जना, बीएस्सी एमआइटी रेडियोग्राफीमा ७१ कोटमा ३५ जना, बिएस्सी एमएलटी ४२५ सिटमा ११८ जना उत्तीर्ण भएका थिए।