केही दिनअघि नेपालमा शिक्षकहरुको आन्दोलन भयो। शिक्षक आन्दोलन नसकिँदै डाक्टरहरुको आन्दोलन सुरु भयो। दुई प्रतिष्ठित पेशाकर्मीहरु एकै पटक आन्दोलन मा उत्रिनुपर्ने परिस्थिति बन्नुले हाम्रो देशको अवस्थालाई चित्रण गर्दछ।
लगातार तीन दिनको शान्तिपूर्ण आन्दोलनपछि सरकार र डाक्टरहरुबीच एक प्रकारको सहमति भयो। त्यसको चौबीस घण्टा नबित्दै भोलिपल्ट सिनामंगलको केएमसी शिक्षण अस्पतालमा फेरि एकजना इन्टर्न डाक्टरमाथि हातपातको घटना भयो। बिरामीलाई एकैछिन कुर्नुस्, सिनियर डाक्टर क्लासमा हुनुहुन्छ भनेकै भरमा उहाँमाथि हिंसा भएछ। एकछिन घोतलिएर सोचें- हामीले कस्तो मानसिकताको विकास गर्यौं? हामीले कस्तो पद्दति बनायौ? हामीले कस्तो देश बनायौ?
स्वास्थ्यकर्मीबाट गल्ती हुनै सक्दैन भनेर वकालत गर्नु गलत हो। तर बिरामीलाई तलमाथि हुने बित्तिकै गुण्डागर्दी शैलीमा स्वस्थकर्मीमाथि कुटपिट र हिंसा गर्नु चाहिँ एकदमै गलत कुरा हो। यदि कसैले गलत गरेको जस्तो लाग्छ भने नेपालका विभिन्न संस्थाहरुमा उजुरी दिन सकिन्छ र नेपाल चिकित्सक संघ र अन्य सम्बन्धित निकायले पनि निष्पक्ष जाँच गर्नुपर्दछ।
कुनै डाक्टरको उपचार पद्दतिमाथि चित्त नबुझेमा प्रश्न गर्ने अधिकार बिरामीमाथि छ र हरेक डाक्टरले उक्त कुराप्रति जवाफदेही हुन सक्नुपर्छ। यो कुरा मेडिकल इथिक्सभित्र पनि पर्छ। पश्चिमा देशहरूमा अहिलेको समयमा सेकेण्ड ओपनियनको अवधारणा छ। सेकेण्ड ओपनियन भन्नाले एक डाक्टरबाट परामर्श लिसकेपछि त्यो चित्त नबुझेको खण्डमा कुनै अर्को डाक्टरबाट पनि सोही मेडिकल कन्डिसनका लागि परामर्श लिने अवधारणा हो। यो कुरा नेपालमा पनि सहजताका साथ स्वीकार गरिनुपर्छ। बिरामीको सहजता र सही उपचारका लागि हरसम्भव प्रयास गरिनुपर्छ। तर यसको मतलब बिरामी पक्षले डाक्टर कुट्न हुन्छ भन्ने चाहिँ कदापि हैन। यो गलत हो र कानुन विपरित पनि हो। भावनतमक आवेग र उत्तेजनामा आएर गरिएको निर्णय भनेर यस्तो प्रवृत्तिलाई बढवा दिइनु हुँदैन। 'जेल विथआउट बेल' कार्यान्वयन गरिनैपर्छ।
स्वास्थ्यकर्मीमाथि हिंसा हुन्छ, आन्दोलन हुन्छ, सहमति पनि हुन्छ तर कार्यान्वयन हुँदैन। फेरि हिंसा हुन्छ र यो क्रम दोहोरीरहन्छ। र यही समयमा एक अर्को बहस पनि चल्छ- विदेश जाने।
नेपालका दक्ष चिकित्सकहरु बाहिर पलायन हुने क्रम चलिरह्यो भने नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्ने कुरामा अब दुईमत नै छैन। विदेश गएर त्यहाँ प्राक्टिस गर्न त्यति सजिलो त छैन तर नेपालमा पिजीको लागि जुन मेहेनत, समय र पैसा लाग्छ त्यति लगानी गर्नसके गार्हो पनि छैन। नेपाली डाक्टरहरूको पहिलो रोजाइ अमेरिका हुने गरेको छ। त्यहाँ पढ्न र प्राक्टिस गर्न युएसएमली पास गर्नुपर्ने हुन्छ। वर्सेनी लगभग २०० नेपाली चिकित्सकहरु उक्त परीक्षामा सफल हुन्छन् र विदेसिन्छन। तर युएसएमलीको नयाँ नियम अनुसार नेपालले डब्लुएफएमइका लागि रजिस्टर गर्नुपर्ने छ। जुन अहिलेसम्म गरिएको छैन। यसका लागि नेपाली मेडिकल विद्यार्थीहरूले आवाज उठाईरहेका छन। अमेरिका बाहेक अन्य देशहरु जस्तैः बेलायत, क्यानडा, माल्दिभ्स जानेहरुको संख्या पनि धेरै छ। यस्तो परिस्थति कसरी निम्तियो? यस कुरामा भने कसैको वास्ता छैन। सरकार मौन छ। भनिन्छ, आफ्नो वकील र डाक्टरलाई केही कुरा लुकाउनु हुँदैन। यस्तो नजिक र आत्मीयताको सम्बन्धलाई हिंसा र अविश्वासको बाटो तिर मोड्नु हुँदैन। यसमा हामी स्वास्थ्यकर्मी र आम मानिस दुवैले सचेत हुन जरुरी छ।
(लेखक एमबिबिएस विद्यार्थी हुन्।)