जति सत्यता र यथार्थ आफ्नै कथामा हुन्छ त्यो अरुको कथामा हुदैन। अस्ति असोज ५ गते मात्रै सुत्केरी श्रीमतीलाई माइती र छोरीलाई मामाघर पठाएपछि नियमित अफिसको कामसँगै फुर्सदिलो समयमा आफ्नै ताजा अनुभव सेयर गर्दैछु। के सच्चिकै गर्भवती र सुत्केरी स्याहारमा श्रीमानले भूमिका निभाउँदैनन् वा निभाएको देखिदैन? कि उनीहरुलाई त्यो मौका दिइँदैन?
जब उनको प्रिग्नेन्सी टेस्ट पोजेटिभ आयो तब मलाई मेरो जिम्मेवारी बढेको अनुभव सोहि दिनबाट हुनथाल्यो। र यो हुनु स्वभाविक पनि थियो। घरपरिवारमा यो कुरा सुनायौँ र त्यसपछिको दिनहरुका लागि सबैजना सबै तरिकाले तयार भयौँ। सबै ठुला अस्पतालमा राम्रो सेवा हुन्छ र सबै साना अस्पतालमा केही सेवा हुँदैन भन्ने कुरामा मलाई विश्वास लाग्दैन। घर नजिकैको शिशुवा अस्पताल (पोखरा) मा उनको स्वास्थ्य परीक्षण गर्ने हामीले निर्णय लियाैँ। जब दिन-महिना बित्त्दै जान थाले उनको नियमित स्वास्थ्य जाँच गर्न लिएर जानुपर्ने समयमा किन किन म आफैं जानुपर्छ भन्ने लाग्थ्यो र नेपाल सरकारको नियमानुसार नियमित रुपमा गर्भवती जाँच गर्न हामी स्वास्थ्य संस्था गयौँ पनि। उनको हरेक पटकको स्वास्थ्य जाँचको बेला म उनीसँगै उपस्थित थिए र त्यो बेला न मलाई कुनै लाज लाग्यो न कुनै अप्ठ्यारो लाग्यो। केही जाँचको बेला आफूलाई सोध्न र जान्न मन लागेका कुरा म चिकित्सक तथा नर्सिङ स्टाफलाई सोध्ने गर्थें। पहिलो गर्भवती जाँचको बेला नर्सिङ स्टाफसँगको कुराकानीमा उहाँले भनेको अझै सम्झन्छु 'सबै श्रीमान तपाइँ जस्तै भएको भए हरेक गर्भवती र सुत्केरीले राम्रो स्याहार पाउँथे'।
नर्सिङ स्टाफले यो भनिरहँदा हामी कसरी भन्न सक्छौ कि हाम्रो समाजले पुरुषको भूमिकाको अपेक्षा गर्दैन भनेर?
दिन-महिना बित्दै जाँदा,पेटमा बच्चा बढ्दै जाँदा उनलाई दिनप्रतिदिन असहजपन पनि बढ्दै थियो। घरपरिवारका अरु सदस्यले निभाएको आफ्नो कर्तब्य एक ठाउँमा र मैले आफू श्रीमान भएर निभाएको कर्तब्य अर्को ठाउँमा दुवैको आफ्नै महत्व हुनेगर्छ यो समयमा। गर्भवतीको आफ्नो दैनिकी त बदलिने भयो नै र सोसँगै मेरो आफ्नै दैनिकीमा पनि परिवर्तन आउन थाल्यो। बिहान बेलुका उनलाई केही समय हिडाउँन लाने, उनको दैनिकी काममा सहयोग गर्ने, आफ्नो अफिसको कामको व्यवस्थापन, लोकसेवाको तयारी जस्ता हरेक कामको मैले नयाँ तालिका बनाउन सुरु गरेँ। ढाड दुखेर रातभरी रोएर सुत्न नसक्दा मैले जानी-नजानी तेल लगाई गरिदिएको मसाज होस् वा रातको २ बजे खुट्टाको मासु फर्केर बोल्न खोज्दा आवाज नआएको क्षणमा मैले च्याप्प खुट्टा समाई गरिदिएको मसाज होस् ति सबै मेरो दिमागमा अझै ताजा नै छन्। यी सबैमा पुरुषको भूमिका छैन? कि यी सबैलाई हाम्रो समाजले भूमिकाको रुपमा देखिँदैन?
