काठमाडौं– नेपाल औषधि उत्पादक संघले औषधि उत्पादन क्षेत्रसँग सम्बन्धित विविध आयाम समेटिएका ‘नेपाल फर्मा इनसाइट’ प्रकाशन सुरु गरेको छ ।
संघकी क्वालिटी कन्ट्रोल प्रमुख प्रशंसा श्रेष्ठका अनुसार देश–विदेशमा भइरहेका अनुसन्धान, अध्ययन तथा विभिन्न क्षेत्रका अनुभवहरू प्रायः साझा हुन नपाउने अवस्थालाई मध्यनजर गर्दै उक्त प्रकाशन सुरु गरिएको हो । उनले ‘नेपाल फर्मा इनसाइट’मार्फत यस्ता सामग्री समेटेर फर्मा क्षेत्रका सरोकारवालालाई नियमित रूपमा डिजिटल स्वरुपमा अपडेट गराउने उद्देश्य रहेको बताइन् ।
संघका अध्यक्ष विप्लव अधिकारीका अनुसार यो प्लेटफर्मलाई विस्तार गर्दै भविष्यमा नेपालकै औषधि क्षेत्रको महत्वपूर्ण जर्नलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । उनले यसलाई निरन्तर अपडेट र विस्तारित ज्ञानमूलक माध्यमका रूपमा अघि बढाइने बताए ।
‘नेपाल फर्मा इनसाइट’मा औषधि क्षेत्रका पछिल्ला विकासक्रम, अनुसन्धान, लेख तथा विशेषज्ञ विचार समावेश गरिने जनाइएको छ । यसमा उद्योग, अनुसन्धान, नियामक निकाय, शैक्षिक क्षेत्र तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच ज्ञान आदान–प्रदान हुने अपेक्षा गरिएको छ ।
प्रकाशन टोलीमा विभिन्न औषधि कम्पनीका प्रतिनिधिहरू संलग्न रहेका छन् । साथै, सम्पादकीय टिममा प्रशंसा श्रेष्ठ, निश्मा बज्राचार्य, सहज न्यौपाने, आशिष खड्का, कुसुम श्रेष्ठार ज्योत्सना पोखरेल रहेका छन् ।
संघले आगामी अंकका लागि लेख, केस स्टडी, विज्ञ धारणा तथा उद्योगसम्बन्धी अपडेटहरू पठाउनसमेत आह्वान गरेको छ ।