काठमाडौं- सरकारले गत सोमबार ५ लाख ६८ हजार ३ सय १९ डोज कोरोनाविरुद्धको खोप दियो। सोमबार हालसम्मकै बढी खोप लगाएपछि उत्साहित हुँदै सरकारले दैनिक ५ लाख नागरिलाई खोप लगाउने बतायो।
तर पछिल्ला दिनहरुमा लक्ष्य भन्दा निकै कम मात्रामा नागरिकहरुले खोप लगाएका छन्। दैनिक खोप लगाउने दर हेर्ने हो भने सरकारले तय गरेको दैनिक पाँच लाखलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य पूरा नहुने देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस मसान्तसम्म हरेक दिन पाँच लाख खोप लगाउने लक्ष्य सार्वजनिक गरेको थियो। पुसभित्र ६६ प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्यअनुसार सरकारले दैनिक ५ लाख खोप लगाउने कार्यक्रम राखेको थियो।
तर, पछिल्ला ४ दिनको तथ्यांक हेर्ने हो भने सरकारको लक्ष्य पुरा नहुने देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबार २ लाख २ हजार,बिहीबार ५६ हजार, शुक्रबार १ लाख ३९ हजार र शनिबार ५९ हजारले खोप लगाएका छन्।
हाल लक्ष्य अनुसार खाेप लगाउन नसकिए पनि ८ जिल्लामा १२ देखि १७ वर्ष लक्षित फाइजर खोप अभियान सुरु भएपछि दैनिक थप एकदेखि डेढ लाखले खोप लगाउने मन्त्रालयको दाबी छ ।
सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने जनाएको थियो। ६ लाख ६४ हजार ५६० मात्रा खोप आएपनि समयमा घोलक र सिरिञ्ज नआएपछि खोप अभियान स्थगन हुन पुगेको थियो।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार फाइजर खोप लगाउन आवश्यक पर्ने घोलक आइपुगेको छ भने मंगलबारसम्म सिरिञ्ज पनि आइपुग्नेछ।
हाल ५७ जिल्लामा माेडर्ना खाेप अभियान चलिरहेकाे छ। त्यस्तै काठमाडौँ उपत्यकाको ३ वटै जिल्लामा पनि खोप अभियान सञ्चालन भइरहेको छ।
शनिबारसम्म २ करोड ४४ लाख २१ हजार ५ सय १२ डोज खोप लगाइएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म कुल जनसंख्याको ३४.२ प्रतिशत अर्थात् १ करोड ३ लाख ८४ हजार ८ सय ५१ जनालाई पूर्ण खोप लगाइएको छ भने ४६ प्रतिशत अर्थात् १ करोड ४० लाख ३६ हजार ६ सय ११ जनाले एक डोज खोप लगाएका छन् ।
शनिबारसम्ममा १८ वर्ष वा सोभन्दा माथिका लक्षित जनसंख्याको ५२.१ प्रतिशतलाई पूर्ण र ७०.५ प्रतिशतलाई एक डोज लगाइएको मन्त्रालयले जनाएको छ । नेपालमा १४ माघ २०७७ मा खोप अभियान सुरु गरिएको थियो । हालसम्म अनुदान र खरिद गरी ३ करोड ९२ लाख ३ हजार ९ सय २७ खोप भित्रिएको छ ।