फाइल तस्बिर
काठमाडौं – सरकारले बालबालिकाको पोषणको स्तर अध्ययन गर्न पहिलो पटक ‘राष्ट्रिय पोषण लेखाजोखा’ अभियान सञ्चालनमा ल्याएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाले देशभरका ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाको पोषण स्तर मापन गर्नका लागि यस अभियान वैशाख १५ बाट सञ्चालनमा ल्याएको हो। उक्त अभियानको प्रारम्भिक तथ्याङ्कले नेपालमा कुपोषित बालबालिकाको सङ्ख्या बढेको देखाएको परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले स्वास्थ्यखबरलाई बताए।
‘५५ प्रतिशत बालबालिकाको पोषणको स्तर मापनमा कडा शीघ्र कुपोषण ५ प्रतिशत बालबालिकामा देखिएको छ,’ थापाले भने ‘यो सङ्ख्या विगतमा १ प्रतिशत थियो।’ कडा शीघ्र कुपोषण भएका बालबालिकामा ख्याउटे र करङ देखिने समस्या रहेको पाइएको छ।
मध्यम कुपोषण १२ प्रतिशत बालबालिकामा देखिएको र उनीहरूमा दुब्लाउने तथा उमेर अनुसार तौल नहुने समस्या देखिएको छ।
करिब १५ प्रतिशत बालबालिकामा मध्यम शीघ्र कुपोषण देखिएको उनले जानकारी दिए। यसअघि कुपोषणको तथ्याङ्क प्रदेशगत रूपमा मात्रै सङ्कलन गर्ने परिपाटी भएकोमा स्थानीय तहकै नेतृत्वमा सङ्कलन गरिएकोले पनि सङ्ख्या बढेको हुन सक्ने थापा बताउँछन्।
कुपोषण कुन तहको हो भन्ने थाहा पाउनका लागि उचाइ, तौल तथा पाखुराको नाप लिएर यकिन गरिने थापाले बताए। यसले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार बालबालिकामा मध्यम वा कडा कुन स्तरको कुपोषणको अवस्था हो भन्ने पहिचान गराउन सक्छ। कुपोषण मापनका लागि स्थानीय तहले आफैँ स्वास्थ्यकर्मी परिचालन गरेको थापा बताउँछन्। सङ्घ सरकारले आवश्यकता अनुसार परामर्श तथा तालिम दिइरहेको छ।
आर्थिक अवस्था राम्रो भएका परिवारका बालबालिकामा पनि खानेकुरा सन्तुलित रूपमा मिलाएर नखुवाउँदा कुपोषित हुन पुगेको थापा बताउँछन्। ग्रामीण भेग तथा दुरदराजमा भने खानेकुराको अभावका कारणले कुपोषित भएको थापाको भनाइ छ। यस अभियानबाट सबै स्थानीय तहको तथ्याङ्क आउने र नीति निर्माणमा सहयोग पुग्ने थापा बताउँछन्। आगामी वर्षदेखि नियमित रूपमा यो कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ। यसले अभिभावकलाई बालबालिकाको पोषणको अवस्था तथा खानेकुराको बारेमा सिकाउन सजिलो हुने उनको दाबी छ।
सबैभन्दा बढी कर्णाली र मधेश प्रदेशमा अभियानले हालसम्म कर्णाली प्रदेश र मधेशमा कुपोषित बालबालिकाको सङ्ख्या अन्य प्रदेशमा भन्दा धेरै देखाएको छ।
जेठ महिनाभर अभियान सञ्चालन गरिने जेठ महिनाभर कुपोषित बालबालिका पहिचानको अभियान सञ्चालनमा रहने थापा बताउँछन्। बालबालिकाको कुपोषणको अवस्था थाहा पाउनका लागि नजिकैको स्वास्थ्य संस्थामा बालबालिकालाई लैजान थापाको अनुरोध समेत छ। बालबालिकाको उचाइ र तौल लिने उपकरण अभावका कारण अभियानका लागि लामो समय लागेको उनले जानकारी दिए।
कुपोषण शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरूको कमी वा असन्तुलनको अवस्था हो। स्वास्थ्य अवस्था र सूचकहरूका आधारमा कुपोषणलाई मुख्यतया न्यून पोषण, सूक्ष्म पोषक तत्वको कमी र अधिक पोषण गरी तीन भागमा वर्गीकरण गरिएको छ:
कुपोषणको विस्तृत वर्गीकरण निम्नअनुसार छ:
न्यून पोषण शरीरलाई चाहिने क्यालोरी वा पौष्टिक तत्वको मात्रा अपुग हुँदा यो अवस्था देखा पर्दछ।
यसलाई निम्न भागमा विभाजन गर्न सकिन्छ:
पुड्कोपन: उमेर अनुसार उचाइ कम हुनु। यो लामो समयसम्म पोषणको कमी हुँदा देखिने दीर्घकालीन कुपोषण हो।
ख्याउटेपन: उचाइको अनुपातमा तौल अत्यन्त कम हुनु। छोटो समयमै पोषण तत्वको अभाव हुँदा यस्तो हुनु।
यसलाई पनि दुई भागमा बाँडिन्छ:
मध्यम शीघ्र कुपोषण: उचाइ अनुसार तौल कम भएको अवस्था।
कडा शीघ्र कुपोषण: उचाइ अनुसार तौल गम्भीर रूपमा कम भएको र तत्काल उपचार गर्नुपर्ने अवस्था।
कम तौल: उमेर अनुसार तौल कम हुनु।
सूक्ष्म पोषक तत्वको कमी शरीरलाई थोरै मात्रामा चाहिने तर अति आवश्यक भिटामिन तथा खनिज तत्वहरूको कमी हुनु हो (जस्तै: भिटामिन ‘ए’, आइरन, आयोडिन आदि)। यसले रक्तअल्पता (एनिमिया), रतन्धो र शारीरिक/मानसिक विकासमा बाधा पुर्याउँछ।
अधिक पोषण शरीरलाई आवश्यक पर्नेभन्दा बढी क्यालोरी वा चिल्लो पदार्थ जम्मा हुँदा यो अवस्था उत्पन्न हुन्छ।
अति तौल: उचाइको अनुपातमा सामान्यभन्दा बढी तौल हुनु।
मोटोपना: शरीरमा बोसोको मात्रा अत्यधिक बढेर स्वास्थ्यमा जोखिम उत्पन्न हुने अवस्था।