चिकित्सा पेशा सबैभन्दा सुरक्षित र आकर्षक पेशाको रूपमा मानिन्थ्यो। विद्यार्थी कालदेखि नै धेरैले म डाक्टर बन्छु भनेर संकल्प राख्थे। आफ्ना सन्तान र नातेदार चिकित्सक छन भन्दा सबैले गौरव गर्थे।
तर आज देशको चिकित्सा पेशा अति जटिल मोडमा पुगेको छ। त्यसको उदाहरण भनेको हरेक चिकित्सकले पछुतो मान्ने एउटै विषय भनेकाे किन अमेरिका लगायत अन्य देश गइन भनेर दुःखी हुने हो। उच्च विषेशज्ञता हासिल गरेर ५-१० वर्ष काम गरेका समेत विदेश उड्छन। चिकित्सा पढाई सक्ने बित्तिकै सबैको पहिलाे तयारी त्यही हुन्छ।
६ वर्ष मेहनतका साथ स्नातक सकेको चिकित्सक अवसर अभावमा अस्पाताल छाडेर रिडिङ रूपमा एक डेढ वर्ष स्नाकोत्तर तथा विदेशको तयारी गर्छ। स्नातक सकेका चिकित्सकको तुलनामा स्नाकोत्तर गर्ने अवसर एकदम कम छ। त्येसैले धेरै कडा प्रतिष्पर्धा छ। काम छाडेर २५-३० वर्षको उमेरमा घरबाट पैसा मागेर ६ महिना वर्षदिन दिनरात घोटिनु पर्छ। जसको कारण आज विडम्बना काठमाण्डौमा १०-१५ ओटा रिडिङ रूम चलेका भेटिए। अस्पतालका भन्दा ज्यादा चिकित्सक त्यता भेटिन्छन। जबकी प्रणाली यस्तो हुनुपर्छ कि स्नातक गरेपछि स्वतः केही समयमा सबैले स्नातक गर्न पाउने व्यवस्था हुनुपर्दछ। काम गर्दा गर्दै पढेर उच्च शिक्षा सुनिश्चित हुनुपर्दछ। उच्च विशेषज्ञता सकेका चिकित्सक समेत अमेरिका, वेलायत जाने तयारी गर्न रिडिङ रूम तिरनै भेटिन्छन। हरेक रिडिङ रुममा सय डेढ सय गरेर दुई चार हजार चिकित्सक रिडिङ रुममा घोटीनु परेको छ। यो विडम्बना हो, देशले दक्ष जनशक्तिलाई रोक्न नसक्दा र काम गर्न प्रेरित वातावरण निर्माण गर्न नसक्दा कालान्तरमा राज्य कमजोर बन्छ।
नेपालमा यस्तो अवस्था आउनुको मुख्य कारण भनेको राज्यले चिकित्सकलाई र सो पेशालाई हेर्ने र गर्ने व्यवहार हो। चिकित्सा पेशा निकै विशिष्ट र संवेदनशील पेशा हो। यसको स्नातक पढाई नै ६ वर्ष पूरा लगाउनुपर्ने हुन्छ। त्यो पछि १-२ वर्ष काम गरेसी फेरि स्नाकोत्तर ३ वर्ष, उच्च विशेषज्ञता अझै ३-४ वर्ष। उत्पादित चिकित्सक संख्या वमोजिम अध्ययन अवसर नहुनाले अझै कति वर्षको तयारी र कुराई हुने हो भन्न सकिन्न। तसर्थ प्लस टु पछि १५-१६ वर्ष लगानी गरेर एउटा चिकित्सक बनेको हुन्छ। पढाइको शिलशिलामा काम गर्दै पढ्ने, आर्थीक रुपमा स्वावलम्बी बन्ने भन्ने सम्भावना रहन्न। त्यसैले समय र आर्थिक हिसाबले ठूलो लगानी गरेपछि बल्ल एउटा चिकित्सक बनेको हुन्छ।
तर राज्यले एउटा अन्य विधाको कर्मचारी सरह व्यवहार गर्छ। सरकारी चिकित्सकको तलव अहिले तह अनुसार मासिक ४८ देखि ५५ हजार हाराहारी छ। समाजले भने डाक्टरले ४-५ लाख कमाउँछन भनेर कल्पना राख्छन। आज करिब ३३ हजार चिकित्सक हुँदा १-२ हजार जनाको राम्रै अवस्था होला, तर २५-३० हजार चिकित्सकको अवस्था गाह्रो छ। आजको दिनमा धेरै प्राइभेट अस्पताल र कलेजमा त महिनाको ३०-३५ हजारमै महिनाभर काम गर्नुपर्ने अवस्था छ। यस्तो किन भयो भने मेडिकल साहुहरुको चरम हेपाह प्रवृत्ति र राज्यका सञ्चालक कर्मचारी र नेतृत्वले यो पेशाको जटिलता, विषेशज्ञता र संवेदनशीलता नबुझ्नु हो। उनीहरूले मेडिकल शिक्षाको स्नातक र स्नाकोत्तरलाई समेत अन्य विधाको सरह ठान्छन, समस्या त्यहिबाट सुरू हुन्छ।यस्तो भइसकेपछि चिकित्सक १० तिर दौडिन वाध्य हुन्छ, उसको दैनिकी निराश हुन्छ। निराश चिकित्सकले गुणस्तरीय सेवा दिन सक्ने कुरा कमै कल्पना गर्न सकिन्छ । जसले गर्दा बिरामीको गुणस्तरीय सेवा पाउने क्रम घटेर जान्छ।
