नेपाल चिकित्सक संघ देशभरका सम्पूर्ण चिकित्सकहरुको व्यावसायिक गैरनाफामूलक सामाजिक संस्थाको रुपमा २००७ साल फागुन २० गते स्थापना भएको थियो। यस संघको स्थापनाकालदेखि नै नेपाली जनतालाई गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा नेपाल सरकारको स्वास्थ्य नीति अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग निरन्तर सहकार्य गर्दैै आइरहेको छ। नेपाल चिकित्सक संघले सन् १९६३ देखि प्रकाशन गर्दै आइरहेको जर्नल अफ नेपाल मेडिकल एसोसिएसनको प्रकाशन शुरुवात भएको सेप्टेम्बर महिनालाई प्रत्येक बर्ष वार्षिक क्यालेण्डर इभेन्टको रुपमा मनाउने निर्णय बमोजिम गतवर्ष पहिलो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनको आयोजना गरिएको थियो।
गतवर्षको स्वास्थ्य शिखर सम्मेलनमा उठान भएका महत्वपूर्ण विषयवस्तुहरुको उपलब्धी, नीतिगत तहमा सम्बोधन गर्नु पर्ने बिषयवस्तु तथा राज्यको तर्फबाट अवलम्बन गर्नु पर्ने विशेष रणनीतिहरु तयार गरी हामीले नेपाल सरकारलाई सुम्पिएका थियौं। गत बर्ष उजागर गरिएका महत्वपूर्ण विषयवस्तुहरुको फलोअपका साथै यस वर्ष ‘महामारीपछिको उपलब्धी, चुनौती र अवसर’ नामक सन्देश सहित दोस्रो एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन २०२२ को आयोजना गरिएको हो।
नेपाल चिकित्सक संघले आयोजना गर्ने राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन केबल शैक्षिक गतिविधिमा मात्र केन्द्रीत नभई समग्र नेपालको स्वास्थ्य प्रणालीलाई विश्वसामू प्रतिस्पर्धात्मक रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा ठोस रणनीतिमूलक कार्ययोजना तर्जुमा गर्न सहजीकरण होस् भनेर आयोजना गरिएको हो। वौद्धिक र सरोकारवाला विज्ञहरुको समुपस्थितिमा प्रमाणको आधारमा, व्यावहारिक र अनुभवलाई समेत समावेश गरी गरिने नीतिगत छलफल, परामर्श र मन्थनलाई स्वाट विश्लेषण गर्दै नेपाल सरकारलाई विशेष नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुर्याउनु हो।
नेपालको स्वास्थ्य प्रणाली र उपलब्ध स्वास्थ्य सेवालाई दुर दराजमा कसरी पुर्याउन सकिन्छ? स्वास्थ्य सेवा ज्यादै संवेदनशिल क्षेत्रको रुपमा रहेको सबैमा विदितै छ तर यस सेवालाई ग्रामिण तहसम्म कसरी पुर्याउने, चिकित्सा शिक्षामा सर्व साधारण नागरिकहरुको पहुँचलाई कसरी सुनिश्चित गर्ने भन्ने सम्बन्धमा व्यापक छलफल, परामर्श र बौद्धिक मन्थनबाट निकालिएको निचोडलाई राज्यको थिंक ट्यांकको रुपमा विकास गर्न खोजिएको छ। त्यसैका लागि नेपाल चिकित्सक संघले प्रत्येक बर्ष फरक ढंगबाट यस्ता प्रकारका राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनको आयोजना गर्ने जमर्को गरेको व्यहोरा यहाँहरुलाई अवगत गराउँदछु।
यो सम्मेलन स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको मात्र होइन, यसमा विभिन्न विधाका आदरणीय व्यक्तित्वहरु जसले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई विभिन्न तहबाट अतुलनिय योगदान पुर्याउँदै आउनु भएको छ। चाहे त्यो पर्यटन, आर्थिक, सामाजिक, प्रशासनिक वा स्थानीय तहमा रही सर्व साधारण नागरिकहरुको स्वास्थ्यप्रति प्रत्यक्षदर्शी भएर नेपालको स्वास्थ्य सेवालाई सबल र सक्षम बनाउनका लागि अनेकौं योजनाहरु कोर्ने जमर्को गर्नु भएको छ। त्यस्ता मुर्धन्य व्यक्तित्वहरुको संलग्नतालाई उच्च प्राथमिकतामा राख्दै हामीले उहाँहरुको वास्तविक अनुभव, ज्ञान र दक्षतालाई सम्बोधन गर्ने गरी यो सम्मेलनको आयोजना गरेका छौं।
