एजेन्सी- विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिरहेको बताएका छन्। उनका अनुसार हालसम्म ९०० भन्दा बढी शंकास्पद इबोला संक्रमित फेला परिसकेका छन् भने १०१ जनामा संक्रमण पुष्टि भएको छ।
इबोला प्रकोप विशेषगरी पूर्वी कंगोको इतुरी क्षेत्रमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले यसलाई राष्ट्रिय स्तरमा ‘अत्यन्त उच्च जोखिम’ को रूपमा वर्गीकृत गरेको छ। यद्यपि हाल विश्वव्यापी फैलावटको जोखिम भने कम रहेको जनाइएको छ।
स्वास्थ्यकर्मीहरूमाथि आक्रमण, कमजोर स्वास्थ्य पूर्वाधार, सशस्त्र द्वन्द्व तथा जनस्तरमा देखिएको अविश्वासका कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको पनि देखिएको छ। आक्रमणकारीहरूले इबोलाबाट मृत्यु भएका आफ्ना दुई आफन्तको शव उनीहरुलाई नै जिम्मा लगाउन माग गरेका थिए।
विश्व स्वास्थ्य संगठनले निगरानी, परीक्षण, सम्पर्कमा आएका व्यक्तिको खोजी तथा आपतकालीन स्वास्थ्य सहायता तीव्र बनाएको जनाएको छ। हाल फैलिएको इबोला भाइरसको ‘बुन्डिबुग्यो’ प्रजातिका लागि स्वीकृत खोप वा निश्चित उपचार उपलब्ध नभएकाले स्वास्थ्यकर्मीहरु थप चिन्तित बनेका छन्।