वीर अस्पतालले सामान्य शय्या नि:शुल्क गरेर ‘वाहवाही’ कमाइरहेको बेला निकटस्थ बिरामी भएपछि गत शुक्रबारदेखि बुधबारसम्म मलाई सेवाग्राही बन्ने 'अवसर' जुर्यो। उपचारका लागि फिमेल मेडिकल वार्डको २७१ बेडमा पाँच रात ६ दिन बिताएँ। त्यो क्रममा भोगेका र देखेका विषय मोबाइल डायरीमा नोट गरेँ। त्यही डायरी प्रस्तुत गर्दैछु। यो पानामा सुलभ र सस्तो उपचारका लागि अस्पताल पुगेका बिरामी र उनीहरूका आफन्तले खेप्नुपरेको महंगो हैरानीको फेहरिस्त छ- डिबी खड्का।
०००
पाना नं १: ल्याबबाट सिधै दलालको फोन नम्बर लेखेर 'ठगिन पठाइन्छ' बिरामी
टाइफाइडका सबै लक्षण एकसाथ देखिँदा शिथिल भएकी श्रीमतीलाई कुर्न म दुईटा शय्याको बीचमा राखिएको काठको टुलमा बसिरहेको छु। बायाँतिर श्रीमती छिन् र दायाँतिर रगतसम्बन्धी समस्या भएकी ३२ वर्षीया महिला। फरासिली स्वभावकी उनी आफ्ना लागि ल्याइएका आँपदेखि तरकारीसम्म बाँड्न रुचाउँछिन्।
उपचार चलिरहेको थियो। अस्पतालमा बिरामीको दुखाइ बाँड्न मिल्दैन, दु:ख बाँड्न मिल्छ। ६ दिनको बसाइमा हामीले वल्लो-पल्लो गरी जम्मा ६ बेडसम्म बाँड्न मिल्ने जति कुरा बाँड्यौँ।
सुखले जोडिएका साथी दिमागमा हुन्छन्। दु:खमा जोडिएकाहरु मनमा रहँदा रहेछन्। हामी परिचित हुँदा आफन्त जस्ता भयौँ। रिपोर्ट लिनेदेखि औषधि किन्नेसम्म एकअर्कालाई सघायौँ।
रगत सम्बन्धी समस्या भएर हामी भन्दा पहिलेदेखि सोही वार्डका पाहुना बनेका उनीहरूले उपचारका क्रममा अनेक हैरानी भोगेका छन्। त्यही क्रमको एउटा हो, ल्याब (हिस्टोलोजी/साइटोलोजी)बाटै टिपाइएको दलालको फोन नम्बर। अस्पतालभित्रै चल्ने असुली धन्दाका अनेक रुपमध्ये एउटा आफैंले नजिकबाट महसुस गर्न पाएँ।
हातखुट्टा बेस्सरी दुख्ने र हेर्दा पहेंलो देखिन थालेपछि सिन्धुपाल्चोककी ती महिला उपचारका लागि वीर अस्पताल आइपुगेका थिए। त्यसअघि ललितपुरतिरको एउटा निजी अस्पतालमा पुर्याएका रहेछन्। उक्त अस्पतालले समस्या नै पत्ता लगाउन नसकेपछि वीर अस्पताल लैजान सुझाएको रहेछ।
रगत सम्बन्धी समस्या हुनसक्ने विषयमा चेकजाँच चलिरहेको थियो। परीक्षणको नतिजा नआइ उपचार सुरु हुने कुरा भएन। उपचारमा संलग्न चिकित्सकमध्ये एकले राउन्डका क्रममा भने, 'एप्लाष्टिक एनिमिया वा ल्युकेमिया वा अरु केहीको सम्भावना केलाउन जाँचका लागि पठाएका छौँ।'
उपचारका लागि भर्नारत ती महिलाको बोनम्यारोको नमुना निकालेर दुईटा जाँचका लागि बिल काटिएको थियो। पहिलो- बोनम्यारो बायोप्सी र दोस्रो- एस्पिरेसन प्लस साइटोलोजी। दुवैका लागि बिलमा हरेकको पाँच सयका दरले शुल्क लिइएको थियो।
बायोप्सी र एस्पिरेसनको जाँच वीर अस्पतालमै हुने जानकारी हिस्टोलोजी/साइटोलोजी शाखाले दियो। तर, साइटोलोजी (फ्लो साइटोमेट्री)का लागि भने बोनम्यारोको नमुना बाहिर लैजानुपर्ने जानकारी बिरामीका आफन्तलाई गराइयो। अस्पतालमै उक्त जाँचका लागि मेसिन भए पनि बिग्रिएको त्यहाँ कार्यरत कर्मचारीको भनाइ थियो। त्यससँगै भनियो, 'वीरमै फ्लो साइटोमेट्री गर्न सक्दा ८ हजार रुपैयाँमै हुन्थ्यो।'
वीरमा मेसिन बिग्रिएको जानकारी दिएपछि नेपालका अन्य प्रयोगशालामा त्यसको जाँच हुनेबारे बताइएन। बरु त्यही बिलको पछाडि उनीहरूले एउटा नाम र नम्बर लेखिदिए। जसलाई सम्पर्क गर्दा जाँच गराएर ल्याइदिने उनीहरूको भनाइ थियो।
बिरामीका आफन्तले ती व्यक्तिलाई सम्पर्क गरे। अस्पतालको बेडका छिमेकी भएकाले हामीले पनि यो कुरा थाहा पायौँ। अमित जैसवाल नामका ती व्यक्तिले आफूले नमूना भारत पठाएर रिपोर्ट ल्याइदिने बिरामीका आफन्तलाई बताएका रहेछन्। त्यसका लागि उनले १७ हजार रुपैयाँ लाग्ने बताएछन्। उनीसँग बिरामीका आफन्तकै नम्बरबाट फोन गरेर जाँचबारे बुझ्यौँ। उनले 'फ्लो साइटोमेट्री'को परीक्षण गराउने कुरा आफूलाई सम्बन्धित ठाउँबाट जानकारी गराइएको बताए। सकेसम्म चाँडो त्यसका लागि प्रक्रिया थाल्न जोड दिए।
उनीसँगको छोटो संवादपछि एउटा प्रश्नले मनमा उछाल हान्यो- वीर अस्पतालमै हुने जाँच नेपालका अन्य कुनै प्रयोगशालामा अवश्य हुन सक्छ?
