युनिभर्सिटी अफ दि वेष्ट अफ इंग्ल्याण्डका रिसर्च फेलो डा पुष्पराज पन्त नासा फाउण्डेसन र नेक्सस इन्ष्टिच्युट फर रिसर्च एण्ड इनोभेसन (निरी) सँग पनि आबद्ध छन्। नेपालमा बढ्दो मोटरसाइकल दुर्घटना र त्यसबाट हुने जनधनको क्षति काम गर्न हेल्मेटको प्रयोगबारे डा पन्तसँग गरिएको कुराकानीः
सवारी सुरक्षाको दृष्टिकोणले मोटरसाइकल एउटा उच्च जोखिमयुक्त सवारी ठानिन्छ। किन ?
हो, यसको बनावट र तीव्र गतिमा गुड्न सक्ने क्षमता भएको कारणले इञ्जिन भएका दुई पाङ्ग्रे वा मोटरसाइकल सबैभन्दा असुरक्षित यातायातको साधन मानिन्छ। सडकको अवस्था नाजुक भएका स्थानहरुमा मोटरसाइकलको यात्रा अझै उच्च जोखिमयुक्त हुन्छ। हुन पनि सडकमा बालुवा, गिटी, पानी वा तेल पोखिएको वा खाल्डा परेको अवस्थामा वा हिउँ जम्ने चिसो ठाउँमा मोटरसाइकल दुर्घटनाको धेरै भेटिन्छ। ससाना कारणले पनि मोटरसाइकल दुर्घटना गराउन सक्छन्।
नेपालमा सार्वजनिक यातायातको अवस्था नाजुक भएका कारण धेरै मानिसहरु यसको प्रयोग गर्न विवश छन्। मोटरसाइकलमा चालक वा पछाडि बस्ने यात्रुलाई सुरक्षित राख्न कुनै रक्षात्मक संरचना हुँदैन। कदाचित दुर्घटनामा परिहाल्यो भने पनि चालक वा यात्रुलाई गम्भीर घाइते हुने गरी चोट पटक लाग्ने वा मृत्यु हुने उच्च सम्भावना रहन्छ। खासगरी टाउकोमा लाग्ने चोटका कारण घाइतेको अवस्था उच्च जोखिममा रहन्छ। दुर्घटना हुँदा टाउको कुनै वस्तु वा सडकमा ठोक्किएर देखिने गरी घाउ हुने वा टाउको बेगले हल्लिएका कारणले नदेखिए पनि दिमागमा चोट लाग्छ।
टाउको सडक वा कुनै वस्तुमा ठोक्किने क्रममा एक्कासि हल्लिएर खप्पर भित्रै ठोक्किएर पनि दिमागमा चोट लाग्छ। टाउको वा दिमागमा चोट लागेका धेरै मानिसहरु सध्दे देखिए पनि तिनले कुनै न कुनै क्षमता नफर्कने गरी गुमाएका हुन्छन् भने कतिको मानसिक अवस्था र व्यवहारमा पनि परिवर्तन आएको पाइन्छ। यसको असरले उनीहरुको सामाजिक जीवनको गुणस्तरमा ह्रास आउँछ। त्यसैले मोटरसाइकल चलाउँदा वा पछाडि बसेर यात्रा गर्दा गुणस्तरीय हेल्मेटको अनिवार्य प्रयोग गरेमा टाउकोलाई चोट लाग्नबाट बचाउँछ।
नेपालमा मोटरसाइकलजन्य दुर्घटनाको स्थिति कस्तो छ ?