गर्भवतीको स्याहार गर्दागर्दै दुर्भाग्यबस म आफू कोभिड संक्रमित हुनपुगेँ। कोरोना महामारीको समय र रोगप्रतिको मानिसहरुको सोचले मलाई पनि आफूलाई केही हुन्छ कि भन्ने डर भन्दा पनि मबाट घरका अरुलाई सर्ने पो हो कि भन्ने डरले म छुट्टै कोठामा आइसोलेसनमा बस्ने निर्णय गरेँ। तर कताकता मलाई गर्भवती आमा र पेट भित्रको बच्चाको स्वास्थ्यको झन् धेरै डर लाग्न थाल्यो र केही समय उनलाई माइतीघर पठाउने सोच बनाएको मात्र के थिए झल्यास्स सम्झिए उतातिर पनि सबैलाई रुघाखोकी र ज्वरोले सताएको छ। त्यसपछि मैले उनलाई आफू ठिक नहुदासम्मको लागि गाउको घर पठाउने निर्णय गरेँ। जब उनि गाउँ गइन तब घरिघरि मलाई एक मनले लाग्न थाल्यो मैले यस्तो समयमा बेकार लोकसेवाको फारम भरेछु कि? अफिसको काम गरौँ कि, लोकसेवा तयारी गरौँ कि, गर्भवतीको स्याहार गरौँ कि? अर्को मनले सोचेँ आफ्नो जिम्मेवारीबाट भाग्नु भन्दा पनि समयको व्यवस्थापन गरी हरेक काममा आफ्नो क्षमताले सकेको भूमिका निर्वाह गर्नु नै मेरो आजसम्मको सफलताको उदाहरण हो भनेर यी सबै कुरालाई मैलेसँगै मिलाएर लाने निर्णय गरेँ। के आमा र बच्चाको स्वास्थ्यप्रति चासो राखी यसो गर्नुमा पनि म पुरुषको कुनै भूमिका देखिदैन?
जति जति उनको शरीरमा परिवर्तन बढ्दै थियो उनलाई दिन प्रतिदिन झन्झन् अप्ठेरो हुँदैथियो। डेलिभरी हुन करिब २ महिना बाँकी हुँदा उनलाई फुड पोइजनिंङका कारण एक्कासी पखाला लाग्यो। यसो सोचे होइन यो ९ महिनामा के-के चाहिँ हुने रहेछ समस्या पनि? पखाला सामान्य हुँदो हो त त्यो पनि म घरेलु उपचार र हेरचाहले ठिक गरिदिँदो हुँ। उनलाई अस्पताल भर्ना गर्नुपर्ने भयो। घरपरिवारले पालो पालो बिरामी कुर्ने हाम्रो चलनचल्ती त छ तर किन किन म आफैं उनलाई कुर्छु भन्ने निर्णय गरेँ। एक दिन अगाडी आफैलाई पत्थरी परेको रिपोर्ट आएको छ। आफ्नो आवश्यक सरसामान र आफैले खाने औषधि झोलामा राखी अस्पताल पुगेँ। एउटा बेडमा ७ महिनाको गर्भवती बिरामी श्रीमती अर्को कुरुवा बेडमा पत्थरीको आफै बिरामी कुरुवा। एकातिर १०-१० मिनेटमा उनलाई शौचालय जानुपर्ने अर्कोतिर पत्थरीको दुखाईको कारण न दायाँ फर्किन मिल्ने न बायाँ फर्किन मिल्ने गरी बेडमा सुतेको कुरुवा म। छेउको अर्को बेडमा एक दिनअघि शल्यक्रिया गरी बच्चा जन्माएकी आमा, बच्चा, श्रीमान र उनकी दिदि सासु थिए। सबै कुरा सबैलाई आउँछ भन्ने छैन तर दिदि सासूलाई आराम गर्ने समय दिएर बेला बेला सकी नसकी ति श्रीमानले आमा र बच्चाको निकै राम्रो स्याहार गर्ने प्रयास गर्दै थिए। ति पुरुष साथीलाई साथ दिँदै मैले भने जति सक्नुहुन्छ आफुले त्यति गर्नुस सकेको गर्नुपर्छ होइन भने फेरि तपाईलाई पनि खोइ पुरुष भन्ने प्रश्नको मुक्का आउछ हाम्रो समाजबाट। म अझैं झल्झल्ती सम्झिन्छु, ३६ घण्टा नरोकिएको त्यो पखाला, उनको आखामा आँशुसहित 'मलाई केही भए पनि मेरो बच्चालाई त केही हुदैन नि है?' जस्ता भनाईले एकातिर मलाई आफ्नो दुखाई त सबै भुलाउथ्यो र आफू पनि बिरामी छु भन्ने नै बिर्सिन्थे। बिरामीलाई औषधिले मात्र होइन ठिक गर्ने, थप माया र हौसलाले पनि हो भन्ने कुरा पढेको थिए। आफ्नो पिडा आफैसँग राखी, तिमीलाई केही भएको छैन सब ठिक हुन्छ तिमी जस्तो बलियो मान्छेले यस्तो कुरा गर्ने हो त भन्दै उसलाई हौसला दिने म, भित्र भित्र मनमा भने अनेक प्रश्नले मुक्का हानिरहन्थ्यो। अघि भने जस्तै अस्पताल सानो हुँदैमा केही हुँदैन, त्यहाँ उपलब्ध सेवा , कार्यरत चिकित्सक र नर्सिङ स्टाफले के कसरी बिरामीको केयर गर्नुहुन्छ भन्ने कुरामा पनि बिरामीको रोग निको हुने कुरा भरपर्दछ। सोही अनुरुप ३६ घण्टापश्चात केही सुधारपछि थप आरामको लागि घर लगियो। के यसमा पनि हाम्रो समाजले पुरुषको कुनै भूमिका देख्दैन?