कुनै नेपाली प्रयोगशालामा हुने/नहुने विषयमा बुझेर ती बिरामीलाई सघाउन लागि पर्यौँ। त्यसक्रममा थाहा भयो, सरकार मातहतकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुलगायत अन्य प्रयोगशालामा समेत त्यसको जाँच हुने रहेछ। जनस्वास्थ्य प्रयोगशालाका एक विशेषज्ञसँगको संवाद गरेपछि उनले अर्को दिन साढे ९ बजे नमूनासहित बिरामीका आफन्तलाई पठाइदिन भने।
अघिल्लो बेलुकी उक्त संवाद भएपछि हामी साउन २ गते बिहान हिस्टोलोजी/साइटोलोजी शाखामा बिरामीका आफन्तसँगै पुग्यौँ। बिरामीको आफन्तका तर्फबाट मैले भनेँ, 'फ्लो साइटोमेट्री जाँच गर्ने मेसिन बिग्रिएकाले बाहिर लैजान भन्नुभएको रहेछ, हामीलाई नमूना दिनुहोस्, लिएर जान्छौँ।'
प्रयोगशालाबाट पहिले एकजना कुरा गर्न बाहिर निस्किएका थिए। हामीले कुरा गर्न खोजेको केस थाहा पाएर हुन सक्छ अर्को पनि सँगै निस्के। उनीहरूले भने, ‘यतै मेसिन बन्ला जस्तो छ। अर्को एकजनाको पनि छ, सँगै तपाईंहरुको पनि राख्छौँ। भएपछि बेलुकासम्म रिपोर्ट आउँछ। ८ हजार रुपैयाँ रिपोर्ट आएपछि तिर्नू।'
यहीक्रममा उनीहरूले वीरले दिएको सहुलियतबारे व्याख्या गर्न समेत भ्याए, 'बाहिर गर्दा महंगो पर्ने भए पनि सरकारी अस्पतालमा सहुलियत दिएर जम्मा ८ हजार रुपैयाँ मात्रै पर्छ।'
यहाँनेर केही प्रश्न उब्जिएका थिए। जुन प्रश्न मैले अस्पतालबाट घर फर्किएपछि अस्पताल निर्देशक डा सन्तोष पौडेललाई गरेको छु। (अन्तिममा संवाद छ)
१. अस्पतालको साइटोमेट्रीको मेसिन बिग्रिएको भए त्यहाँका कर्मचारीले अमुक व्यक्तिको नम्बर दिनु ठीक हो कि अन्य प्रयोगशालाबारे बताउनु? (किनभने सरकार अन्तर्गतकै जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोही मूल्यमा जाँच गरिने रहेछ। पैसा नै तिर्न नसक्ने केहीका लागि नि:शुल्क पनि जाँच हुने कुरा त्यहाँका एक अधिकारीबाट थाहा पायौं।)
२ . ल्याबमा बस्नेले त पैसाको कुरा भन्दा जाँचको कुरामा जोड गर्नुपर्नु थियो, हैन र?'
३ 'पहिले सेवा, पछि भुक्तानी' भनेको वीर अस्पालभरी त्यही विभागमा मात्रै सुनियो। यस्तै होला त?'
साउन २ गते नै रगतरोग विशेषज्ञ डा निरज सिंह राउन्डका लागि आइपुगे। बिरामीबारे बताउने क्रममा एस्पिरेसनको रिपोर्ट आएको र साइटोमेट्रीको बेलुकी मात्रै आउने जानकारी पाएको ब्रिफिङ गर्यौं। त्यसक्रममा उनको प्रतिप्रश्न थियो, 'बाहिर पठाउने कुरा थियो हैन र?' हामीले यहीँ मेसिन बनिसकेको जानकारी दिइएको बतायौँ। उनले त्यहीँबाट कसैलाई फोन गरेर जानकारी लिए।
बिरामीको अवस्थाबारे उनीसँग जानकारी लियौँ र थप बढी जानकारीका लागि वीरको क्यान्सर विभागकै एक सिनियर चिकित्सकलाई अनुरोध पनि। ती सिनियर चिकित्सकले 'एप्लास्टिक एनिमिया'को सम्भावना रहेको जानकारी आफूलाई दिइएको बताए। सेकेन्ड ओपनियनका लागि पठाउँदा अझै 'क्लिएर' नभएकाले बायोप्सी कुर्न सुझाइएको छ।
साउन ३ गते बिहानको राउन्डमा डा सिंहले उक्त रिपोर्ट दिउँसो ११ बजे आउने जानकारी आफूले पाएको बताए। हामी ढिलोगरी दिउँसो ३ बजे रिपोर्ट लिन हिस्टोलोजी/साइटोलोजी विभागमा पुग्यौँ। त्यसका लागि ४४५ नम्बर कोठामा पठाइयो। जहाँ मेसिनले काम नगरेकाले रिपोर्ट नआएको जानकारी दिइयो।
त्यसपछि फर्केर फेरि साइटोलोजी विभागमै पुग्यौँ। विभागको अग्रभागका कर्मचारीले प्रयोगशालाभित्रै गएर बुझ्न भने। त्यहाँ रहेकामध्ये एकले बिरामीका अन्य रिपोर्टले 'खासै नराम्रो संकेत' नगरेकाले डाक्टरले त्यो जाँच नै जरुरी नभएको बताएको उल्लेख गरिन्। बायोप्सी जाँच भइरहेकाले हाललाई त्यही रिपोर्ट पर्खिन भनिन्।
यहाँनेर पनि मनमा प्रश्न उठेको छ- नम्बर टिपाइएको मान्छेकहाँ नपुग्दा आर्थिक लाभ नहुने भएपछि क्यान्सिल त गरिएन?
