सामान्य रुपमा अस्पताल भन्ने वितिकै चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुको उपस्थिति भयो भने अस्पतालको उपचारत्मक सेवा सहजै उपलव्ध हुन्छ भन्ने आम बुझाई छ। नेपालको सरकारी संयन्त्रको बुझाई पनि त्यही प्रकृतिको रहेको देखियो ।
अस्पतालको व्यवस्थित संचालन र गुणस्तरीय सेवा प्रवाहको लागी अस्पतालको भौतिक संरचना, सेवा प्रवाहका लागि आवश्यक उपकरणहरु र उक्त उपकरणहरु संचालन गर्ने दक्ष जनशक्ति चिकित्सक, नर्स, पारामेडिक्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुको साथमा अस्पताल व्यवस्थापनकोे महत्वपूर्ण भुमिका हुन्छ र व्यवस्थित अस्पताल संचालनमा यो सबै जनशक्तिको आवस्यकता छ भन्ने कुरा कसैले नकार्न सकिँदैन ।
संविधानले मौलिक हकका रुपमा व्यवस्था गरेको स्वास्थ्य जस्तो संवेदनशिल सेवा हाम्रो देशको परिप्रेक्ष्यमा हेर्दा आजपनि निजी क्षेत्रले धानिरहेको देखिन्छ। खासगरी स्वास्थ्य बीमा लागु भएपछी निजी स्वास्थ्य सेवामा निर्भर केही जनताहरु सरकारी अस्पतालहरुमा स्वास्थ्य सेवा लिन पुगिरहेको देखिन्छ तर निजी क्षेत्रमा रहेका अस्पतालहरु जति व्यवस्थित रुपमा संचालनमा रहेका छन्। त्यही अनुरुपमा हाम्रा सरकारी अस्पतालहरु संचालनमा आउन नसकेको तितो यथार्थ हामी माझ घाम जस्तै छर्लङ्ग छ। तथापि देशमा संघियता आएदेखि र कोरोना महामारी पश्चात सरकारी अस्पतालहरुले विगतका वर्षहरु भन्दा धेरै सुधार गरेको तथ्याकंले देखाउँछ ।
अस्पतालहरु वर्तमान अवस्थामा सेवा प्रवाह गर्नको लागी कुन अवस्थामा छन भनेर अस्पतालको सेवा प्रवाहको रेडिनेस मापन गर्नको लागि स्वास्थ्य मन्त्रालयले लागु गरेको न्युनतम सेवा मापदण्डको ग्राफ हेर्दा नेपालका सरकारी अस्पतालहरुले हिजो भन्दा सुधारको क्रममा रहेको देखिएता पनि अझै थुप्रै अस्पतालहरुले धैरै कुराहरुमा आमुल परीवर्तन गर्नुपर्ने देखिन्छ ।
नेपालमा २५ वर्षदेर्खि अध्यापन हुँदै आइरहेको स्वास्थ्य सेवा व्यवस्थापन (अस्पताल व्यवस्थापन) विषय अध्ययन गरेका विद्यार्थीहरुले नेपालका थुप्रै निजि अस्पतालहरु र विदेशमा रहेका अस्पतालहरुको कुशल व्यवस्थापकीय नेतृत्व गरी अस्पतालहरु संचालन गरीरहेको सन्दर्भमा नेपालमा पनि अस्पतालको नेतृत्व सम्हालिरहेका मेडिकल सुपरिटेन्डेन्टहरु प्राविधिक चिकित्सकहरु भएको कारणले उहाँहरुलाई व्यवस्थापकिय कार्यमा सहयोग गर्न र क्लिनिकल जनशक्ति तथा प्रशासनिक जनशक्तिको विचमा पुलको कार्य गर्न हाल नेपालका ४४ वटा प्रादेशिक अस्पतालहरुमा अस्पताल व्यवस्थापन अधिकृत (अस्पताल व्यवस्थापक)को रुपमा करार सेवामा रही कार्य गरीरहेका छन्।
जसको उपस्थितिले अस्पतालको सपोर्ट सर्भिस सेवा र व्यवस्थापकीय सुधारमा राम्रो संकेत देखिएको तथ्य न्युनतम सेवा मापदण्डको तथ्याकंबाट देखिन्छ । नेपालमा रहेको एक मात्र प्रहरी अस्पतालले ओएन्डएम सर्भे मार्फत अस्पताल व्यवस्थापन अधिकृत पदको दरबन्दफ स्वीकृत गरी लोक सेवा आयोगबाट स्थायी पदपुर्ति गरीसकेको छ भने कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा रहेका ५० शैया भन्दा माथिका अस्पतालहरुमा सो पदको दरबन्दी स्विकृत गरी कर्णाली प्रदेश लोकसेवा आयोगबाट पाठ्यक्रम तयार गरिसकेको छ। अन्तरर्राष्ट्रिय रुपमा प्रचलित र स्थापित भइसकेको छ। नेपालको हकमा न्युनतम सेवा मापदण्डमा आवश्यक देखाइएको छ ।
नेपालको स्वास्थ्य नीति र अस्पताल स्थापना, स्तरोन्नति तथा संचालन मापदण्डमा ५० शैया भन्दा माथिका अस्पतालहरुमा अनिवार्य गरिएको अस्पताल व्यवस्थापक र आज भन्दा ८ वर्ष पहीला यो विषयको आवश्यकतामहशुश गरी करार सेवामा राखिएका ४४ जना भन्दा बढी जनशक्तिहरु सरकारी अस्पतालमा कार्यरत छन्।
नेपालमा पोखरा विश्वविद्यालयबाट वर्षेनी ३०० भन्दा बढी यो सम्बन्धी जनशक्ति उत्पादन भइरहेको परिप्रेक्ष्यमा २० औं वर्षपछि नेपालका अस्पतालहरुको जनशिक्तको लागि ओएन्डएम सर्भे हुँदा उक्त पदको दरबन्दी स्वीकृत नहुनु सो विषय बढेका विद्यार्थीहरुलाई पुन: वैदेशिक यात्रामा धकेल्नु हो । नेपालका अस्पतालहरुको सेवालाई थप गुणस्तरीय बनाउन अस्पताल व्यवस्थापनको आवश्यकता र अपरिहार्यतालाई नबुझ्नु हो। तसर्थ यो विषय समयमै सच्याउन र सरकारी अस्पतालहरुलाई पनि निजी अस्पताल जस्तै सफा, सुन्दर र व्यवस्थित संचालन गर्नको लागि अस्पताल व्यवस्थापन अधिकृतको अपरिहार्यतालाई नकार्न सकिदैन। संघीय सरकारले यस विषयलाई गम्भीरताका साथ लिनुपर्छ।
(लेखक अधिकारी हाल भीम अस्पताल रुपन्देहीमा अस्पताल व्यवस्थापकको रुपमा कार्यरत छन्)