डा लरेन्स जे एपल र डा कुनीहिरो मतसुसिता जोन्स हप्किन्स युनिभर्सिटीका प्राध्यापक हुन्। उनीहरु हालै मात्र नेपाल आएका थिए। तालिमप्राप्त सामुदायिक स्वास्थ्यकर्मीबाट उच्च रक्तचाप व्यवस्थापन विषयमा नेपाल विकास समाजले गरेको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा उनीहरु सहभागी हुन नेपाल आएका थिए। सो क्रममा स्वास्थ्यखबरले उनीहरुसँग छोटो कुराकानी गरेको छ। प्रस्तुत छ उनीहरुसँग गरिएको कुराकानी:
१. ड्यास डाइट किन महत्त्वपूर्ण छ? उक्त डाइट नेपालको सन्दर्भमा उपयोगी हुन्छ कि हुँदैन?
डा लरेन्स: उच्च रक्तचाप जीवनशैलीसँग सम्बन्धित रोग हो। उच्च रक्तचाप नियन्त्रण गर्न दुई चिज गर्न सकिन्छ: एउटा मानिसहरुको अव्यवस्थित बानीलाई नियन्त्रण गर्ने, अर्को व्यवस्थित जीनवशैली जिउन प्रेरित गर्ने। यसका लागि ड्यास डाइट उपयुक्त हुन्छ। ड्यास डाइट स्वस्थ आहार हो। यसमा प्रशस्त मात्रामा फलफूल, तरकारी समावेश हुन्छ। यसले स्याचुरेटेड फ्याट घटाउन मदत गर्छ। यो पश्चिमी शैलीको आहार हो। यसलाई पश्चिमी देशहरुमा परीक्षण गरिएको छ तर यसलाई देश अनुसार अपनाउन सकिन्छ। यो वास्तवमै धेरै देशहरूमा पुग्न आवश्यक छ। ड्यास डाइट उच्च रक्तचापको लागि मात्र होइन। यसले स्ट्रोक, हृदयाघात, क्यान्सर जस्ता धेरै अवस्थाहरूलाई कम गर्छ। त्यसैले यो सामान्य मानिसहरूको लागि राम्रो आहार हो।
२.अर्को प्रश्न कुनीहिरोलाई, यो डाइटलाई जापानको परिवेशको लागि कसरी अपनाइएको छ? नेपालमा यसलाई यहाँको खानाको बानी, खानाको ढाँचा अनुसार कस्टमाइज गर्न सकिन्छ?
डा कुनीहिरो: ठ्याक्कै ड्यास डाइट अपनाउन नसके पनि हरेक देशको आवश्यकता हेरेर डाइटको आधारभूत अवधारणा अपनाउन सकिन्छ। प्रत्येक देश अनुसार फरक प्रकारका चुनौतीहरू हुन्छन्। जस्तै, जापानमा नुन सेवन सबैभन्दा महत्त्वपूर्ण कारक हो। त्यसैले देशअनुसार परिमार्जनको आवश्यकता हुन्छ। नेपालले आफ्नो सहजता हेरेर यसलाई अपनाउन सक्क।
३. पछिल्लो समय विश्वमा कोभिडले धेरै मानिसहरुको ज्यान गएको छ, नेपाल अहिले डेंगुको चपेटामा छ। तर नेपाल जस्तो विकासोन्मुख देश र अन्य देशहरूले समेत किन नसर्ने रोगहरूमा मात्रै ध्यान केन्द्रित गर्छन्?
डा कुनीहिरो: मेरो विचारमा न्यून आए भएका देशहरुमा यो कुरा सत्य हो। त्यस्ता देशहरुले आफ्नो स्रोतसाधनलाई नसर्ने रोगतर्फ लैजानु स्वाभाविक पनि हो। न्यून आय भएका मुलुकमा नसर्ने रोगमा पैसा चाहिने बिरामी बढी छन्। कोरोनाको महामारी पछि सबै देशहरुमा सर्ने रोगको लागि पनि काम भइरहेका छन् र त्यस्ता देशहरुमा सुधार समेत भइरहेको छ।
४.एउटा निश्चित क्षेत्रमा बसेर नसर्ने रोगहरुको विषयमा अनुसन्धान गर्नु, केसहरू फेला पार्नु कत्तिको गाह्रो छ? यस्ता अनुसन्धानमा विश्व्यापी रुपमा तपाईंको विचार के छ?