हामीले साइटोमेट्री जाँचबारे सोधखोज गर्नुअघि नै बिरामी रिफर गर्न खोजिएको थियो। 'डिस्चार्ज पेपर' नै आधा लेखिएको थियो। 'न रोगबारे कुनै यकिन छ, न केही सुधार छ, एक हप्ता बढी अस्पतालमा भर्ना भएर बसेपछि केही नभई हामी किन जाने?' भन्ने बिरामी पक्षलाई लागिरहेको थियो।
यही बीचमा हामीले सोधखोज बढी गरेको जानकारी 'सम्बन्धित ठाउँ (सम्बन्धित व्यक्ति र ठाउँ खोज्न अस्पताल प्रशासनलाई भनेका छौँ)'मा पुगेछ क्या रे! एकाएक डिस्चार्ज क्यान्सिल भयो। बिरामीलाई रगत चढाउने प्रक्रिया अघि बढ्यो। रगत चढाएपछि बिरामीले केही आरामको महसुस गरेका छन्। बायोप्सीको रिपोर्टका लागि साउन १४ गतेको मिति तोकिएको छ र १० गते एकपल्ट सम्पर्क गर्न भनिएको छ। त्यो रिपोर्ट नआई बाँकी उपचार प्रक्रिया अघि नबढ्ने भएकाले साउन ४ गते बिरामीलाई डिस्चार्ज गरिएको छ।
यी सबै जानकारी साउन ३ गतेसम्म अस्पताल रहँदा 'बिरामी कुरुवा'को रुपमा लिइएको हो। मैले साउन साउन ४ गते पत्रकारका रुपमा निर्देशक डा पौडेललाई उपचारका क्रममा उठेका केही प्रश्न गरें:
प्रश्न १ : तपाईंको अस्पतालमा फ्लो साइटोमेट्री मेसिन बिग्रिएको जानकारी छ कि छैन? त्यहाँ बिग्रिएको भनेर अमुक व्यक्तिको नम्बर दिएर जँचाउनु भन्ने तपाईंको वैधानिक प्रणाली नै हो?
निर्देशक डा पौडेल : हिस्टोलोजीका बारेमा अलिअलि सुनेको थिएँ। साइटोलोजीका बारेमा आज थाहा पाएँ!
प्रश्न २ : उक्त विभागमा रिपोर्ट आएपछि पैसा तिर्नु भनेको सुनियो। वीरको समग्र ल्याब प्रणालीमा यो नौलो सुनियो। त्यहाँ मात्रै यस्तो प्रणाली हो?
निर्देशक डा पौडेल : उहाँहरुको (रिपोर्ट)का विषयमा कन्फिडेन्स रैन'छ भन्ने बुझ्नुपर्यो। अन्य के भएको रहेछ, म बुझ्छु।
प्रश्न ३ : जाँचका लागि बाहिर पठाउनुपर्छ भनेर एउटा व्यक्तिको फोन नम्बर उहाँहरू (ल्याबकर्मी)को हातबाट लेखिनु कत्तिको जायज हो?
निर्देशक डा पौडेल : तपाईंले बाहिर लिनुभयो त?
प्रश्न : उहाँहरूले जनस्वास्थ्य प्रयोगशालामा लैजान दिनुभएन। यहीँ ट्राइ गर्छौं भन्नुभयो। त्यसपछि त्यो जाँच नै जरुरी छैन भन्नुभयो, यो कस्तो प्रक्रिया हो?
निर्देशक डा पौडेल : यस्तो गुनासो यअसघि पनि सुनिएका हुन्। हामीले समाधानको प्रयास गरिरहेका छौँ। यस विषयमा पनि बिरामीले उजुरी गर्यो भने छानबिन गर्छौं।
000
आफ्ना रोगको उपचार गरिरहेका चिकित्सकविरुद्ध जाने हिम्मत कुनै पनि बिरामीलाई हुँदैन। भोलि सही उपचार हुन नसक्ने डरले यस्ता समस्या उनीहरू बाहिर ल्याउन खोज्दा पनि खोज्दैनन्, बरु जे-जस्तो परेपनि भोग्छन्। उनीहरुको ठाउँमा आफूलाई राखिहेर्दा पनि त्यस्तै देख्छु। त्यसैले उनीहरुको पहिचान गोप्य नै राखिएको छ।
डायरीका टिपोटलाई विस्तृतिकरण गर्दा पनि मनमा केही प्रश्न खेलिरहेका छन्:
पहिलो, दुई सय रुपैयाँको शय्या नि:शुल्क गरेर जनतामाथि 'उपकार' गरेको महशुस गर्दै मखलेल बनिरहेका अस्पतालका हाकिमहरूले 'अनावश्यक जाँच' (पछि आफैंले आवश्यक छैन भनेको)का लागि १७ हजार तिराउन खोज्नेहरूलाई के गर्लान्?
दोस्रो, भागहिस्सा माथिसम्मै पो पुग्छ कि?
तेस्रो, नेपालकै अन्य प्रयोगशालामा त्यही जाँच हुनेबारे जानकारी नदिएर विदेश पठाउन खोज्नु अविश्वास होला कि द्रव्यमोह?
पाना नं २ : सद्दे उपकरण कुन छ? 'प्राइम टाइम'मै डाउन हुन्छ फार्मेसीको सर्भर!

र अस्पतालमा 'फ्लो साइट्रोलोजी'को मेसिन 'बिग्रिएको' बहानामा बिरामीलाई दलालको जिम्मा लगाउने खेलको बेलिविस्तार 'डायरीको अघिल्लो पाना'मा गरिसकियो। वीरमा बिग्रिएको त्यो एउटा उपकरण मात्रै होइन। मैले बिरामी कुरुवाका रुपमा जाँदा देखिए/भेटिएका अन्य केही उपकरणका बारेमा यहाँ उल्लेख गर्नेछु। आफूले सेवा लिनुपर्ने हरेक ठाउँमा उपकरण बिग्रिएको सुन्दा लाग्दो रहेछ, ‘ सद्देचाहिँ के होला यहाँ?’
सुरु गरौं, फार्मेसीको सफ्टवेयर नचलेको अवस्थाबाट।
मंगलबार बिहानको ११ बज्न लाग्दैछ। म वीरको नयाँ भवनको भुइँतलामा औषधि किन्न लाइनमा छु। लाइनमा पाँच मिनेट उभिएपछि हेरेँ- पछाडि मान्छेहरू थपिने क्रम जारी छ, अगाडि घट्ने नामोनिसान छैन। त्यस्तो किन भइरहेको छ? मलाई बुझ्ना मन लाग्यो। आफूभन्दा पछाडि लाइनमा उभिएकालाई 'म यहाँ छु है' भन्दै अगाडि झ्यालनिर लागेँ। झ्यालमा रहेको भीडको एउटा कुनाबाट चिहाउँदै सोधेँ, ‘किन काम भइरहेको छैन?’
