काठमाडौं- अब नेपाल मेडिकल काउन्सिल र सम्बन्धित परिषद्मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डाक्टर’ (Dr.) वा ‘चिकित्सक’ लेख्ने व्यक्तिलाई कडा कारबाही गरिने भएको छ। नेपाल मेडिकल काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर अवैध रूपमा ‘Dr.’ उपाधि प्रयोग गर्नेहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने जनाएको हो।
काउन्सिलले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अनुसार आधुनिक चिकित्सा प्रणाली अन्तर्गत बिरामी जाँच्न, परामर्श दिन तथा एलोप्याथिक औषधि सिफारिस गर्न काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्रै अधिकार रहेको स्पष्ट पारेको छ।
सूचनाअनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक तथा सम्बन्धित परिषद् ऐनद्वारा ‘चिकित्सक’ उपाधि प्राप्त गरेका बाहेक अन्य कुनै स्वास्थ्यकर्मी वा व्यक्तिले नामको अगाडि ‘Dr.’ प्रयोग गरेको पाइएमा १५ दिनभित्र उक्त उपाधि हटाउनुपर्नेछ। काउन्सिलले साइनबोर्ड, प्रेस्क्रिप्सन प्याड, भिजिटिङ कार्ड तथा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सम्पूर्ण सामाजिक सञ्जालबाट समेत ‘Dr.’ हटाउन निर्देशन दिएको छ।
काउन्सिलले विदेशी वा स्वदेशी विश्वविद्यालयको प्रमाणपत्रमा ‘Doctor’ लेखिएको भरमा नेपालमा स्वतन्त्र रूपमा चिकित्सकीय अभ्यास गर्न नपाइने पनि स्पष्ट गरेको छ। नेपालमा आधुनिक चिकित्सा अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलमा दर्ता अनिवार्य हुने उल्लेख गरिएको छ।
सूचनामा भनिएको छ, १५ दिनको समयसीमा सकिएलगत्तै काउन्सिलको विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट निगरानी गर्नेछ। अवैध रूपमा ‘Dr.’ उपाधि प्रयोग गरेको वा सो उपाधिको आडमा बिरामी जाँच्ने तथा औषधि सिफारिस गरेको पाइएमा नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २६ र २७ अनुसार मुद्दा चलाइनेछ।
ऐनअनुसार दोषी ठहरिएमा तीन वर्षसम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने काउन्सिलले जनाएको छ।
काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेद्वारा जारी सूचनामा जनस्वास्थ्य र बिरामीको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषयमा भ्रम सिर्जना गर्ने कार्य सह्य नहुने उल्लेख गरिएको छ।

