जब जब झरी पर्छ, प्रेमीहरूका ओठबाट गीतका लय गुञ्जन थाल्छन्–
ए झरी
नझरीदेऊ यसरी
झरीलाई प्रेमीको आँसु वा उदासीसँग जोडेर सर्जकहरूले कविता, गीत वा साहित्य लेखेका छन्। सायद जमिनमा खस्ने पानीको थोपाले सर्जकको हृदय भिजाउँदो हो र अंकुराउन थाल्दो हो सिर्जना।
वरिष्ठ मुटु रोग विशेषज्ञ डा अरुण सायमीले अहिलेसम्म सयौँ मानिसको मुटुको धुकधुकी सुने। तर उनको आफ्नै धुकधुकी?
‘त्यो त हरेक मानिसहरूले गीतमार्फत् सदाबहार सुन्न सक्छन्। महसुस गर्न सक्छन्,’ डा सायमी भन्छन्।
झरीसँग जोडिएर आउने गीत ‘ए झरी’ले कैयन् संगीतप्रेमीलाई स्पर्श गरेको छ। भावुक बनाएको छ, प्रेमिल बनाएको छ। यही गीतका सर्जक हुन् डा. सायमी। जतिबेला उनले यो गीत लेखे, त्यतिबेला उनी डाक्टर भइसकेका थिएनन्।
तन्नेरीकालमा साहित्यको आलोकमा पोखिएर उनले यो गीत रचेका थिए।
०००
डा अरुणको जीवनमा कतिवटा दशकले असीमित झरी काटिसके। तर कलमले एक झरीको पोट्रेट गरिररहेको १९ वर्षीय त्यो किशोरलाई उनी कहिल्यै भुल्दैनन्। हालसालै झरी परेको क्षण डा. अरुणलाई त्यो गीतको अंकुरणबारे सोधेका थियौँ।
उनी आफ्नो युवावयमै फर्किए।
बा साहित्यकार धुस्वाँ सायमीबाट प्रभावित भएर सानैदेखि साहित्य लेख्न थाले। दुर्गालाल श्रेष्ठ उनको लेखनलाई प्रेरणा दिइरहन्थे।
विसं २०३२ सालतिर अरुणले ‘मर्दीको किनार’ उपन्यास लेखेका थिए। त्यसमा १२ वटा गीत पनि समावेश थिए। त्यसमध्ये एउटा गीत ‘वर्षा छमछम नाचिदेऊ न’ गायकद्वय उदित नारायण झा र दीपा झाले गाएका थिए।
अर्को गीत थियो– ए झरी। यो चाहिँ लेखेको साढे ३ दशकपछि गायक नवीन के भट्टराईले गाए।
डा. अरुणलाई बच्चैदेखि झरीको सौन्दर्यले छुन्थ्यो। कलेजमा आइएस्सी पढ्दै गर्दा एकदिन झरी परिरहेको थियो। त्यहीबेला उनलाई यो गीत बिजुलीको चम्काइसरी स्पार्क भएको थियो।
ए झरी
नझरीदेऊ यसरी
एकान्त यो रातमा मलाई पागल गरी
झरीदेऊ तिमी सुस्तरी सुस्तरी
जब हुन्छिमन् मेरी मायालु
मेरो वरिपरी
जब नवीन के भट्टराईले गाउन सकेनन्
सन् २००६ सालमा यो गीत कम्पोज भयो। गायक नवीन के भट्टराईको परिचय स्थापित गर्न यो गीतको ठूलो योगदान छ। तर नवीनले निकै कठिनाइका साथ यो गीत गाएका थिए।
‘म नवीन के भट्टराईको परिवारमा फेमिली डाक्टर हुँ। साथी शम्भुजितले यसलाई कम्पोज गरे। कसलाई गाउन दिने त? नवीनको आमाले भन्नुभयो– मेरो छोरा पनि गायक हो। उसलाई गाउँन लगाऊँ न,’ अरुण सम्झन्छन्।
तर नवीनलाई गाउन सहज भएन यो गीत। २ पटक प्रयास गरे। सकेनन्। नसकेपछि भने– म यो सक्दिनँ। त्यसपछि छाडे। ‘तर आमाले छोराले गाउनै पर्छ भनेर जिद्दी गरिन्। तेस्रो पटकको प्रयासमा भने रेकर्ड हुन सफल भयो,’ अरुण भन्छन्।
अरुणका अनुसार यो गीत स्टेजमा नवीनले सितिमिति गाउँदैनन्। ‘किनकि यो गाउन गाह्रो छ। त्यो नवीन आफैं स्वीकार गर्छन्,’ अरुण भन्छन्।
गीतले दिएको सन्तुष्टि
केहीदिनअघि एकजनाले भनेको अरुणले सुनेका थिए, ‘यो त अमर गीत हो। झरी पर्दा सबैको ओठमा गुन्जन्छ।’
त्यो सुन्दा उनी पुलकित हुन्छन्। तर कतिपय मानिसले भने पत्याउँदैनन् र सोध्छन्, ‘यो तपाईंले नै लेखेको हो?’
जवाफमा उनी केवल हाँसिदिन्छन्।
एकजना पेसेन्ट थिए डा अरुणको। ‘उपचारको क्रममा उनले मैले यो गीत लेखेको कुरा थाहा पाए। उनले भने–मेरो सबैभन्दा प्रिय गीत हो यो। गीत लेख्ने मान्छेसँग भेट्ने ठूलो चाहना थियो। मलाई उपचार गर्ने डाक्ट रनै गीतकार हो भन्ने थाहा पाउँदा कति खुसी छु,’ अरुण बिरामीले भनेका शब्द सम्झन्छन्।
अरुण आफैं पनि यो गीत नियमित सुन्छन्। झरीको बेला गीत बजाएर उनी १९ वर्षे अरुणलाई भेट्न स्मृतिमा फर्कन्छन्।
एमबीबीएस पढ्दा उनलाई उनका श्रद्धेय दुर्गालालले भनेका थिए, ‘तिमी डाक्टर हुँदा खुसी छु। तर लेख्न नछाड्नु है।’
डा अरुणले मृत्यु शय्याबाट फर्काएर थुप्रै बिरामीको भाग्य त कोरे नै। आफूलाई खुसी दिने साहित्य लेख्न पनि उनले छाडेनन्।
उनलाई लाग्छ– डाक्टरको त आयु हुन्छ। तर सर्जक सदाबहार बाँच्छन्।
जस्तो कि ‘झरी’कै गीत जति पुरानो भयो उति गुन्जँदै गएको पाउँछन् उनी। त्यसरी गुन्जँदा उनका शब्दहरू सधैं बाँचिरहने भए।
अरुण भन्छन्, ‘जब–जब झरी पर्छ। मानिसका ओठहरूमा मेरा शब्दहरू जीवन्त गुन्जिरहन्छन्। झरीमा उनीहरू कसैको स्मृतिमा भनिरहलान्– ए झरी नझरीदेऊ यसरी।’