फार्मेसीका कर्मचारीले सुरुमा 'एकछिनमा हुन्छ' भने।
तर, मैले केरकार गरेँ, 'किन नभएको भन्नु न?'
उनको उत्तर थियो, 'सफ्टवेयर (सर्भर) चलिरहेको छैन।'
प्राविधिक गडबडी हुनु ठूलो विषय होइन। कहिलेकाहीँ त्यस्तो भइहाल्छ! अन्य समयमा भएको भए यस्तै बुझेर म पनि अरु बिरामीका आफन्त जस्तै निजी फार्मेसीतर्फ हिँडिहाल्थें। तर, त्यो समय फार्मेसीका लागि 'प्राइम टाइम' रहेको मैले अस्पताल बसाइका क्रममा महसुस गरेको थिएँ।
वार्डमा भर्नारत बिरामीका आफन्तले औषधि लेखिएको कागज पाउने समय १०:१५ देखि १२ बज्नुअघिसम्म हो। किनभने चिकित्सकले बिहानको 'राउन्ड' यसअघि गर्छन् र अवस्था अनुसार भर्ना फाइलमा औषधि सिफारिस गर्छन्। त्यो औषधि कागजमा उतार्न नर्सलाई केही समय लाग्छ। १२ बजेअघि नै बिरामी कुरुवाले औषधि ल्याइसक्नुपर्छ। किनकि भर्नारत बिरामीले खानापछि खाने बिहानका औषधि १२ बजे खुवाउने प्रचलन छ।
सामान्यतया: ओपिडीमा चाप हुने समय पनि बिहान १० बजेपछिका दुई/तीन घन्टा हो। त्यसैले ११ बजे आसपासको समय अस्पतालको फार्मेसीमा असाध्यै भीड हुन्छ। त्यहीबेला फार्मेसीको सफ्टवेयरमा गडबडी आउने संयोगलाई सामान्य रुपमै लिँदा पनि भइहाल्थ्यो। तर, एक ठाउँ गडबड लागेपछि अन्यत्र पनि शंका जाग्ने रहेछ। मनमा प्रश्न जाग्यो, ‘यो सफ्टवेयरले ११ बजेकै आसपास पारेर किन बिग्रिनुपरेको?’
हतार भएकाहरू, जरुरी परिहालेकाहरू र लाइन बस्न झिंजो मान्नेहरू त्यहाँबाट फटाफट बाहिरिन थाले। १२ बजेसम्म औषधि वार्डमा पुर्याँए हुने जानिसकेको मलाई सफ्टवेयर बनेको हेरेरै जाने इच्छा जाग्यो। त्यसैले मैले कुरेँ। बेला-बेला गएर सोधिरहेँ। ११ बज्नुअघि कतिबेला बिग्रियो थाहा पाइएन, ११ बजेपछि भने बन्न झन्डै २० मिनेट लाग्यो। त्यहाँ कुरिरहेकाहरू भने आधा घन्टा भन्दा बढी सफ्टवेयर चलेन भन्थे। त्यति समयमा सेवा बढीमा १५ देखि २० जनाले पाउँथे होलान्। तर, सफ्टवेयर बिग्रिएको सुनेर बाहिर जानेको संख्या भने कम्तिमा ५० भन्दा बढी भयो होला। त्यो दिन मैले ४८ मिनेट धैर्य गरेपछि औषधि पाएँ।
वीरको फार्मेसीमा पाइने भन्दा नपाइने औषधिकै सूची लामो होला। 'पाइँदैन' भनेर मार्करले संकेत गरेका औषधि सूची लामो हुने भएपछि बिरामीका आफन्तहरू लाइनमा बस्नु पहिले झ्यालमा चिट देखाएर सोध्छन्, ‘यो औषधि यहाँ पाइन्छ?’ त्यसको जवाफ पाउन पनि समय नै लाग्छ। किनकि त्यो झ्यालमा बिल बनाउने एकजना हुन्छन् र जोसँग बिल बनाउनै भ्याइनभ्याइ हुन्छ। त्यहाँ औषधि किनिरहेको पाँच दिनमा मलाई लाग्यो, ‘चाहिने औषधिको संख्या थपेर निजी फार्मेसीको व्यापार घटाउनतिर अस्पतालका हाकिमसाबलाई के जाँगर चल्ला? बरु 'औषधि सोधपुछ' भनेर छुट्टै एउटा काउन्टर खोलिदिएको भए सहज हुन्थ्यो कि?’
