काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) को पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई 'अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल' घोषणा गरेको छ। यद्यपि, हालको प्रकोपले 'विश्वव्यापी महामारी' (प्यान्डेमिक) को मापदण्ड भने पूरा नगरेको डब्लुएचओले प्रष्ट पारेको छ।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले संक्रमितको वास्तविक संख्या र यसको भौगोलिक विस्तारबारे अझै पनि "ठूलो अनिश्चितता" कायमै रहेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएका छन्।
अहिले फैलिएको इबोलाको प्रजाति 'बुन्डिबुग्यो' भाइरसका कारण भएको स्वास्थ्य एजेन्सीले जनाएको छ। यो प्रजातिका लागि हालसम्म कुनै पनि प्रमाणित औषधि वा खोप उपलब्ध छैनन्। हालसम्म इतुरी प्रान्तको राजधानी बुनिया तथा सुन खानी रहेका दुई सहरहरू मोंगवालु र र्वाम्पारा सहित तीनवटा स्वास्थ्य क्षेत्रमा गरी आठ जनामा प्रयोगशाला परीक्षणबाट भाइरस पुष्टि भइसकेको छ। यसबाहेक अन्य २ सय ४६ सम्भावित संक्रमित फेला परेका छन् भने ८० जनाको मृत्यु भइसकेको रिपोर्ट छ।
यो घातक भाइरस कंगोको सीमा नाघेर छिमेकी देश युगान्डासमेत पुगिसकेको छ, जहाँ दुई जनामा संक्रमण पुष्टि भइसकेको छ। युगान्डाका अधिकारीहरूका अनुसार बिहीबार मृत्यु भएका एक ५९ वर्षीय पुरुषमा इबोला परीक्षण पोजेटिभ देखिएको थियो। अत्यधिक जनघनत्व, आवतजावत, व्यापार र यात्राका कारण कंगोसँग सीमा जोडिएका अन्य देशहरू पनि यो संक्रमणको उच्च जोखिममा रहेका छन्। जोखिम न्यूनीकरणका लागि डब्लुएचओले डिआर कंगो र युगान्डलाई तुरुन्तै आपत्कालीन सञ्चालन केन्द्रहरू स्थापना गरी निगरानी, कन्ट्याक्ट ट्रेसिङ र संक्रमण रोकथामका उपायहरू कडाइका साथ लागू गर्न सुझाव दिएको छ।
संक्रमणको विस्तार रोक्नका लागि पुष्टि भएका बिरामीहरूलाई तुरुन्तै आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने र कम्तीमा ४८ घण्टाको अन्तरालमा गरिएका दुईवटा 'बुन्डिबुग्यो भाइरस–विशिष्ट' परीक्षणहरू नेगेटिभ नआएसम्म आइसोलेसनमै राख्न स्वास्थ्य संगठनले निर्देश गरेको छ। संक्रमण पुष्टि भएका क्षेत्रसँग सीमा जोडिएका देशहरूलाई निगरानी र स्वास्थ्य रिपोर्टिङ प्रणाली सुदृढ गर्न भनिएको छ। यद्यपि, प्रभावित क्षेत्रभन्दा बाहिरका मुलुकहरूले आफ्नो सीमा बन्द गर्ने वा व्यापार र यात्रामा प्रतिबन्ध लगाउन नहुने डब्लुएचओको भनाइ छ। यस्ता प्रतिबन्धहरू प्रायः त्रासका कारण लगाइने र यसको पछाडि कुनै वैज्ञानिक आधार नहुने डब्लुएचओले प्रष्ट पारेको छ।
इबोला भाइरस पहिलो पटक सन् १९७६ मा हालको डिआर कंगोमा फेला परेको थियो, जुन चमेरोबाट सरेको विश्वास गरिन्छ। कंगोमा यो घातक भाइरल रोगको १७ औं लहर हो। यो भाइरस संक्रमितको शारीरिक तरल पदार्थ र्याल, रगत, पसिना आदि र काटिएको वा फुटेको छालाको प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्दछ, जसले गर्दा शरीरभित्र गम्भीर रक्तस्राव र अंगहरूले काम गर्न छोड्ने (अर्गान फेलियर) अवस्था सिर्जना हुन्छ।
सुरुवाती चरणमा ज्वरो आउने, मांसपेशी दुख्ने, थकान महसुस हुने, टाउको दुख्ने र घाँटी दुख्ने जस्ता लक्षणहरू देखिन्छन् भने पछि बान्ता हुने, पखाला लाग्ने, शरीरमा डाबर आउने र आन्तरिक तथा बाह्य रक्तस्राव हुने गर्दछ। इबोलाको कुनै निश्चित उपचार नभएकाले यसको औसत मृत्युदर झण्डै ५० प्रतिशत रहेको डब्लुएचओको तथ्यांक छ।
यसैबीच, अफ्रिका सीडीसीले र्वाम्पारा र बुनिया जस्ता सहरी क्षेत्र र मोंगवालुको खानी क्षेत्रमा संक्रमण फैलिएकाले यसको थप विस्तार हुने उच्च जोखिमप्रति चिन्ता व्यक्त गरेको छ। अफ्रिका सीडीसीका कार्यकारी निर्देशक डा. जीन कासेयाले प्रभावित क्षेत्र र छिमेकी देशहरूबीच "ठूलो संख्यामा मानिसहरूको आवतजावत" हुने भएकाले यसको नियन्त्रणका लागि क्षेत्रीय समन्वय अपरिहार्य रहेको बताए।
विगत ५० वर्षमा अफ्रिकी देशहरूमा इबोला भाइरसका कारण करिब १५ हजार मानिसले ज्यान गुमाइसकेका छन्। कंगोमा सन् २०१८ देखि २०२० को बीचमा अहिलेसम्मकै सबैभन्दा भयानक प्रकोप फैलिएको थियो, जसमा झण्डै २ हजार ३ सय मानिसको मृत्यु भएको थियो। त्यस्तै, गत वर्ष पनि देशको एक दुर्गम क्षेत्रमा फैलिएको प्रकोपका कारण ४५ जनाको ज्यान गएको थियो।