डेलिभरीको लागि केही हप्ता मात्र बाँकी हुँदा अस्पताल जाँदाको तयारीको लागि आमा र बच्चाको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री (हस्पिटल ब्याग)को व्यवस्था गर्न बजार तिर लागेँ र सबैकुराको तयारी गरेँ। आमा र बच्चालाई नयाँ लुगाको एलर्जी नहोस भनि सबै धोईसुकाई प्याकिङ गरेँ। अब उनी ४०औं हप्ताकी गर्भवती।
'फलानो साथीको त यती दिन आगाडी डेलिभरी भयो नि! फलानो साथीको र मेरो चिकिस्तक ले दिएको मिति एकै दिन थियो उसको समयमै भयो तर मेरो आज समय पनि नाघ्यो।'अब सुरु हुन थाले उसको चिन्ताका दिनहरु।उनको हरेक प्रश्नमा मेरो एउटा मात्रै उत्तर थियो 'सबै ठिक हुन्छ आत्तिनु हुँदैन चिन्ता नगर'। नियमित स्वास्थ्य जाँच गर्दा सबै कुरा ठिक भएका कारण हामी नर्मल डेलिभरीका तयारीमा थियौं। चिकित्सकले दिएको मितिले ५ दिन बढी भयो तर उनलाई ब्यथा लाग्ने कुनै संकेत देखिएन। कता कता मलाई फेरि एकपटक अल्ट्रासाउण्ड गरेर हेरौ भन्ने लाग्यो र चिकित्सकसँगको परामर्शमा भाद्र १० गते बिहान अल्ट्रासाउण्ड गर्ने अस्पताल गयौँ। रिपोर्ट आएपछि थाहा भयो पानीको मात्रा धेरै कम भैसकेको रहेछ। करिब १ घन्टाको अन्तरालमा शल्यक्रिया गरेर बच्चा जन्माउने सबै तयारी पुरा भयो। उनलाई शल्यक्रिया कक्षमा भित्र लैजाँदै गर्दा मैले भने 'डाक्टर साप म पनि भित्र जान्छु प्लिज' एकछिन मुसुक्क हास्दै उहाँले जवाफ फर्काउनु भयो 'सरी सर'। उहाँको यस्तो उत्तर प्रति कुनै टिप्पणी नगरी शल्यक्रिया कक्षमा लगिने हरेक बिरामीको केश एकै किसिमको नभई फरक फरक हुन्छ र सो कक्ष भित्र बिरामीको आफन्त प्रवेश गर्दा हुनसक्ने अन्य केही सकारात्मक वा नकारात्मक परिणामको ख्याल गर्दै स्वास्थ्यकर्मीको टिमलाई शुभकामना दिदै आफू बाहिर बस्ने निर्णय गरेँ। तर यहि लेखमार्फत म हरेक अस्पतालहरुलाई अनुरोध गर्न चाहन्छु कि डेलिभरी हुने कक्षमा हुनसक्ने हरेक अवस्थाको व्यवस्थापनको लागि राम्रो तयारी गर्नुहोस तर श्रीमानलाई पनि संगै भित्र जाने व्यवस्था कुनै हालतमा मिलाउनुहोस्। यो मेरो व्यक्तिगत रहर होइन आजको आवश्यकता हो।
स्वास्थ्यकर्मीको टिमद्वारा शल्यक्रिया सफल भयो र हाम्रो परिवारमा लक्ष्मीको आगमन भएको खबर भित्रबाट आयो। करिब १८-२० मिनेटपश्चात नर्सिङ स्टाफले बधाई दिँदै छोरीलाई मेरो काखमा दिईन। लोकसेवाले लिएको परीक्षामा जनस्वास्थ्य अधिकृत ७ औ तहमा १ नम्बरमा नाम निकाल्न मेरो गुड लक बनेर जन्म लिएकी मेरी छोरीलाई मैले काखमा लिदै भने 'धन्यबाद मेरी गुड लक'। केही बेरमा अक्सिजनसहित बेहोस अjस्थामा आमालाई हरियो लुगामा स्ट्रेचरमा सुताई बाहिर ल्याईयो। आमालाई पोस्ट-अप रुममा लगियो। तर सबैको ध्यान बच्चा तिरै थियो। छोरीलाई घर-ससुराली तिरका परिवार सदस्यसँग छोडेर म पोस्ट-अप रुम तिर लागें र उनको स्वास्थ्य अवस्था बारे चिकित्सकसँग जानकारी लिए। उनको रगताम्य शरीर, शल्यक्रिया गर्दा दिइएको लठ्याउने औषधि को कारण कम्मर भन्दा तल नचल्ने शरीरको अवस्था र मुखमा लगाइएको अक्सिजन।