त्यस्तो काउन्टर खोल्दा एउटा निकटस्थलाई रोजगारी दिन पनि सहज हुन्छ। यसै पनि वीरमा 'हाकिमहरू'का मान्छेको रजगज देखिन्छ।
अघिल्लो दिन (सोमबार) मेरो छिमेकी बेडमा रहेकी एकजना बुढीआमैको सिटी स्क्यानको रिपोर्ट लिन त्यही फार्मेसीको छेउमा रहेको काउन्टरमा पुगेको थिएँ। अघिल्लै दिन गरिएको भएर उनको रिपोर्ट पाइयो। मैले रिपोर्ट लिइरहेको समय सोमबार दिउँसो २:३८ बजेको थियो। त्यो रिपोर्ट लिइरहँदा एकजना महिला सिटी स्क्यानबारे बुझ्न आइपुगिन्। ओपिडी कार्ड हेर्दै काउन्टरमा बस्नेले उनको मोटोपनमाथि मजाक गरे, ‘तपाईंलाई त तौल घटाउन पो भनिएको रहेछ!’ ती महिलाले ठट्टाकै रुपमा बुझिन् र सिटी स्क्यान गर्न चिकित्सकले सिफारिस गरेको समेत हेर्न संकेत गरिन्।
त्यसपछि उताबाट जवाफ आयो, ‘सिटी स्क्यानको प्रिन्टर बिग्रिएको छ।’ भोलिपल्ट (मंगलबार) मेरै बिरामीको विपरीत दिशामा रहेको बेडको बिरामी भेट्न दुईजना आइपुगेका थिए। उनीहरूले सिटी स्क्यानका लागि समय पनि लिएका रहेछन्। बिग्रिएको जानकारी दिइएपछि 'कत्रो काम छाडेर आइयो' भन्दै निराश भएर फर्किए।
दुई दिनसम्म सिटी स्क्यानको प्रिन्टर नबनेको सुनेपछि थप बुझ्न मन लाग्यो। अस्पतालमै रहेका चिनजानका एक कर्मचारीसँग आफ्नै आफन्तको भएकाले बुझिदनि आग्रह गरेँ। उनले 'तपाईंकै बिरामीको हो भने ल्याएर आइहाल्नू' भने। त्यसपछि थाहा पाइयो, अर्को सिटी स्क्यान मेसिन पनि रहेछ। उता बिग्रिँदा त्यसबाट सेवा लिन सकिने रहेछ। तर, बिरामीलाई भने बिग्रिएको जानकारी दिइन्छ, अर्को पनि रहेकोबारे उल्लेख गरिँदैन। समय पहिल्यै लिएका दु:ख पाइरहन्छन्, समय नलिएकाहरु निजीमा पुगेर महंगो तिर्ने बाध्य हुन्छन्।
०००
मेरो बिरामी पुरानो बिल्डिङस्थित दोस्रो तलामा रहेको फिमेल मेडिकल वार्डमा राखिएको थियो। तेस्रो तलासम्ममा बिरामीलाई राखिने गरिन्छ। बिरामीलाई तलमाथि गर्न मात्रै होइन, खाना समेत ल्याउने त्यही लिफ्टबाट गरिन्थ्यो। त्यो आइतबारदेखि लिफ्ट बिग्रियो। मंगलबार बेलुकी म घर फर्किँदासम्म बनिसकेको थिएन। सोमबार बिहानै प्रशासनलाई जानकारी गराउँदा पनि उचित 'रेस्पोन्स' भएन। (बुधबार बनाइएको जानकारी अस्पताल निर्देशक डा सन्तोष पौडेलले दिएका छन्।)
त्यो लिफ्ट नबन्दा बिरामीहरूले दु:ख पाए। त्यसमध्ये एकजना जन्डिसको लक्षण देखिएकी तर असाध्यै थलिएकी महिलालाई अन्तै सिफ्ट गर्नुपर्ने भयो। बिरामीका कुरुवा महिला मात्रै थिए, ओसार्न लिफ्ट थिएन। त्यसपछि त्यहाँ उपलब्ध अन्य बिरामीका ६ जना कुरुवाहरूको सहयोगमा बोकेर सिफ्ट गर्नुपर्यो । बिरामीले खाना लिन माथिल्लो तलाबाट पहिलो तलामै झर्नुपर्यो ।
एकजना किशोरले आमालाई उपचारका लागि त्यही वार्डमा भर्ना गरेका थिए। उनी आफैं कुरुवा थिए, जसको एउटा खुट्टाले त्यडति भर दिँदैनथ्यो। घरी रिपोर्टको बिल काट्न, घरी रिपोर्ट लिन, घरी औषधि लिन ओहोरदोहोर त गर्नैपर्यो्। एकदिन उनी नर्सका अगाडि डाँकै छाडेर रोए। उनको भनाइ थियो, 'लिफ्ट पनि चलेको छैन। ल्याउनुपर्ने औषधि र गर्नुपर्ने जाँच एकैपटक गराइदिनुभए सहज हुन्थ्यो।'
म आफैं बिरामी कुरुवा थिएँ। त्यसैले बिरामीका लागि धेरै समय दिनुपर्ने नै भयो। अन्य कहाँ-कहाँ के बिग्रिएका छन् भनेर सोधखोज गर्ने समय प्राप्त भएन। जहाँ पुगें, त्यहीँ बिग्रिएको सुन्न थालियो। मलाई अस्पताल रहुन्जेल लागिरह्यो, ‘यहाँ सद्देचाहिँ के होला?’
पाना नं ३ : वीरकै कर्मचारीले नबुझेको 'सिस्टम' र त्यही 'सिस्टम'ले गरेको एउटा 'हत्या'

वीर अस्पताल डायरीका अघिल्ला पानाहरुमा उपकरण बिग्रिदा (समयमै नबनाउँदा)/बिगारिँदा बिरामीले पाउने दु:ख प्रस्तुत गरियो। त्यही बहानामा कमाउ धन्दा चलाउने केही डाक्टरको नियत उजागर गरियो। आजको पानामा त्यहाँको प्रणालीमा रहेका कमजोरीले दिने दु:खहरु केलाउने प्रयास गर्नेछु। प्रणालीले गर्दा मेडिकल वार्डमै मृत्युवरण गर्नुपर्ने बाध्यता प्रस्तुत गर्दैछु।
टाइफाइडको बिरामीका लागि गरिने जाँच र पुग्नुपर्ने ठाउँ सिमित हुन्छन्। त्यसैले जति झन्जट अरु गम्भीर समस्या लिएर आउने बिरामीले भोग्छन्, त्यति मैले भोगेको छैन। तर, मेरा भोगाइको आँखीझ्यालबाट नियाल्ने हो भने वीरको प्रणालीमा ठूलो परिवर्तन जरुरी छ।
जस्तो त्यहीँका कर्मचारीले आफ्नै उपचारमा हैरानी खेपेपछि भनेका थिए- आफैंलाई नपरी यहाँको सिस्टम बुझ्न नसकिने रहेछ!