देशभर चल्ने यातायातका साधनमध्ये मोटरसाइकलले लगभग ७५ प्रतिशत हिस्सा ओगटेको छ। फलस्वरुप देशभर हुने दुर्घटनामा परेका सवारी साधनको ५१ प्रतिशत मोटरसाइकल नै पाइन्छ। आव २०७८÷७९ मा देशभरि दुर्घटनामा परेका ३७ हजार ५६६ मध्ये १९ हजार ९७४ मोटरसाइकल मात्रै रहेको तथ्यांकले देखाउँछ।
सामान्यतया नेपालमा पछाडि बस्ने यात्रुले हेल्मेट लगाउँदैनन्। चालु आव २०७८÷०७९ मा काठमाडौं उपत्यकामा सडक दुर्घटनामा ज्यान गुमाएका १९१ जनामध्ये ८२ जना मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका थिए। ती ८२ मध्ये पनि ३१ जना पछाडि बस्ने रहेका थिए। त्यस्तै ४ हजार ४४२ चालक र एक हजार ८१८ जना पछाडि बस्ने घाइते भएको तथ्यांक छ। त्यसैगरी ६ हजार २६० जना मोटरसाइकल प्रयोगकर्ता घाइते भएकोमा लगभग एक तिहाई पछाडि बस्ने यात्रु रहेको प्रहरीको तथ्यांकले देखाउँछ। तर तथ्यांकको विश्वसनीयतामा पनि शंका गर्न सकिने प्रशस्त ठाउँ छ।
उपलब्ध तथ्यांकले वास्तविकभन्दा निकै कम घाइतेको अभिलेख राखेको हुनसक्ने देखिन्छ। काठमाडौँ उपत्यका, कोशी र मधेस प्रदेश बाहेकका पाँच वटै प्रदेशमा दुर्घटनामा पर्ने मोटरसाइकलको दैनिक औसत संख्या जोडेर ८ वटा मात्र छ, जुन कोशी प्रदेश एक्लैमा झण्डै दोब्बर १५ वटा छ भने काठमाडौँ उपत्यकामा दैनिक २३ छ। सुदूरपश्चिम प्रदेशभसर औषत १ भन्दा कम मोटरसाइकल दुर्घटना पर्ने देखिन्छ, जुन पत्याउन मुस्किल छ।
हालसालै नासा फाउण्डेसनले गरेको एक अनुसन्धानले काठमाडौँ उपत्यकाका केही अस्पतालमा उपचाररत मोटरसाइकल दुर्घटनाका घाइतेका बारेमा गरेको अनुसन्धानबाट पनि मोटरसाइकल दुर्घटनाले हुने भयावह क्षतिको संकेत गरेको छ। घाइतेहरूमध्ये अधिकांश १८ देखि ४० वर्ष उमेर भित्रका पुरूषहरू थिए । चालकमध्ये १४ प्रतिशतलाई टाउको वा स्पाइनमा चोट लागेको पाइयो भने पछाडि बस्ने यात्रुमध्ये लगभग ४० प्रतिशतलाई टाउको वा स्पाइनमा चोट लागेको थियो।
घाइते २७ यात्रुमध्ये जम्मा २ जनाले मात्र हेल्मेट लगाएको बताएका थिए भने चालकहरूमध्ये ९४ प्रतिशतले हेल्मेट लगाएको बताएका थिए। अतः हेल्मेट लगाउँदा कम मानिसलाई टाउकोमा चोट लाग्छ भन्ने देखिन्छ। यात्रुहरूको टाउकाको चोटको विश्लेषण गर्दा हेल्मेट नलगाएका घाइतेहरूमा ७५ प्रतिशतमा खप्पर फुटेको वा दिमागमा रक्तस्राव (ब्रेन हेमरेज) भएको पाइएको थियो।
मोटरसाइकल सवारीलाई कसरी सुरक्षित बनाउन सकिन्छ ?
दुर्घटना हुनै नदिने गरी सडक पूर्वाधार वा सडक संरचनामा सुधार गर्न सकियो भने दुर्घटना स्वतः घटेर जान्छ। यस्तै सार्वजनिक यातायातलाई सर्वसुलभ र सहज बनाउन सकेमा मानिसले मोटरसाइकल प्रयोग नै गर्नु पर्दैन। त्यसकारण मानिसलाई मोटरसाइकल प्रयोगको जोखिमबाट बचाउन सकिन्छ। तर यस्ता कामहरू खर्चिला वा बढी लागत पर्ने हुन सक्छन्। अतः मानिसको बस्ती भएर जाने विभिन्न सडक र गल्लीहरूमा अधिकतम गति सीमा निर्धारण गरेर मोटरसाइकल लगायत अन्य साधनहरूलाई तीव्र गतिमा चल्नबाट नियन्त्रण गर्न सकिन्छ। सामान्यतया ३० किमी प्रतिघण्टाको गतिलाई सुरक्षित मानिन्छ। प्रविधिको प्रयोग गरेर गति सीमा सम्बन्धी नियम उल्लंघन गर्नेहरूलाई सीसीटीभीको माध्यमबाट पक्रेर कारबाही गर्ने उपाय पनि अपनाउन सकिन्छ।
