काठमाडौं- कोरोना महामारीका क्रममा गरीबीको गहिराई पहिलाको भन्दा धेरै गहिरो बन्यो। धनी थप धनी हुँदै गए भने गरिब अझै गरिब भएका छन्।
च्यारेटी संस्था अक्स्फामको रिपोर्ट अनुसार आय न्यून भएका कारण विश्वमा दैनिक २१ हजार मानिसको मृत्यु भयो भने विश्वका १० सबैभन्दा धनी मानिसको सम्पत्तिमा मार्च २०२० बाट लिएर अहिलेसम्म दुई गुणा भन्दा धेरैको वृद्धि भएको छ। डाभोसमा वर्ल्ड इकोनमिक फोरमको बैठक सुरु हुँदा अक्स्फामले विश्वमा व्याप्त असमानताबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।
डाभोस बैठकमा हजारौँको संख्यामा व्यापारिक तथा राजनीतिक नेताहरू, चर्चित व्यक्ति, अभियानकर्मी, अर्थशास्त्री र पत्रकारहरू भेला हुने गर्छन्। उनीहरू स्विट्जरल्यान्डस्थित स्की रिसोर्टहरूमा भेला भएर छलफल, खानपानसहितका रमाइला भेला र चिनापर्ची गर्ने कार्यक्रममा सहभागी हुन्छन्।
यद्यपि यस साताको लागि तय गरिएको उक्त बैठक यस वर्ष पनि ओमिक्रोन भेरियन्ट देखा परेसँगै लगातार दोस्रो वर्ष अनलाइनमार्फत् हुँदैछ। यस साताका छलफलमा महामारीपछिको सम्भावित भावी बाटो, खोप असमानता र ऊर्जा संक्रमणको विषय समेटिने जनाइएको छ।
अक्स्फाम जीबी (ग्रेट ब्रिटेन) का प्रमुख कार्यकारी धनञ्जयन श्रीस्कन्दराजाले अक्स्फामले आर्थिक, व्यावसायिक र राजनीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिको ध्यानाकृष्ट गर्न सकियोस् भनेर यो समयमा प्रतिवेदन सार्वजनिक गर्ने गरेको बताएका छन्।
'महामारीका बेला दिनदिनैजसो एउटा नयाँ अर्बपति थपिएका छन् जबकि विश्वको ९९ प्रतिशत जनसङ्ख्या लकडाउनका कारण सकसमा छ, अन्तर्राष्ट्रिय व्यापार कम भइरहेको छ, अन्तर्राष्ट्रिय पर्यटकहरू कम छन् र त्यसको परिणामस्वरूप थप १६ करोड मानिसहरू गरिबीतर्फ धकेलिएका छन्',उनले भने 'हाम्रो आर्थिक प्रणालीमा केही गहिरो समस्या छ।'
अक्स्फामले उद्धृत गरेको फोर्ब्सको तथ्यांकअनुसार विश्वका १० सर्वाधिक धनी व्यक्तिमा इलोन मस्क, जेफ बेजोस, बर्नाड आर्नोल्ट तथा परिवार, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जकरबर्ग, स्टीभ बाल्मर र वारन बफेट छन्। समग्रमा उनीहरूको सम्पत्ति ७०० अर्ब अमेरिकी डलरबाट १५ सय खर्ब डलर पुगेको छ। यद्यपि त्यसमा मस्कको सम्पत्ति १,००० प्रतिशतभन्दा धेरैले बढेको छ भने गेट्सको हकमा ३० प्रतिशतको मात्र वृद्धि छ।