सोमबार बिहानको कुरा हो यो। आइतबार बेलुकी नै आउनुपर्ने आइरन प्रोफाइलको रिपोर्ट सोमबार बिहानसम्म नआएपछि म खोज्दै पुरानो भवनको चौथो तलमा उक्लिएको थिएँ। रिपोर्ट प्रिन्ट गर्ने शाखामा बस्ने कर्मचारीकहाँ आइतबार बेलुकी नै पटक-पटक पुगें। बारकोड दिने ठाउँबाट आइतबार बेलुकी नै 'भेरिफाइ'को क्रममा रहेकाले १० मिनेट कुरेर रिपोर्ट लिन भनिएको थियो। १५ मिनेट कुरें तर आएन र काउन्टर नै बन्द हुने समय हुन थालिसक्यो। डाक्टर राउन्डमा आउने समय घर्किसकेकाले अर्को दिन बिहान लिनेगरी वार्डतिरै लागें।
अर्को बिहानसम्म पनि नआएपछि रिपोर्ट प्रिन्ट गर्ने काउन्टरका कर्मचारीले चार तला माथि रहेको कोठाको बाटो पहिल्याइदिएका थिए। उनलाई लाग्यो होला- जरुरी नै भएर यसले पटक-पटक धाइरहेको छ! उनले सुझाए- एकपल्ट पुरानो भवनको चौथो तलामा रहेको ४३८ नम्बर कोठामा बुझिहेर्नु न।
वीर अस्पतालले सेवा ८ बजेदेखि दिन थालेको दोस्रो दिन थियो। त्यसैले कर्मचारी अभ्यस्त थिएनन्। मेरो रिपोर्ट अड्किएको हेर्ने कर्मचारी पुगिनसकेकाले त्यहाँ रहेकी एकजना महिला कर्मचारीले ४३४ मा बुझ्न पठाइन्। त्यहाँस्थित कर्मचारीले भनिन्, 'मैले त हिजै पठाइसकेको। भेरिफाइ भएको छैन कि? म बुझेर आउँछु।'
उनले मार्करले मेरो बिरामीको नामसमेत एउटा कागजमा पछाडि लेखेकी थिइन्। कागजको चाङको माथि नै रहेकाले देखाइहालिन्। सहयोगी स्वभावकी रहिछन्, मेरो कागज लिएर सम्बन्धित शाखामा उनी आफैं बुझ्न गइन्।
त्यही क्रममा एकजना भलाद्मी त्यहाँ आइपुगे। उमेरले ५० को उकालोतिर हिँडिरहेको देखिने उनी पनि मजस्तै रिपोर्ट खोज्न त्यहाँ पुगेका रहेछन्। साँघुरो कोठामा अतिथिका लागि त्यहाँ जम्मा एउटा कुर्सी उपलब्ध थियो। जहाँ म बसिरहेको थिएँ। आफूभन्दा बढी उमेरको मान्छे उभिइरहेको हेर्न सकिनँ। मैले उनीतिर संकेत गर्दै भने - सर बस्नुहोस्।
उनी फरासिला स्वभावका रहेछन्, प्रतिउत्तरमा भने, 'धेरै बसेरै ज्यान यस्तो (उपचार गराउनुपर्ने/मोटो) भयो। तपाईं नै बस्नुहोस्।'
उनले यही क्रममा हैरानी पोखे- आफैंलाई नपरी हाम्रो अस्पतालको सिस्टम बुझ्न नसकिने रहेछ! वीर अस्पतालको उल्झनमाथिको उनको सटिक टिप्पणीले अस्पताल बसुन्जेल मन हल्लाइरह्यो।
अस्पतालमा जे लेखिएको हुन्छ, त्यो समेत प्राप्त नहुने अनेक काउन्टर छन्। बिल तिर्ने काउन्टरमा मैले दुईपल्ट लाइन लाग्नुपरेको छ। जहाँको झ्यालमा लेखिएको छ - वी एसेप्ट फोन पे (हामी फोनबाटै भुक्तानी स्वीकार्छौं)।
त्यही देखेर गोजीमा क्यास नभएपनि रिपोर्टका लागि बिल काट्न आधाघन्टा लाइनमा बसें। काउन्टरमा पुगेपछि कर्मचारीले 'फोन पे' अस्वीकार गरिन्। क्यास नै ल्याउन भनेपछि हतास हुँदै एटिएम खोज्न भौतारिएँ। बाहिर त्यहीँ बैंकको एटिएममा समेत समस्या थियो। त्यसपछि ट्रमा सेन्टरको गेटमा रहेको अर्को बैंकको एटिएमबाट पैसा ल्याएर अर्को आधा घन्टा लाइनमा बसें।
अस्पतालबाहिर ओपिडी टिकट अनलाइनबाट काटिने माइकमा फुक्य्या फुक्यै गरिएको हुन्छ। प्रयोगशाला परीक्षणकै कुरा गर्ने हो भने तेहरो लाइन झेल्नुपर्छ। औसतमा २० मिनेटका दरले एकघन्टा समय त्यहीँ बित्छ। उदाहरणका लागि बिल काट्न २० मिनेट, बारकोड लिन २० मिनेट र परीक्षणका लागि रगत दिन २० मिनेट।
०००
गत मंगलबार वार्डमा नर्सहरुहरुले भने- सवै बिरामी कुरुवा बाहिर जानुपर्ने भयो।
कुरुवामध्येका कसैले प्रतिप्रश्न गरे- किन? नर्सहरुमध्ये एकले भनिन्, 'ठूलो डाक्टर (प्रोफेसर) आउँदैछन्।' हामीमध्येका एकले ठूलो डाक्टर भेट्ने इच्छा जाहेर गरे।
तर, अस्पताल 'सिस्टम'मा उनको केही लागेन। खाना खाने समय परेकाले मैले त्यसलाई अवसरका रुपमा लिएर बाहिरिएँ। त्योबेला ती प्रोफेसर आउन भ्याएनन्। १५ मिनेट कुरुवाले भर्याङ कुरेपछि प्रोफेसर आउन भ्याएनन् भन्ने सुनिएछ। फेरि अर्को समयमा हामी बाहिर निस्किनुपर्यो।
त्यो सिस्टम उनीहरुको हो, हानी नगरुन्जुल चलोस् भन्ने लाग्यो। एकजना बिरामीको त्यही समयमा सिटी स्क्यानको समय रहेछ। बाहिर निस्किनु भन्ने फर्मानका अघि उनको केही चलेन र बाहिरिए। उनी पनि समयको सदुपयोग गर्न खाना खान गएछन्। त्यही बेला उताबाट बिरामी ल्याइदिन भनिएको रहेछ। नर्सले भर्याङतिर खोजेछन्। आफन्त भेटिएनन्। बिरामीको जाँच भएन।
फर्किएर आएपछि ती आफन्तले आफ्नो बिरामीलाई सिटी स्क्यानका लागि लैजान खोजे। तर, लिएको समय घर्किएको भन्दै शुक्रबार मात्रै समय मिल्ने बताइयो। उनीहरुले बाझ्नुसम्म बाझे तर कर्मचारीले समेत नबुझ्ने सिस्टममा उनको जोर चलेन।
०००
त्यसअघि आइतबार एक ९६ वर्षीया महिलाले फिमेल मेडिकल वार्डमै देहत्याग गरिन्। शुक्रबार म पुग्दा त्यहाँ भर्नारत थिइन्। कुनै समय पनि उनको ज्वरो १०२ भन्दा तल झरेन। १०५ सम्म पुगिरहन्थ्यो। श्वासप्रश्वासमा समस्या थियो। उनको अवस्था हेर्दा मेरा सामान्य दृष्टिले आइसियु वा भेन्टिलेटरमा राखेर उपचार गर्न जरुरी लागेको थियो।
चिकित्सकका विशेषज्ञ आँखाले पनि त्यही देख्नुपर्थ्यो भन्ने मेरो बुझाइ थियो र छ। तर, त्यसो गरिएन। वा चिकित्सकले सल्लाह दिएर पनि आफन्तले मानेनन्?
