फाइल तस्बिर
काठमाडौं- सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठुलो परिमाणमा औषधि र स्वास्थ्य सामग्रीको म्याद नाघेर राज्यलाई करोडौँको क्षति पुगेको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा ९ करोड ७ लाख १७ हजार रुपैयाँ मूल्य बराबरको औषधिजन्य मालसामान र कीट म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेका हुन्।
स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही देखिएको छ। प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभागमा मात्रै विगतमा खरिद गरिएका २८ प्रकारका ४ करोड ७२ लाख २० हजार रुपैयाँका औषधिहरूको म्याद सकिएको छ। त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा ४७ लाख ७० हजार र वीर अस्पतालमा ६०१ प्रकारका १ करोड ४३ लाख ७५ हजार रुपैयाँका औषधि प्रयोग गर्न नमिल्ने भएका छन्।
सम्झौताअनुसार म्याद समाप्त भएका वा बिक्री नभएका औषधिहरू आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्ने भए पनि त्यसो नगरिँदा राज्यको ठुलो लगानी खेर गएको हो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि म्याद सकिएका सामग्रीको थुप्रो लागेको महालेखाले जनाएको छ।
यस्तो छ महालेखाको प्रतिवेदनमा रहेको विवरण
औषधीको म्याद - स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेको औषधीको म्याद समाप्त भएमा, टुटेफुटेमा वा बिक्री नगरी अधिक मौज्दात रहेमा सम्झौताको सर्तअनुसार उक्त औषधी आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्नुपर्दछ । स्वास्थ्य सेवा विभागमा गत विगतमा खरिद गरिएको २८ प्रकारका रु. ४ करोड ७२ लाख २० हजार, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको ६ प्रकारका रु. ४७ लाख ७० हजार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा ६०१ प्रकारका रु. १ करोड ४३ लाख ७५ हजार, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रु. १ करोड १९ लाख १६ हजार तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको रु. १ करोड २३ लाख ५६ हजारसमेत रु. ९ करोड ७ लाख १७ हजार मूल्यका औषधीजन्य मालसामान तथा कीट को म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्था रहेको छ ।