बिस्तारै केही समयमा होस आउँदा सकी नसकी मेरो अनुहारमा हेर्दै उनको पहिलो प्रश्न थियो 'बाबु हो कि नानी?' बोल्दा उनलाई झन् गार्हो हुने भएकोले मोबाइलमा छोरी लेखेर देखाएँ र नबोली थप आराम गर्न आग्रह गरेँ। २-४ दिन अस्पतालमै बस्नुपर्ने भयो र फेरि पनि म आफै कुरुवा बस्ने निर्णय गरेँ। आमा र बच्चा दुवै जनाको रेखदेख गर्नुपर्ने भएकोले मसँगै पालो पालो परिवारको अरु सदस्य पनि साथी बस्नुभयो। सुत्केरी आमा र बच्चालाई भेट्न आउने आफन्तहरुको भिड बढ्न थाल्यो। डेलिभरीपछि धेरै समय आमा-बच्चाको शरीर र स्वास्थ्य अरुभन्दा फरक र संवेदनशील हुन्छ भन्ने कुराको बिचार गरी आफन्तहरुलाई मास्क लगाएर मात्र आउन, आमाको धेरै नजिक नजान र सकेसम्म बच्चालाई काखमा नलिन आग्रह गरेँ। तर उहाँहरुको लागि खुसीको त्यो क्षणमा यो सबै कुरा आफूले बुझ्नु र अरुले बुझेर व्यवहारमा उतार्नुमा धेरै फरक हुँदो रहेछ। चौथो दिन हामी घर फर्कियौं र यो बीचमा अस्पताल परिवार, आफ्नो घर तथा ससुराली तिरको परिवारको सदस्यहरुको राम्रो साथ पाए। यहाँसम्म आउँदा के मैले हाम्रो समाजले अपेक्षा गरेको भन्दा फरक भूमिका निभाए?
भर्खर सरकारी सेवा प्रवेश गर्दैगर्दा सरकारको नियम तथा आफ्नो आधिकार स्वरूप मैले १५ दिन प्रसूति स्याहार बिदा पाएँ। यो बिदा सुत्केरी आमा तथा बच्चाको स्याहरकै लागि हो भन्ने कुरामा मलाई राम्रो ज्ञान छ र म यसको सहि सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राख्दछु। अस्पताल भन्दा घरमा केही सहज त हुन्छ तर घर जाँदैमा सबै सहज हुँदैन। रातिको समय भोकाएर बच्चा रुँदाको अवस्था एकातिर, आफ्नो शरीरको अवस्थाले सजिलै आमाले दुध चुसाउन नसक्दाको अवस्था अर्कोतिर। यी सबैलाई मैले नजिकबाट महसुस गर्ने मौका पाएँ। आमाको दुधमा बच्चालाई आवश्यक पर्ने सम्पूर्ण पोषणयुक्त तत्व हुने भएकोले सकेसम्म बच्चालाई बजारमा पाउने फर्मुला दुध भन्दा पनि आमाकै दुध खुवाउनुपर्छ र सोहीअनुसार आफूले सकेको र सक्ने जति तरिकाले आमालाई सजिलो बनाउँदै बच्चालाई दुध चुसाउन सहयोग गरेँ। तर आमाको दुधले बच्चाको भोक हराएन र २-२ घण्टाको फरकमा सकेजति आमाको दुधसँगै फर्मुला दुध खुवाउन मोबाइलमा अलाराम सेट गरे। शल्यक्रिया गरी बच्चा जन्माएको आमाले जति सक्दो धेरै आराम गर्नुपर्छ भन्ने कुरालाई स्मरण गर्दै उनको निद्रा नखल्बलियोस् भनि छोरीले दिसापिसाब गर्दै 'खुन खुन' गरेका हरेक समय र सोको व्यवस्थापनले मलाई हरेक क्षण नयाँ अनुभव दिलाएको थियो। अस्पताल हुँदा उनलाई दिइएको औषधिले होला सायद उनको खुट्टा झन् झन् सुनिन थाले। छोरीलाई सुताएर हट वाटर ब्यागले आमाको खुट्टा सेकिदिएँ। किचेनको केही काममा मम्मीलाई सघाउने र दिनभरी आमा र बच्चाको स्याहारमा सघाउने मेरो दिनचर्या हुन थाल्यो।