मेरो सामान्य ज्ञानबाट उब्जिएको विचारले भनिरहेको थियो- बिरामी कि इमर्जेन्सीमा उपचार गर्न खोज्दा खोज्दै सम्भव नभएपछि मर्न सक्छ, कि आइसियु वा भेन्टिलेटरमा विज्ञानका खोजले नधानेर!'
अस्पताल पुगेको केही दिनपछि सामान्य वार्डमै बिरामीको मृत्युवरण मैले सामान्य रुपमा लिन सकिनँ। जस्तो अस्पतालको प्रणाली र आफन्तले सामान्य रुपमा लिए। न दोष यहाँ चिकित्सकको हो, न आफन्तको नै। यहाँनेर 'सिस्टम फेल' देखें मैले। बिरामीको अवस्था गम्भीर देख्दा-देख्दै पनि, उल्लेख्य सुधार आएको नेदेखिँदा देखिदै पनि वार्डमै राखेर उपचार गरिने प्रणाली कसरी सही हुन सक्छ? - प्रश्नले आफैंलाई बिझाइरह्यो। ती वृद्धा आँखामा झलझली आइरहेकी छिन् र अहिले पनि मनले प्रश्न गरिरहेको छ- त्यो 'सिस्टम'ले गरेको 'हत्या' थिएन र?
पाना नं ४ : सलाम सिस्टर रविना, मिस्टर ग्रेन!

लेख्दै जाँदा लागिरहेको छ- वीर अस्पताल (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान)को 'वीरगाथा' हजार जिब्रा भएका शेषनागले समेत भनेर नभ्याउने जति रहेछ! डायरी छापिन थालेपछि त्यही अस्पतालका अन्य विभिन्न विभागमा आफूलाई ठगिएको महशुस गरेका थुप्रै बिरामी र तिनका आफन्तले गुनासो पोखेका छन्। वीर र ट्रमा सेन्टरका अप्रेशन थिएटर बाहिर सहज पहुँच पाउने दलाल र कतिपय चिकित्सकले नै टिपाउने नम्बरलाई लिएर 'स्टिङ अप्रेसन' गर्नैपर्ने त्यहाँस्थित कर्मचारीको अनुरोध छ।
वीर अस्पताल वरीपरी नै पाइने महंगो औषधिका लागि समेत दरबारमार्गतिर भेटिने दलालकहाँ पठाउने चिकित्सकको नाम टिपाइएका छन्। वीर अस्पतालमा 'भनसुन'का आधारमा पाइने 'भीआइपी' सेवा र अप्ठ्याराका फेहरिस्त बताउनेहरु प्रशस्त भेटिन थालेका छन्। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको बीपी प्रतिष्ठान, कैलालीको सेती अस्पताललगायतबाट समेत फोन आइरहेका छन्। त्यहाँको हालबारे समेत उजागर गर्न अनुरोध भइरहेका छन्।
अस्पताल सेवाका लागि खुलेका हुन्। सरकारी अस्पताल त अझ आर्थिक रुपमा विपन्नहरुको भरोसाका केन्द्र हुन्। जीवनभर दु:खजिलो गरेर कमाउँदै पटुकीमा गाँठो पारेर सञ्चय गरेको पैसासमेत असुल्न खोज्नेहरुको नियत सम्झिदा सवैको मनमा गाँठो पर्छ। त्यही गाँठो मैले यसअघि शब्दमार्फत् फुकाएँ। वीरलाई अझै राम्रो बनाउने योजना बनाइरहेका नेतृत्व तहलाई आफ्नो प्रणालीमा आफैंले नदेखेका कमजोरी अवगत भयो होला। आगामी दिनमा सुध्रिने अपेक्षा छ।
सुधारका लागि उठेको एउटा औंलो पूरै हात होइन। चार औंला रहेको अरु हत्केलो बाँकी नै छ। दूरदराजबाट आउने बिरामीका लागि नि:शुल्क बेड मात्रै होइन, खाना समेत दिएर उपचार गरिरहेको अस्पताल प्रशंसाका लागि पनि उत्तिकै लायक छ। केहीलाई छाड्ने हो भने त्यहाँ धेरै त्यस्ता डाक्टर छन्, जसले वर्षौंदेखि मयल कट्कटिएर कठालो चम्किरहेको कोटको गोजी भित्रबाट निस्किने सफा नोटको महत्व बुझेका छन्। केही त्यस्ता नर्स छन्, जो 'फ्लोरेन्स नाइटिङ्गेल'को जीवनीबाट प्रभावित छन्। यिनीहरुकै कारण वीर अस्पताल शहरको बीचमा अझै चौडा छातिसहित उपस्थित छ।
उनीहरुकै इमान्दारिता, सेवाभाव र लगनशीलनता निरन्तरका कारण वीर (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समेत) को हाकिम हुन साम, दाम, दण्डभेद लगाउनेहरुको लाइन लाग्छ। अरुबेला वास्ता नगर्ने शितलनिवास, बालुवाटार र रामशाहपथ नियुक्तिका समयमा असाध्यै सक्रिय बन्छन्।
