काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पहलमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ।
केन्द्रको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंगलबार उद्घाटन गरेका छन्। केन्द्रको उद्घाटन गर्दै थापाले आफ्नो मरेको सपना फेरि ब्युँताउन सकेको बताएका छन्।
आफू स्वास्थ्यमन्त्री रहँदा श्रीलंका गएको र त्यति बेला त्यहाँका स्वास्थ्यमन्त्रीले हेल्दी लाइफ क्लिनिक देखाएको थापाले बताए। श्रीलंकाले मानिसहरुको जीवनशैली स्वस्थकर बनाउने र प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिक सञ्चालन गरेको देखेपछि थापाले पनि नेपालमा सोही अनुसार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको योजना ल्याएका थिए।
थापाको योजना अनुसार शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनको निर्देशिका पनि बनाइएको थियो। थापा स्वास्थ्यमन्त्री रहँदा नै काठमाडौं महानगरपालिकासँग सम्झौता गरी काठमाडौंको १० स्थान र बुढानिलकण्ठमा केन्द्र स्थापनाका लागि सम्झौता पनि गरेका थिए। केन्द्र स्थापनाका काम सुरु गर्ने योजना चलिरहँदा सरकार परिवर्तन भयो।
थापाले स्वास्थ्यमन्त्रीको अन्तिम दिन समेत महानगरको वडा नम्बर ७ मा केन्द्रको स्थापना गरेका थिए।
थापाले केन्द्र सञ्चालनका लागि ५ करोड बजेट समेत छुट्याएका थिए। तर सरकार परिवर्तन भएपछि थापाको योजनामा पूर्णविराम नै लागेको थियो।
फेरि कांग्रेस सरकारमा आएसँगै थापाले केन्द्र सञ्चालनका लागि पहल सुरु गरेका हुन्। केन्द्र सञ्चालनका लागि स्थानीय तहका जनप्रतिनिधिलाई योजनाबारे बताउन आफू कयौं पटक स्थानीय तह तथा वडाहरुमा धाएको उनले सुनाए।
‘सरकार परिवर्तन भएपछि स्वास्थ्य मन्त्रालय, स्थानीय तह कसैले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको विषयमा चासो दिनुभएन, म कयौं पटक स्थानीय तहमा धाएँ, तर मेरो कुरा कसैले सुनिदिनु भएन,’ उनले भने, ‘काठमाडौं महानगर ३० का वडा अध्यक्ष र सदस्यहरु यो योजनामा पोजिटिभ भएपछि केन्द्र स्थापना गर्न सफल भइयो।’
थापाले केन्द्र सञ्चालन गर्नु अघि कोरोना महामारीको समयमा आइसोलेसन सेन्टर बनाएका थिए। आइसोलेसन सेन्टर बन्द गर्नुपर्ने भएपछि आइसोलेसन सेन्टरका स्वास्थ्य सामाग्री केन्द्रलाई दिइएको बताए। थापाले केन्द्रमा आर्थिक स्रोत जुटाउन आफ्नो एक वर्षको तलबसहित सासंद विकास कोषबाट थप एक वर्ष बराबरको रकम सहयोग गरेको बताए।
केन्द्र सञ्चालनका लागि चिकित्सक संघ लगायत विशेषज्ञ चिकित्सकहरुले पनि सहयोग गरेको उनको भनाइ छ।
केन्द्रले काठमाडौं महानगरको ३० नम्बर वडामा रहेका सबैलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने थापाको भनाई छ। यस्तै वडाबासीको स्वास्थ्यलाई ध्यानमा राख्दै सामुदायिक नर्सहरुलाई परिचालन गरी जनताको घरदैलोमा पुगेर उनीहरुको स्वास्थ्य अवस्थाबारे रिपोर्ट राख्ने पनि थापाको भनाइ छ।
उनले वडाबासीलाई स्वस्थ राख्न, रोग पहिचान गर्न तथा सामान्य रोगको पहिचानमा सहयोग गर्न उपचार तथा स्वास्थ्य परामर्श सेवा र दीर्घरोगका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने बताए।
‘आधारभूत स्वास्थ्य सेवा नागरिकको हक हो तर हक लिने ठाउँ कहाँ हो त, हकको कुरा संविधानमा मात्रै छ,’उनले भने, ‘सामान्य रगत परीक्षण गर्नुपर्दा पनि स्थानीय तहको भूमिका छैन, त्यही भूमिका निभाउने यो केन्द्र हो, यो महानगरको सर्भिस सेन्टर हो।’
काठमाडौं महानगरको ३० मा केन्द्र स्थापना भइसकेको भन्दै उनले अब हरेक पार्टी तथा नेताका एजेन्डा नै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना हुनुपर्ने पनि बताए।
केन्द्रको उद्घाटन कार्यक्रममा केन्द्रकी फिजिसियन डा आरती शाहले केन्द्रले वडाबासीलाई प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्न र घरदैलोमा सेवा पु¥याउने बताइन्। उनले केन्द्रमा हरेक उमेर समुहका बिरामीलाई सर्ने, नसर्ने, घाउचोट लागेका व्यक्ति, गर्भवती महिलाको परीक्षण, खोप कार्यक्रम तथा वडामा रहेका दीर्घरोगका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिइन्।
केन्द्रमा सरकारले निर्धारण गरेको निशुल्क औषधि पनि पाइने र केन्द्रको फार्मेसीमा अन्य फार्मेसीमा भन्दा सहुलियतमा औषधि पाइनेछ।
केन्द्रमा फिजिसियन चिकित्सकसँगै जनस्वास्थ्य तथा नर्सिङ कर्मचारी सहित ९ जना कार्यरत छन्। कार्यक्रममा काठमाडौं महानगर वडा नम्बर ३० का वडाअध्यक्ष दल बहादुर कार्कीले शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र स्थापना गर्ने ५ वर्षको प्रयत्न सफल भएको बताए।
वडाभित्र करिब ७० हजार जनसंख्या रहको भन्दै उनले वडाभित्रका निम्न र मध्यम आय भएकाहरुलाई केन्द्रले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।