पोखरा - गण्डकी मेडिकल कलेज (जिएमसी) मा अब बिनाअपरेशन पित्त नलीको ढुंगा निकाल्ने आधुनिक ‘इआरसीपी’ (Endoscopic Retrograde Cholangiopancreatography) सेवा सुरु गरिएको छ। पेट तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बरालको नेतृत्वमा ग्यास्ट्रो विशेषज्ञ टोलीले उक्त सेवा सञ्चालनमा ल्याएको हो।
अस्पतालका अनुसार, इआरसीपी प्रविधिमार्फत पेट नचिरिकन मुखबाट ड्युडेनोस्कोपी प्रयोग गरी पित्त नली तथा प्यानक्रियाज नलीसँग सम्बन्धित समस्याको उपचार गर्न सकिनेछ। यसलाई पेट तथा पित्त नलीसम्बन्धी रोग उपचारको आधुनिक र प्रभावकारी प्रविधिका रूपमा लिइन्छ।
डा. बरालका अनुसार, यो सेवाबाट जन्डिस भएका बिरामी, पित्त नली तथा प्यानक्रियाज क्यान्सरका बिरामी, साथै पित्त नली साँघुरिएको समस्याबाट पीडित बिरामीले सहज उपचार पाउनेछन्। उनले पहिले जस्तो ठूलो शल्यक्रिया नगरी नै उपचार सम्भव हुने भएकाले बिरामीको जोखिम कम हुने र छिटो स्वास्थ्य लाभ मिल्ने बताए।
इआरसीपी सेवा सुरु भएसँगै जिएमसीको ग्यास्ट्रो विभागले थप अत्याधुनिक सेवा पनि सञ्चालनमा ल्याएको छ। विभागले अब एपिसी (APC), इसोफेजियल कार्सिनोमाका बिरामीका लागि मेटालिक स्टेन्टिङ, नली साँघुरिएको भाग खोल्ने बेलुन डाइलेटेसन तथा पेटमा खाना खुवाउने नली राख्ने ‘पेग ट्युब प्लेसमेन्ट’ सेवा उपलब्ध गराएको जनाएको छ।
यसका साथै पोलिपेक्टोमी तथा भेरिसेसका बिरामीका लागि ‘ग्लु इन्जेक्सन’ सेवा पनि सुरु गरिएको अस्पतालले जनाएको छ।
जिएमसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. रविन्द्र श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. टुमाया घलेले यी सेवाले गण्डकी प्रदेशका पेट, आन्द्रा, कलेजो तथा प्यानक्रियाजसम्बन्धी बिरामीलाई प्रदेशमै आधुनिक उपचार सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गरे।
उनीहरूले अब उपचारका लागि बिरामीलाई काठमाडौं वा बाहिरी शहर धाउनुपर्ने बाध्यता कम हुने र गण्डकी प्रदेशमै उच्चस्तरीय स्वास्थ्य सेवा पाउन सकिने बताए।
अस्पतालका अनुसार, इआरसीपीसहितका यी सेवाहरू सरकारको स्वास्थ्य बीमा कार्यक्रम तथा भारतीय पेन्सनरअन्तर्गत ईसीएचएस सेवामा समेत उपलब्ध छन्।