काठमाडौं- नेपालमा हालसम्म १० लाख ५४ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार कुल ६० लाख ४३ हजार ७४४ जनाको परीक्षण गरिएकोमा १० लाख २३ हजार ३०७ जनामा कोरोना संक्रमण देखिएको हो।
यसमध्ये ५१ लाखको पीसीआर परीक्षण गरिएको थियो भने ९ लाखको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलका अनुसार कुल संक्रमितमध्ये ९ लाख ३३ हजार ४५१ जनाकाे पिसिआर प्रविधि र १ लाख २० हजार ६३७ जना एन्टिजेन प्रविधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएका हुन्।
नेपालमा पहिलोपटक २०७६ माघमा चीनबाट फर्किएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै फ्रान्सबाट कतार हुँदै काठमाडौँ फर्किएकी १९ वर्षीया युवतीमा दोस्रो कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको थियो। यस्तै हालसम्म ११ हजार ६७२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै संक्रमितमध्ये ८ लाख ३१ हजार ७१२ जना निको भएका छन्।
सक्रिय संक्रमितको संख्या ९० हजार बढी
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ। बुधबार थपिएका ८ हजार ४५४ सहित सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको जानकारी दिएका हुन्।
सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना घरमै (होम आइसोलेसन) मा स्वास्थ्यलाभ गरिरहेको र १ हजार ८१९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार २५१ जना सघन उपाचार कक्ष (आइसीयू) मा र ४८ जना भेन्टिलेटरमा उपचाररत छन्। संस्थागत क्वारेन्टाइनमा १ सय ७१ रहेका छन।
५०० बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १७
हाल १७ वटा जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन्। बुधबारसम्म झापा, मोरङ, सुनसरी , धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की र नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। हाल परीक्षणको आधारमा ४० प्रतिशतभन्दा बढी संक्रमित दर रहेको छ।हालसम्म कुल परीक्षणको हिसाबले सङ्क्रमण दर १८.१ प्रतिशत रहेको छ भने २४ घण्टाको परीक्षणको आधारमा संक्रमण दर दर हेर्ने हो भने ४१.१ प्रतिशत रहेको छ।
आईसीयू र भेन्टिलेटर चाहिएन
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक पौडेलले पहिलो र दोस्रो लहरको तुलनामा आईसीयू र भेन्टिलेटर कम प्रयोग गर्नु परे पनि संक्रमण दर बढी रहेको बताए। दोस्रो लहरको तुलनामा एसपटक आईसीयूमा र भेन्लिेटर प्रयोग गर्नुपर्ने बिरामी थोरै छन्। पहिलेको तुलनामा अहिले ४ गुणा आईसीयूमा र ५ गुणाभन्दा कमलाई भेन्टिलेटर आवश्यक परेको छ। हाल १ हजार ८१९ संस्थागतमा रहेका छन् भने त्यसमध्ये २५१ आईसीयू र भेन्टिलेटरमा ४८ जना रहेका छन्।