काठमाडौं- नेपाल चिकित्सक संघ ले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत चिकित्सकमाथि गरिएको निलम्बनप्रति गम्भीर आपत्ति जनाएको छ। संघले ७२ घण्टाभित्र निलम्बन फिर्ता नगरिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ।
संघद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार, मिति २०८३ जेठ ४ गते एक बिरामीको सिजेरियन सेक्सन तथा पाठेघरको शल्यक्रियापछि बिरामी आईसीयूमा उपचाररत रहेको घटनासँग सम्बन्धित विषयमा प्रतिष्ठानमा कार्यरत चिकित्सक डा. धिरेन्द्र कुमार साह र डा. श्रेयालक्ष्मी साहलाई निलम्बन गरिएको थियो। साथै अस्पताल प्रमुख डा. जामुन प्रसाद सिंहलाई समेत निलम्बनका लागि मन्त्रालय तथा सम्बन्धित निकायमा सिफारिस गरिएको उल्लेख गरिएको छ।
संघले बिरामीको अवस्था तथा उपचार प्रक्रियाबारे वास्तविक तथ्य पत्ता नलगाई र नेपाल मेडिकल काउन्सिल को अनुसन्धानबिनै गरिएको निर्णय प्रचलित कानूनविपरीत भएको ठहर गरेको छ।
विज्ञप्तिमा मधेश प्रदेशका सरकारी अस्पतालहरूमा छात्रवृत्ति करारअन्तर्गत कार्यरत चिकित्सकहरूले समयमै तलब–भत्ता नपाइरहेको समस्या कायम रहेको उल्लेख गर्दै सत्यतथ्य नै नबुझी चिकित्सकमाथि कारबाही गर्नु अन्यायपूर्ण भएको जनाइएको छ। यस्तो घटनाले स्वास्थ्य सेवा प्रवाहमा समेत गम्भीर असर पर्ने संघको भनाइ छ।
नेपाल चिकित्सक संघले सम्बन्धित निकायसँग निलम्बन तत्काल फिर्ता लिन माग गर्दै मधेश प्रदेशमा कार्यरत चिकित्सकहरूले उठाएका मागप्रति ऐक्यबद्धता जनाएको छ। महासचिव डा. सन्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ७२ घण्टाभित्र निर्णय सच्याइएन भने आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिइएको छ।