डेलिभरीपश्चात कुनै दिन घाम नलाग्दा बच्चालाई घाममा देखाउन नपाउँदाको अवस्था र दुध नपुग्दा बच्चालाई बिस्तारै जन्डिस बढ्दै गयो। शिसुवा अस्पतालमा फोटोथेरापी मेसिन भएको तर बच्चाको डाक्टर नहुदा सो मेसिन प्रयोगमा नआएको जानकारीपश्चात घर आएको तेस्रो दिन फेरि बच्चालाई पश्चिमाञ्चल अस्पताल पोखराको एनआइसीयूमा फोटोथेरापीको लागि भर्ना गरियो। स्वास्थ्यचौकी हुँदै, प्राथमिक स्वास्थ्य केन्द्र र यहाँसम्म आएको हालको शिसुवा अस्पतालको व्यवस्थापन समितिलाई यहि लेखमार्फत मेरो अनुरोध छ धेरै स्थानीयको मन जित्न सफल यस अस्पतालको भविष्यको बारेमा राम्रो योजना बनाउन ढिलो नगरौँ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहँदा पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको राम्रो सहयोग प्राप्त भयो। तर मनमा डर यो मात्र थियो कि बच्चालाई सन्चो हुदा हुँदा फेरि आमालाई कुनै समस्या नपरोस्। हामी यति स्याहार गर्दा त यस्तो समस्या पर्छ भने सोचौं त सुत्केरी आमा र बच्चालाई सामान्य सोचेर बेवास्ता गर्दा कति आमा र बच्चाको ज्यान जोखिममा पर्छ होला? यस्ता प्रश्नले मलाई अस्पताल बस्दासम्म निद्रा नै परेन। यति गर्दा पनि के गर्भवती र सुत्केरी स्याहारमा पुरुष कतै देखिएन?
३ दिनको अस्पताल बसाईपश्चात हामी घर फर्कियौं र फेरि सुरु भयो उही सुत्केरी स्याहारको दिनचर्या। राति खल्बलिएको निद्रा भोलिपल्ट दिउँसो आमा र बच्चा सुतेको बेला पुरा गर्ने प्रयास गरेँ। दिउँसो भर्खर निदाउन लाग्दा भेट्न आउने आफन्तहरुमध्ये कसैले ढोकाबाट भन्नुभयो- 'ओहो अफिस पनि बिदा दिनभरी सुत्यो है कस्तो आनन्द यो छोरा मान्छेलाई त।' यो सुन्ने बित्तिकै उठेँ तर केही जवाफ फर्काउन उचित ठानिनँ। हाम्रो समाजलाई मेरो प्रश्न, के सुत्केरीलाई समय समयमा खाने कुराको व्यवस्था गर्ने र सुत्केरी भेट्न आएका आफन्तलाई खाजा-फलफुलले सत्कार गर्ने काम मात्र सुत्केरी स्याहा मा पर्ने हो? आज भन्न चाहन्छु हो, तपाईहरु जस्तैले होला सयाद सुत्केरी स्याहारमा हाम्रो समाजले पुरूषको भूमिका अपेक्षा गर्दैन भनेर समाजमा हल्ला फिजाउँदै हिड्ने।
असोज ५ गते बिहान आमा छोरीलाई लिन ससुराली तिरबाट बाबा मम्मी आउनुभयो। आमा छोरीलाई गेटमा पुगेर बिदा गर्दैगर्दा मेरो मनमा फेरि एउटा प्रश्न आयो, 'के मेरो पुरुष, श्रीमान र बुवाको भूमिका सकियो?' कि यो समाजले गर्भवती र सुत्केरी स्याहारमा पुरुषको भूमिका महशुस गर्नलाई मैले अझै केही गर्नुपर्ने थियो?