चिकित्सकको पढाइमा समयको लगानी, आर्थिक लगानी, पढाइको मेहनत, कामको संवेदनशीलता, २४ घण्टा र ७ दिन नै दिनरात ड्युटीमा रहनुपर्ने वाध्यता हेरेर कम्तिमा मासिक १ लाख ५o हजारबाट उसको न्यूनतम तलव सुरू हुनुपर्दछ। उसको अनुभव, थप जिम्मेवारी, विशेषज्ञता, थप ड्यूटी आवर आदि हेरेर अझ सुविधा थप गर्नु पर्दछ। अर्थ, प्रशाशन लगायत अन्य नीति निर्माणका कर्मचारी र नेतृत्वले जवसम्म चिकित्सकलाई सचिवको त तलव ७०-८० हजार मासिक छ, कसरी चिकित्सकको लाख माथि गर्न सकिन्छ भनेर भन्छन, तवसम्म चिकित्सा सेवा झन धारासायी बन्छ । प्रशासन कर्मचारीले अतिरिक्त सेवा, घर भाडा, पेट्रोल, गाडी, आते जाते भत्ता के के गरेर तलबको २-४ गुणा बढी नै सुविधा पाउँछन। अझ राजस्व, वैंक, विद्दुट आदि तिर त बढी तलब दिन सम्भव भएको प्रष्ट छ, त्यो यता चिकित्सा तिर किन सम्भव छैन? यसरी चिकित्सा प्रणाली बलियो हुन सक्दैन, त्यसको जिम्मेवार निति निर्माण र राज्य संचालनका नेतृत्वले लिनुपर्दछ।
अर्को कुरा चिकित्सकको सुरक्षाको कुरा निकै जटिल छ। ठाउँ- ठाँउमा लापरबाही भयो भनेर चिकित्सकलाई पिटीन्छ। सडक दुर्घटनाका कारण बिरामी घाइते भएर अस्पाताल आउँछ। अनि चिकित्सकले बचाउन खोज्दा मृत्यु हुँदा दुर्घटना दोषि हैन, डाक्टर दोषी भनिन्छ। लोकतन्त्र भनेर भिडतन्त्रले फैसला गर्ने क्रम बढेको छ। राम्रो हुँदा भगवान, खराब नतिजा आउने वित्तिकै आक्रमणमा उत्रिनले सबैले असुरक्षित महसुस गरेका छन। जुम्लामा अस्पतालकै कर्मचारीबाट डाक्टर पीटिदा दोषीलाई कारबाही भन्दा बचाउ तिर राज्य र राजनीतिक दलहरु लागि परे। यस्ताे वातावरणले चिकित्सकको मनोवल कमजोर हुन्छ र उसले आफ्नो विवेकले उपचार गर्ने भन्दा आफ्नो टाउको जोगाउने तिर सोच्छ, बिरामी रेफर हुन्छन र सर्वसाधाणले दुःख पाउँछन।
केही समय पहले पोखरामा ड्युटीमा काम गर्दा गर्दै चिकित्सकको मृत्यु भयो, त्यहाँ पनि उचित सम्मान र क्षतिपूर्तिको व्यबस्था भएन। कमसेकम काम गर्दा गर्दै चिकित्सकको मृत्यु भएमा ड्युटीमा काम गर्दा मृत्यु हुने राष्ट्र सेवक सरह सबैले सेवा र क्षतिपूर्ति पाउनुपर्दछ।
अस्पतालमै काम गर्दा गर्दै बिरामी परेको खण्डमा चिकित्सकले उपचार पाउने, खर्च पाउने वा निशुल्क उपचार गर्ने सरकारको कुनै विमा तथा नीति छैन। त्यसैले धेरै चिकित्सकले उपचार खर्च बेहोर्न नसकेर उपचारबाट वञ्चित हुनुपरेको अवस्था छ।
यो सबै चिकित्सकहरुलाई हामी शाषण गर्छौँ भन्ने राज्य सञ्चालकहरुकाे सोचको परिणाम हो। तिनै संचालक नेता, कर्मचारी आदिको आफन्त र कार्यकर्ता अस्पाताल पुग्दा लाइन नबसी, टिकट नकाटी उपचार खोज्छन। यो वेतिथिले पीडित जनता नै हुने हो। स्वास्थ्य प्रणाली धोस्त पार्ने नेता र कर्मचारीलाई लाइन लगाएर अरू सरह १-२ हप्ता या महिनामा पालो अनुसार सेवा दिनुपर्दछ, अनि मात्र सेवाग्राहीको पीडा बुझ्छन। नत्र आफूलाई सजिलो छ, भनेर स्वास्थ्य प्रणाली नाजुक बनाउँछन।
अर्को आफ्नो हकहितमा एकजुट भएर लड्नुपर्ने चिकित्सक संघ कमजोर हुनु हो। चिकित्सक संघ आफैंमा यति कमजोर छ कि यसलाई नेपालका एक तिहाई चिकित्सकलाई मात्र प्रतिनिधित्व गर्छ। यसको सदस्य बनेर हामी बलियो हुन्छौँ, हामिलाई यसले बलियो बनाउँछ, सदस्य बन्नका लागि तिरेको शुल्क सार्थक हुन्छ भनेर प्रेरणादायी हुने काम नै केही भएको छैन। यसलाई अझ सशक्त बनाउनुपर्ने अवस्था छ। जम्मा ३२ हजार नै चिकित्सकलाई यताको सदस्य बन्न प्रेरित गर्नुपर्ने आवश्यक्ता छ। र स्वास्थ्य प्रणाली र स्वास्थ्य सेवाको सुधारको लागि मेडिकल एसोसियनले सशक्त भूमिका निभाउनु पर्दछ।
(डा नेपाली नेपाल चिकित्सक संघको कार्यसमिति सदस्य पदका उम्मेदवार हुन्।)