यसैगरी मादक पदार्थ वा लागुपदार्थ सेवन गरी मोटरसाइकल चलाउनेलाई कडा कारबाही गर्ने अर्काे उपाय हो। त्यसैगरी चालक स्वयंले मोटरसाइकलको टायरहरू लगायत यान्त्रिक अवस्था पनि चेक–जाँच गरेर मात्रै यात्रा सुरू गर्नु सुरक्षित हुन्छ। यी सबै उपायहरू दुर्घटना रोकथाम केन्द्रित हुन् भने कदाचित दुर्घटना भइहालेमा टाउकोको बचाउका लागि गुणस्तरीय हेल्मेटको सही किसिमले (चिउडोमा फित्ताले बाँध्ने) प्रयोग गरेर क्षति कम गर्न सकिन्छ। त्यसैगरी घाइतेको उपचारका लागि दुर्घटनास्थलमैं वा अस्पताल पु¥याउनुअघि दिइने गुणस्तरीय स्याहारको सुनिश्चितता गरेर पनि घाइतेको ज्यान बचाउन मद्दत पुग्छ।
मानिसहरू किन हेल्मेट लगाउँदैनन् भन्ने कुरा पत्ता लगाई तिनको निराकरण गर्दै हेल्मेट प्रयोग नियम कार्यान्वयन भएपछि टाउकाको चोटबाट घाइते हुनेको संख्यामा देखिएको कमी र अन्य फाइदालाई व्यापक रूपमा प्रचार–प्रसार गर्न सकेमा पक्कै पनि हेल्मेट प्रयोगबारे सकारात्मक धारणा बन्दै जानेछ। विश्व स्वास्थ्य संगठनले हेल्मेट प्रयोग नगर्नाका निम्नलिखित कारणहरू पहिचान गरेको छः
– बजारमा सुपथ मूल्यका गुणस्तरीय हेल्मेटको अभाव वा नपाउने भएकोले।
– चिउँडोको फित्ता नबाँध्नेहरू दुर्घटनामा परेपछि हेल्मेट फुक्लेर झरेकोले।
– बजारमा बालबालिकाका लागि हेल्मेट सजिलै उपलब्ध नहुनाले।
– गर्मी मौसममा पूरा वा आधा जुनसुकै आकारको हेल्मेट लाउन असुविधा हुने भएकोले।
– हेल्मेटका बारेमा भ्रामक सूचनाका कारणले।
– मोटरसाइकल, ट्याक्सी प्रयोगकर्ताहरूले हेल्मेट बोक्न असुविधा हुने र चालकले उपलब्ध नगराउनाले।
– हेल्मेट प्रयोगका नियमको पालना अपर्याप्त गराउनाले।
हेल्मेट लगाउँदैमा सुरक्षित भइन्छ भनेर कसरी विश्वास गर्ने ?
हेर्नुस्, दिमागको चोट र शरीरका अन्य अंगमा लाग्ने चोट निको हुने प्रणालीमा फरक छ। हाम्रो दिमागको बनावट नै यस्तो छ कि यसमा लागेको चोटको उपचार हुँदैन, निको हुँदैन। मोटरसाइकलमा दुई जना सवार छन् र दुर्घटना भयो भने पछाडि बसेको मानिस पहिले उछिट्टिएर झर्छ। टाउको ठोक्किएर लागेको अप्रत्यासित झड्कालाई खप्परले थेग्न नसकेको फलस्वरूप दिमागमा चोट पर्ने हो। त्यसैले यसमा चोट पर्न नदिनु वा दिमागमा चोटपटक लाग्नबाट रोकथामका लागि गुणस्तरीय हेल्मेटको प्रयोग बुद्धिमानी हो। त्यसैले यस प्रकारका ठूला–ठूला झड्कालाई थेग्न सक्ने गरी बनाइएको गुणस्तरीय हेल्मेटले टाउकोमा लाग्ने सबै खालका चोट–पटकबाट बचाउँछ।
विश्व स्वास्थ्य संगठनले सडक सुरक्षा नीति–निर्माताहरूका लागि तयार पारेको हेल्मेटसम्बन्धी पुस्तिकामा दिइएका विभिन्न अध्ययनका नतिजा अनुसार गुणस्तरीय हेल्मेटको सही प्रयोग (चिउडोमा फित्ताले बाँध्ने) गर्नाले निम्न फाइदा हुन्छः
– मृत्यु हुनबाट जोगाउने सम्भावनाः २८ देखि ६४ प्रतिशतसम्म
– टाउकाको चोटबाट बचाउनेः ५८ देखि ६० प्रतिशतसम्म
– दिमागको चोटबाट बचाउनेः ४७ देखि ७४ प्रतिशतसम्म
– अनुहारको चोटबाट बचाउनेः १४ देखि ६३ प्रतिशतसम्म
– गर्धनको चोटबाट बचाउनेः १४ देखि ४८ प्रतिशतसम्म
याद राख्नुहोस्, यदि हेल्मेट टाउकोमा राखेको छ, तर चिउँडोमा फित्ताले राम्रोसँग बाँधिएको छैन भने मोटरसाइकल दुर्घटनामा पर्ने बेलामा टाउकोमा लागेको झड्काको कारण सबैभन्दा पहिले हेल्मेट नै झर्छ र टाउको खाली भई झन् ठूलो चोट लाग्ने सम्भावना रहन्छ।
हेल्मेट व्यापारीले प्रहरीसँग मिलेर पछाडि बस्ने सवारीलाई पनि हेल्मेट अनिवार्य गर्न पहल गर्ने गरेको आरोप छ नि ?
