काठमाडौं - पछिल्लो समय खानपान र जीवनशैलीमा आएको परिवर्तनका कारण नसर्ने रोगहरुको जोखिम बढेकोप्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।
नसर्ने रोगहरुको रोकथाम तथा स्वस्थ्य जीवनशैलीमा जोड दिनका लागि भाष्कर तेजश्री स्मृति प्रतिष्ठान तथा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको सहकार्यमा आज आयोजित एक गोष्ठीमा बदलिंदो खानपान र आधुनिक जीवनशैलीका कारण नसर्ने रोगहरुको जोखिम बढ्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन्।
भाष्कर तेजश्री स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक प्राडा रिता थापाले सन् २०१७ मा नेपालमा ६६ प्रतिशत मृत्युको कारण नसर्ने रोग रहेकोमा २०२५ मा बढेर ७१ प्रतिशतमा पुग्नु चिन्ताजनक भएको बताइन् । उनले नसर्ने रोगले नेपालमा गरिबीको रेखामुनि रहेका जनताको संख्या अझै बढ्ने बताइन् । यद्यपि, नसर्ने रोगको रोकथाम बहुक्षेत्रिय एजेन्डा भएको उनको धारणा छ। ८० प्रतिशत नसर्ने रोगहरुलाई नियन्त्रण गर्न सकिने उनले जानकारी दिइन्।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा राधिका थपलियाले नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको बताइन्। नसर्ने रोग अन्तर्गत मुटु रोगका कारणमात्रै ३४ प्रतिशत मृत्यु हुने गरेको उनले जानकारी दिइन्।
नसर्ने रोगको मारमा गरिब तथा सीमान्तकृत समुदायका जनता धेरै पर्नु अझै दुखद भएको उनको तर्क छ। नसर्ने रोगको जोखिम बढ्दै जाँदा नागरिकले स्वास्थ्य उपचारका लागि गर्नुपर्ने खर्च पनि बढ्दै गएको उनले बताइन्।
यसले नागरिकको करिब ५५ प्रतिशत खर्च बढाएको उनले जानकारी दिइन्।
उपचारका कारण करिब १.७ प्रतिशत नागरिकहरु उपचारका कारण गरिबीका रेखामुनि धकेलिने गरेको तथ्यांक सार्वजनिक भएको छ। स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम, धुम्रपान तथा मद्यपान नियन्त्रण तथा नियमित स्वास्थ्य परीक्षण गराएर नसर्ने रोगको जोखिम कम गराउन सकिने उनको धारणा छ।
विद्यालय तहदेखी नै नसर्ने रोगहरुको न्यूनीकरणका लागि पाठ्यक्रम तयार गरेर भविष्यका पिँढीहरुलाई यसबारे जानकारी दिइनुपर्ने सांसद रन्जु दर्शनाले बताइन्। उनले आगामी बजेटबाट नै सरकारले नसर्ने रोगलाई प्राथमिकतामा राखी काम गर्नेपनि जानकारी दिइन्।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले नसर्ने रोगहरुको जोखिम बढ्दै गएकोले नसर्ने रोगको सचेतनालाई बुलन्द बनाउनुपर्ने बताए। नसर्ने रोगको जोखिम र यसको न्यूनीकरणका लागि बिद्यालयस्तरमा अभियान चलाउनुपर्ने उनको धारणा छ। पछिल्लो समय नसर्ने रोग आर्थिक तथा दिगो विकासका लागि चुनौतीका रुपमा देखा परेको उनको दाबी छ।