नेतृत्व गर्नेका लागि मात्रै होइन, जागिर खानेहरुका लागि पनि वीर आकर्षक थलो हो। म अस्पताल रहेका बेला भेट्न आइपुगेका मित्र बुद्धि कट्टेलको यस विषयमा सटिक टिप्पणी थियो- यो बिरामीका लागि होइन, डाक्टरका लागि आकर्षक अस्पताल बन्दै गइरहेको छ! यहाँ (न्याम्स : वीर र ट्रमा) 'सेवा' गर्न नपाउँदा 'झुन्डिएर मर्न तयार' डाक्टर छन्, यहीँ सेवा नपाएर मर्ने बिरामीहरु पनि छन्। अवस्था बडो विरोधाभाष छ।
यति हुँदाहुँदै पनि यहाँ केही त्यस्ता डाक्टर र नर्स छन्, जसले सेवाको अर्थ बुझेका छन्। वीर अस्पतालका बाध्यता महशुस गरेका छन्। बिरामीका शरीरको मात्रै होइन, मनको घाउको गहिराइ नापेका छन्। तिनैमध्ये एउटा हुन्, नर्स रविना थापा। हामी अस्पतालमा बसिरहँदा फिमेल मेडिकल वार्डमा उनको ड्युटी थियो। उनी ड्युटीमा आउँदा बिरामी र कुरुवा दुवैको अनुहार उज्यालिन्थ्यो। बिरामीलाई सकेसम्म सहजीकरण गर्नेदेखि लिएर मुस्कुराएर गर्ने उनको काउन्सिलिङका वार्डभरी 'फ्यान' भेटिन्थे। उनको ड्युटीको समयमा कुरुवाहरु 'निर्धक्क' महशुस गर्थे।
किनभने केही पर्दा बोलाउन गएमा उनी 'आइहालें' भन्थिन्। आफू र आफ्नो टिमबाट सकेसम्म द्रूत सेवाका लागि उनको प्रयास हुन्थ्यो। बिरामीको अवस्थाबाट आत्तिएर जतिपल्ट 'नर्सिङ स्टेसन'को झ्यालमा चिहाएपनि उनले 'झर्कोफर्को' गर्न जानिनन्।
सुरुमा मैले अन्य बिरामी कुरुवाबाट उनीबारे सुनें। उनको ड्युटी सुरु भएपछि छिमेकी कुरुवाले भने, 'रविना सिस्टर आउनुभयो। अब ढुक्क भयो।' पछि आफूले पनि महशुस गरें। उनले नर्सिङ मनैदेखि रोजेको जस्तो व्यवहार देखिन्थ्यो। एचए पढिरहेकी एउटाले बिरामीलाई औषधि दिने क्रममा उनले सोधिन्, 'तपाईंलाई नर्सिङ पढ्न मन लागेन?' म नजिकै बसिरहेको थिएँ। संवाद प्रष्टै सुनिरहेको थिएँ। बिरामीले पहिले सिएमए पढेका कारण एचए रोजेको उत्तर दिइन्। मलाई लागिरह्यो- रविना सिस्टर जस्तै नर्सहरु प्रत्येक अस्पतालमा भेटिने हो भने हरेक आमाबुवाले छोरीलाई नर्स बनाउन चाहन्छ। हरेक दाजु बहिनी नर्स भएको हेर्न चाहन्छ! उनीहरुको संवाद भन्दा वरै रहेको मैले बोली मिसाउन सकिनँ।
वीर अस्पताल बसाइका पाँच दिनलाई सहज बनाइदिने 'सिस्टर रविना' जस्तै अर्को पात्र थिए, 'मिस्टर ग्रेन डंगोल।' जो श्रीमतीको कलेजोको समस्याका कारण त्यही वार्डमा भर्ना गरेर उपचार गराइरहेका थिए। रोगको प्रष्ट निदान अझै भइनसकेको अवस्थामा उनीसँग तनावको चाङ थियो। वार्डमा उनको सक्रियता हेर्दा लाग्थ्यो- अन्य बिरामीको उपचारका लागि खटाइएका व्यक्ति हुन्। आफ्नो तनाव तपसिलमा राखेर उनी अन्य बिरामीको सहयोगका लागि हरदम तयार भइहाल्थे।
आफ्नो बेड वरपरका बिरामीका आफन्तलाई उनी भन्थे- 'तपाईंहरु आराम गर्नुहोस्। म हेर्छु। केही परे उठाउँला।'
उनी रिपोर्ट लिनेदेखि बिरामीलाई खाने खुवाउने काममा समेत अरुलाई सहयोग गर्न अघि बढिहाल्थे। कोही नयाँ भर्ना भएर आउँदा वार्डमा रहेको प्रक्रियासँग उनी सहजीकरण गरिदिन्थे। आफ्नै व्यथाले ओछ्यानमा लम्पसार बिरामीलाई हसाउन उनी हरदम प्रयास गरिरहन्थे।
दिनभर बिरामी हेरचाहको खटाइपछि आफू वरीपरिका ६ बेडका कुरुवाका लागि उनले बेलुका तयार गर्थे, स्पशेल कफी। उनको त्यही स्वभावले हामी बसेको वार्ड अस्पताल जस्तो पटक्कै लागेन। एउटा गाउँजस्तो महशुस भयो! पाँच दिनको अस्पताल बसाइँ पट्यारलाग्दो पनि बनेन।
हामी डिस्चार्ज हुने दिन उनी खुशी थिए। हाम्रो बिरामी घर फर्किदा उनलाई आफ्नै मान्छे निको भएजस्तो महशुस भइरहेको थियो। हाम्रो झिनीगुन्टा बोकेर उनी सडकसम्मै छाड्न आए र फोन नम्बर दिँदै भने- केही पर्दा सम्झिनु। उनको व्यवहारले केही पर्दा होइन, नपर्दा झन् बढी सम्झिने बनाइसकेको थियो।
र, वीर अस्पताल डायरी यहीँ टुंगिन्छ- सलाम सिस्टर रविना, मिस्टर ग्रेन!