मोटरसाइकल सवार सबैका लागि हेल्मेट प्रयोग अनिवार्य गर्ने भन्ने पछिल्लो समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा व्यक्त गरिएका अधिकांश टिप्पणी र प्रतिक्रियाको मैले अध्ययन गरेको छु। यस विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू विभाजन भएको पाइयो। मानिसहरूले हेल्मेटको विरोधै गरेको त होइन तर उनीहरूको तर्क अनुसार यत्रतत्र सर्वत्र नाजुक अवस्थामा रहेका सडकको अवस्था सुधारेर दुर्घटना कम हुने स्थिति बनाएर थप नियमहरू पनि पालना गराउन सजिलो हुने विचार व्यक्त गरेका छन् भने पहिले सडक मर्मत नगरेर एक्कासि हेल्मेटको चर्चा भएकोले सशंकित भएका पनि हुन्।
यो अविश्वासको अवस्था आउनुका पछाडि असल शासनको कमी र नागरिकलाई मोटरसाइकलका जोखिम र हेल्मेट प्रयोगका फाइदाबारे सुसूचित गराउन नसक्दाको परिणाम हो। विरोध गर्ने धेरैजसोलाई सबै हेल्मेट विदेशबाट ल्याउनुपर्ने भएकोले विदेशी मुद्रा विदेशतिर प्रवाह हुने भयो भन्ने चिन्ता रहेछ भने हेल्मेट हुनेहरुले पनि दुई÷दुई वटा हेल्मेट कसरी बोक्ने वा बाटोमा लिफ्ट माग्नेलाई कसरी चढाउने भन्ने चिन्ताका कारण विरोध गरेका रहेछन्।
हुन त आव २०७८÷७९ मा नेपालमा १ अर्ब ४७ करोड रुपैयाँ मूल्य बराबरका ‘हेड गियर’हरू आयात भएका छन् तर त्यसमा मोटरसाइकलका हेल्मेट कति भन्ने थाहा हुँदैन। यद्यपि सञ्चार माध्यमहरूका अनुसार नेपालमा २९ मुलुकहरूबाट मोटरसाइकलका हेल्मेट आयात गरिन्छ। तर धेरै मानिससँग व्यक्तिगत कुराकानीमा अधिकांश नेपालमा पनि हेल्मेट बन्छ भन्नेबारे अनभिज्ञ रहेछन्। उनीहरूको धारणा यदि नेपालमैं हेल्मेट बन्छ भने त्यसलाई प्रोत्साहन गर्नुपर्छ भन्ने खालको पाइयो।
आलोचना मात्रै गर्नेलाई त के भन्न सकिन्छ र ? तर स्वास्थ्यको अर्थशास्त्र (हेल्थ इकनोमिक्स) अनुसार स्वास्थ्य उपचार वा निदान सेवा र दैनिक जनजीवनका उपभोग्य वस्तुको खरिद–बिक्रीका नियमहरू फरक हुन्छन्। जसरी सेवा सस्तो हुँदैमा भाँचिएको हातको दुई वा तीन पल्ट एक्स–रे गरिँदैन, जसरी औषधिको मूल्य छूट भएका कारण दैनिक २ मात्रा खानुपर्ने औषधि ४ मात्रा खाइँदैन। त्यसरी नै मानिसलाई हेल्मेट पनि दिनदिनै किनिरहनुपर्ने वस्तु होइन।
अर्को कुरा, गुणस्तरीय हेल्मेटको बजारमा औसत मूल्य करिब ३ हजार रूपैयाँ पर्छ। वर्तमान विश्व अर्थतन्त्र र महँगीको अनुपातमा उक्त हेल्मेटमा प्रयुक्त कच्चा पदार्थ इत्यादिको मूल्य हेर्दा यसमा त्यति धेरै नाफा र भ्रष्टाचारै भइहाल्ने स्थिति देखिँदैन। हुन त नेपाली सञ्चार माध्यममा लाखको सामान किन्दा करोडौं खाए भन्ने खालका समाचार नआएका पनि हैनन्। त्यसैले यस्ता तर्कले भ्रम सिर्जना गर्नुभन्दा कसैले भ्रष्टाचार गरेको सबुत प्रमाण छ भने सम्बन्धित नियामक संस्थामा उजुरी गर्नु उपयुक्त हुन्छ।