सुर्खेत- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन भएको छ। स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला भवन र अक्सिजन प्लान्टको उद्घाटन गरेका छन्। कार्यक्रममा उनले देशका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राम्रो काम गरेको बताए।
राज्यले जुम्लामा स्थापना गरेको प्रतिष्ठानलाई थप सहयोग गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री केसीले कर्णालीले सक्षम डाक्टर उत्पादन गरेर देशलाई दिने विश्वास व्यक्त गरे। 'दुर्गममा देखिएको स्वास्थ्य समस्यालाई प्रतिष्ठानले हल गर्न सक्ने क्षमता राख्नुपर्ने काम कर्णाली प्रतिष्ठानको काँधमा आएको छ। अनि मात्रै प्रतिष्ठान स्थापना भएको औचित्य साबित हुन्छ', राज्यमन्त्री केसीले भने।
जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतले कर्णालीको विकासका लागि राज्यको अझै नजर नगएको बताउँदै सबै राजनीतिक दलको सहयोग, समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको स्पष्ट पारे। उनले प्रतिष्ठानको बहुवर्षीय शैक्षिक भवन निर्माणका लागि सरकारको सहयोग आवश्यक रहेको बताए।
स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले प्रतिष्ठानको कार्यबाट आफू सन्तुष्ट भएको बताए। अक्सिजन प्लान्टबाट एक दिनमा एक सय ६० वटा सिलिन्डर भरिने भएको छ। हाल दिनमा ३०-४० वटा सिलिन्डर भर्ने गरिएको प्रतिष्ठानका उपकुपति डाक्टर मङ्गल रावलले जानकारी दिए।