डा लरेन्स: हामीले अहिले कुस्मामा गरेको अनुसन्धान रक्तचापमा केन्द्रित भएर गर्यौं। धेरै चुनौतीहरुको बिच हामीले त्यहाँ वास्तवमै राम्रो गरेका जस्तो मलाई लाग्छ। नेपालजस्तो देशमा अहिले सबैभन्दा ठूलो समस्या बुढ्यौली र मोटोपनको हो।
डा कुनीहिरो: यस प्रक्रियामा तीनवटा चिजहरू मुख्य छन्। स्क्रिनिङ, रोग पत्ता लगाउने र उपचारको प्रक्रिया। धेरैजसो नसर्ने रोगहरूको चुनौतीपूर्ण पक्ष भनेको तिनीहरूले लक्षणहरू नदेखिनु हो। त्यसैले यो प्रक्रियामा स्क्रिनिङ निकै महत्वपूर्ण हुन्छ। लक्षण नदेखिने रोगहरूको राम्रो उदाहरण उच्च रक्तचाप हो। त्यसैले यसलाई साइलेन्ट किलर भनिन्छ। यो प्रोजेक्टमा हामीले महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहयोग लिनुको प्रमुख कारण पनि स्क्रिनिङ हो। उनीहरु सबैलाई स्क्रिनिङको महत्त्व थाहा छ। यस परियोजनामा महिला स्वास्थ्य स्वयं सेविकाहरु स्क्रिनिङ प्रक्रियाको मुख्य हिस्सा हुन्। उनीहरुले यसको पहिचान र रोकथाममा ठूलो भूमिका खेलेका छन्।
५. नेपाल जस्तो देशमा सरकारले अनुसन्धान क्षेत्रमा ध्यान दिएको छैन, यो सीमित स्रोतमा अनुसन्धान गर्न हाम्रा अनुसन्धानकर्ता, नीति निर्माण तहमा बस्नेहरूलाई के सुझाव दिनुहुन्छ?
डा कुनीहिरो: यो सबैभन्दा महत्वपूर्ण प्रश्न हो। यही प्रश्न धेरै देशका नीति निर्माण तहमा बस्नेहरूले सोध्छन्। अवस्य पनि स्वास्थ्य क्षेत्र विशेष अनुसन्धानको क्षेत्र हो। हामीसँग विभिन्न देशहरुले गरेका अनुशन्धानको तरिकाहरू छ। अन्य देशहरुले गरेजस्तै अनुसन्धानहरू कोसिस गर्नु भनेको त्यसबाट नयाँ आइडिया ल्याउनु पनि हो। तर हरेक देशमा भएका नीति नियमहरू लागू गर्ने गर्नुपर्छ। अनुसन्धानले निकालेको निष्कर्षलाई विचार गरेर समय अनुकुल लागू गर्नुपर्छ।
डा लरेन्स: मलाई लाग्छ नेपालसँग पूर्वाधार छ। यदि तपाईंसँग अनुसन्धान गर्ने क्षमता छ भने तपाईं तपाईंको देश मा धेरै उपयुक्त अनुसन्धान गर्न सक्नुहुन्छ।
६. हाम्रो देशका महिला स्वास्थ्य स्वयं सेविकाहरूले स्वास्थ्यको क्षेत्रमा धेरै राम्रो काम गरेका छन्, तपाईंहरूले उनीहरु सँग मिलेर काम गर्दा कस्तो अनुभव भयो?
डा कुनीहिरो: हामीले केहि स्वयं सेविकाहरूलाई भेट्यौं। तिनीहरू सबै यस अवसरको लागि धेरै खुसी भएका छन् किनभने हामीले काम गरेको गाउँमा जे सुधार भयो त्यो उनीहरुको कारणले भएको थियो। उनीहरुले हामीसँग काम गर्दा धेरै कुराहरू सिके। रक्तचाप नाप्ने जस्ता नयाँ सिप सिके। उनीहरु आफ्नो आसपास भएको सकरात्मक चिजहरू देखेर खुसी भएका थिए। मलाई लाग्छ नेपाल सरकारले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सशक्त बनाएर परिवर्तनको लागि मिलेर काम गर्न सक्छ। उनीहरुलाई मोनिटर गर्ने मान्छे भयो भने स्वास्थ्य प्रणालीमा नै सुधार आउन सक्छ।
७.ग्लोबल हेल्थको प्याट्रनमा परिवर्तन भइरहेको छ, यसमा नेपाल के-के कुरामा सचेत हुनुपर्छ?
डा लरेन्स: नेपालको रक्तचापको समस्या बढ्दै गइरहेको छ। नेपालले बाटो खोज्नुपर्छ। मलाई लाग्छ कि अमेरिका र नेपाल धेरै हिसाबले धेरै फरक छ तर नेपालको स्वास्थ्यमा मोटोपन र बुढ्यौली धेरै ठूलो मुद्दा हुन्छ। यसले नेपालको स्वास्थ्य सेवा कस्तो छ भनेर बताउँछ। नेपालले रक्तचाप रोकथामको पक्षमा समयमै सोचेर काम गर्नुपर्छ।
डा कुनीहिरो: नेपाल लगाएत धेरै देशमा मोटोपन बढ्दै छ। यो उच्च रक्तचापको सुरुवाती मार्ग हो। नेपालसँग एउटा यस्तो बलियो पक्ष छ की नेपालले अन्य यस्तै समस्या भएका देशहरूलाई समेत समावेश गरेर अगाडि बढ्न सक्छ। नेपालसँग त्यो क्षमता छ। स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरुको सहयोगमा नेपालले धेरै उपलब्धि हासिल गर्न सक्छ। उनीहरुकै साथ र सहयोगबाट नेपालले उच्च रक्तचापको समस्या समाधान गर्न अगुवाई गर्न सक्छ। उच्च रक्तचापको समस्या समाधानमा नेपाल विश्वको नेतृत्वमा हुन सक्छ।
प्रस्तुति: अन्शु खनाल