क्यानडा- क्यानडाका एक नागरिकमा ‘हान्टा भाइरस’ संक्रमण पुष्टि भएको छ। यो संक्रमण अर्जेन्टिनाबाट यात्रामा निस्किएको डच लक्जरी क्रुज जहाज एमभी होन्डियसमा देखिएको ‘एन्डिज स्ट्रेन’ सँग सम्बन्धित रहेको बताइएको छ।
ब्रिटिस कोलम्बिया स्वास्थ्य अधिकारीका अनुसार संक्रमित व्यक्ति युकोनका हुन्। उनीसहित चार जना क्यानडाली हाल भ्यानकुभर आइल्याण्डमा आइसोलेसनमा रहेका छन्। तीमध्ये एक जनामा हल्का लक्षण देखिएपछि भिक्टोरियास्थित अस्पतालमा परीक्षण गरिएको थियो, जहाँ संक्रमण पुष्टि भएको हो। युकोन क्षेत्रमा यस्तो भाइरस परीक्षण गर्ने सुविधा उपलब्ध नभएकाले नमुना परीक्षण ब्रिटिस कोलम्बियामा गरिएको हो।
स्वास्थ्य अधिकारी बोनी हेन्रीले ती चारै जनालाई सार्वजनिक सम्पर्कमा नआउने गरी विमानस्थलबाट सिधै आइसोलेसनमा लागिएको बताएकी छन्। संक्रमित व्यक्तिको अवस्था अहिले स्थिर रहेको जनाइएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार ‘एन्डिज स्ट्रेन’ को हान्टा भाइरसले गम्भीर फोक्सोसम्बन्धी समस्या निम्त्याउन सक्छ र केही अवस्थामा ५० प्रतिशतसम्म मृत्यु दर हुन सक्ने बताइएको छ।