विभिन्न तह र तप्काबाट खोज तथा अनुसन्धानमूलक गतिविधिहरु गर्दै नेपालको स्वास्थ्य प्रणालीलाई परिवर्तन गराउनु पर्दछ भन्ने अठोटका साथ ठूलो योगदान पुर्याउनु भएका बौद्धिक व्यक्तित्वहरुको अनुभव, ज्ञान र दक्षतालाई पूर्ण रुपमा सदुपयोग गर्न सके हामीले परिवर्तन गर्न चाहेको स्वास्थ्य सेवालाई उचित न्याय गर्ने नै छ भन्ने मैले विश्वास लिएको छु।
कोभिड–१९ को महामारीका सम्बन्धमा नेपालको स्वास्थ्य सेवा प्रणाली अन्तर्गत रही गरिएको उपलब्धीहरु, भोगिएका चुनौतीहरु र देखा परेका कमी कमजोरीलाई राम्रोसँग केलाएर अब भावी दिनमा नेपालले यस्ता प्रकारका प्राकृतिक विपत्तिहरुको सामना कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा गहन मन्थन गर्नु जरुरी थियो। स्वदेशमै उपलब्ध स्वास्थ्य सेवालाई अधिकतम सदुपयोगगर्ने वातावरणका लागि हाम्रा चुनौतीहरु के रहेछन्? आपतकालिन समयमा हामीसँग भएका स्रोत र साधनहरुको व्यापक सदुपयोग गर्न सक्यौं की सकेनौं? हाम्रो स्वास्थ्य क्षेत्रको जनशक्तिको अधिकतम प्रयोग गर्न हामी चुक्यौं या सदुपयोग गरेर यस्ता चुनौतीहरुलाई समाना गर्न सक्यौं। यस्ता गम्भीर र अत्यन्तै महत्वपूर्ण सवालहरुको कुनै न कुनै ठाउँबाट सम्बोधन हुनु जरुरी छ। त्यसैका लागि हामीले अन्य सम्मेलनहरु भन्दा फरक ढंगबाट सम्मेलनको आयोजना गरी रणनीतिक र व्यावहारिक योजना बनाउन सकिन्छ की भनेर नयाँ प्रयत्न गतवर्ष देखि गर्दै आएका छौं।
हामीसँग भएको बौद्धिक जनशक्तिलाई स्वदेशमै परिचालन गर्नका लागि हामीले के गर्नु पर्ला ? ती जनशक्तिहरुको इच्छा, आकाक्षा वा बाध्यतालाई नेपाल सरकारले नै सम्बोधन गरिदिनु पर्दछ म पनि भन्छु। तर, नेपाल सरकार मात्र समाधानको बाटो हो त? नेपाल सरकारले हामीलाई कसरी सम्बोधन गर्ने भनी सोध्यो भने हाम्रो तार्किक जवाफ के हुने ? त्यसका लागि प्रमाणमा आधारित, व्यावहारिक रुपमा सुहाउँदिलो र कार्यान्वयन गर्न सक्ने खालको योजना र रणनीतिहरु समावेश गर्न सकेको अवस्थामा वास्तविक सम्बोधन हुन्छ भन्ने मलाई लाग्दछ। त्यसैले केबल नारा मात्र होइन, माग मात्र होइन, ती नारा र मागहरुको सम्बोधन गर्नका लागि उपाय समेत सुझाउनु पर्दछ। ती उपायहरु कहाँबाट निकाल्ने त भन्दा यस्ता प्रकारका व्यावहारिक र महत्वपूर्ण सम्मेलनको आयोजना गरी व्यापक मन्थन, बौद्धिक छलफल र परामर्शबाट निष्कने निचोडले यसको समाधान गर्न सक्दछ भन्ने विश्वासका साथ हामी अगाडि बढ्ने प्रयत्न गरिरहका छौं।
सम्मेलनको वैज्ञानिक समितिले तयार गरेको बिषयवस्तुहरु अत्यन्तै समसामयिक र नेपालको विद्यमान परिस्थितिसँग सुहाउँदिलो रहेका छन्। यस्ता महत्वपूर्ण बिषयवस्तुमाथी गरिने छलफल, परामर्श र मन्थनले भावी दिनमा राज्यको तर्फबाट निर्वाह गर्नु पर्ने रणनीतिक योजना र नीतिलाई मार्ग निर्देश गर्न सहजीकरणको भूमिका खेल्ने मैले अपेक्षा गरेको छु।
उल्लेखित विषयवस्तुहरु माथि आयोजक समितिले गर्ने विस्तृत छलफल, परामर्श र वैज्ञानिक आधारमा तयार गरिने नीतिगत सुझाव सल्लाह विगतका बर्षमा जस्तै नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रलाय लगायतका सरोकारवाला निकायमा प्रेषण गरिने छ।
-(नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीलेसंघको दोस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनमा व्यक्त गरेको धारणा)