काठमाडौं- काठमाडौं मेडिकल कलेज सिनामंगल र विराटनगरको नोबेल मेडिकल कलेजको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका छन्। यी दुइ मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएस र बीडीएसका विद्यार्थीलाई पढ्न नदिएपछि विद्यार्थीहरु आन्दोलित भएका हुन्।
यसको विरोधमा नेविसंघले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा आन्दोलन गरेको छ। 'विद्यार्थीलाई न्याय दे. मेडिकल माफिया मुर्दावाद. अतिरिक्त शुल्क खारेज गर', लगाएतका नारा सहित विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।
नियम विपरित कलेजहरुले अतिरिक्त शुल्क लिन थालेपछि आन्दोलन गर्नुपरेको बिद्यार्थीहरुको भनाइ छ। अन्य मेडिकल कलेजमा मंसिर १९ गतेबाटै कक्षा सञ्चालन भए पनि शुल्क विवादका कारण यी दुई कलेजमा शैक्षिक कार्यक्रम सुरु हुन सकेको छैन।
नोबेलले सुरक्षा गार्ड राखेर अतिरिक्त शुल्क बुझाएपछि मात्रै कक्षामा छिर्न पाउने व्यवस्था गरेको छ। ‘होस्टल अनिवार्य गरिएको छ, कोठा, बिजुली, इन्टरनेट, खानाको चर्को शुल्क तोकिएको छ, त्यसैले हामीहरु आन्दोलनमा उत्रिनु परेको हो’ एक विद्यार्थीले भने ।
नोबेलमा एमबीबीएसमा एक सय सिट तोकिएको छ। तीमध्ये ८१ जना चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कमा अध्ययन गर्ने विद्यार्थी छन् । उनीहरूसँग बढी रकम मागिएको हो । अतिरिक्त शुल्क बुझाएका ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जनालाई छुट्टै कक्षाकोठामा राखेर पढाउन थालेको र आफूहरूको पठनपाठनमा रोक लगाएको पीडित विद्यार्थीले गुनासो गरे । नोबेल मेडिकल कलेज काङ्ग्रेस नेता सुनील शर्माले सञ्चालन गर्दै आएका छन् ।
काठमाडौं मेडिकल कलेजले पनि बीडीएसका छात्रछात्रालाई कक्षाबाट निकालेर पठनपाठन बन्द गरेको छ। आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर, कलेज सञ्चालक सुनील शर्मा अतिरिक्त २० लाख बुझाउने सर्तनामामा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन्। कलेजमा शुल्क विवादको कारण एमबीबीएसको कक्षा सुरु नै भएको छैन।
‘हामीलाई बढी शुल्क नबुझाए कक्षामा छिर्न दिँदैनौं भनिएको छ, पैसा तिर्नेमात्र कक्षाकोठामा पस्न पाउँछन्,’ एक विद्यार्थीले भने ।