काठमाडौं- संसार द्रुत गतिमा बदलिरहेको छ, प्रविधिहरू दिनदिनै परिष्कृत बन्दै गइरहेका छन् भने हाम्रो दैनिक जीवनमा निरन्तर परिवर्तन भइरहेका छन्। अहिले हामी जेजे गरिरहेका छौँ त्यो सबैका लागि भनेर हाम्रो दिमाग बनाइएको थिएन। तर पनि हामीले आफूलाई यस आधुनिक संसारमा राम्रो ढालेका छौँ। लगातार भइरहने परिवर्तनअनुसार आफूलाई बदलिरहेका छौँ।
यो सबै हाम्रो मस्तिष्कको कारणले सम्भव भएको हो। मस्तिष्क एउटा यस्तो अंग हो जोसँग स्थिति अनुसार आफैलाई ढाल्ने, सिकाउने र विकास गर्ने व्यापक क्षमता छ। तर यति बेला प्रश्न भने हामीले यो अद्भुत अंगलाई कसरी स्वस्थ राख्न सक्छौँ? भन्ने उब्जिएको छ। के कुनै यस्ता उपाय छन् त जसबाट हामीले मस्तिष्कको क्षमता बढाएर यसलाई तेजिलो बनाउन सक्छौँ ? यी प्रश्नहरूको जवाफ खोज्न बीबीसीका विज्ञान पत्रकार मेलिसा होगेनबुमले नयाँ अनुसन्धान अध्ययन गरेकी थिइन् भने केही विशेषज्ञहरूसँग कुरा पनि भएको थियो।
बेलायतको सरे विश्वविद्यालयमा क्लिनिकल मनोविज्ञानका प्राध्यापक थोरस्टेन बर्नहोफरका अनुसार मस्तिष्कको क्षमतालाई धेरै तरिकाले बढाउन सकिन्छ। “केही यस्ता प्रक्रियाहरू छन् जसले केही हप्तामै तनाव कम गर्छ अनि न्यूरोप्लास्टिसिटीलाई बढाउँछ। न्यूरोप्लास्टिसिटीलाई बढाएर डिमेन्सियाजस्ता रोगहरूलाई टार्न सकिन्छ। मनोवैज्ञानिक आघातबाट हुने मस्तिष्कको क्षतिलाई समेत कम गर्न सकिन्छ।’ उनी भन्छन्।
के हो न्यूरोप्लास्टिसिटी?
प्लास्टिसिटी हाम्रो मस्तिष्कको त्यस्तो क्षमतालाई भनिन्छ जसमा यसले बाहिरबाट प्राप्त हुने सूचनाका आधारमा आफैमा परिवर्तन ल्याउँछ। न्यूरोप्लास्टिसिटी भनेको हाम्रो मस्तिष्कमा रहेको न्युरोन्स (जसलाई नर्भ सेल पनि भनिन्छ)मा निर्माण हुने र परिवर्तन हुने कनेक्सन हो। मानव मस्तिष्क एक न्यूरल वायरिङ सिस्टम हो। मस्तिष्कमा अरबौँ न्यूरोन्सहरू हुन्छन्। आँखा, कान, नाक, मुख र छालाजस्ता हाम्रा ज्ञानेन्द्रियहरूले मस्तिष्कसम्म बाहिरबाट आएका सूचनाहरू पुर्याउँछन्। यो सूचनाहरू न्यूरोन्सबीच कनेक्सन भएपछि जम्मा भएर बस्छ।
हामी जन्मिएको बेलामा हामीमा यी न्यूरोन्समा निकै कम कनेक्सन हुन्छ। रिफ्लेक्स गर्ने कनेक्सन पहिलादेखि नै हुन्छन्। तातो वस्तुमा हात पर्यो भने एउटा सानो बालकले समेत हात पछाडि तानिहाल्छ। तर सर्पलाई भने समात्नै जान्छ वा समातेर मुखमा समेत हाल्न खोज्छन्। उसको दिमागमा सर्प खतरनाक हुन सक्छ भन्ने कनेक्सन बनेको हुन्न। बच्चाले बिस्तारै सिक्दै जान्छ अनि न्यूनरल कनेक्सन बन्दै जान्छ।
नयाँ नयाँ अनुभवसँगै यी कनेक्सनहरू पनि परिवर्तन भइरहन्छन्। यो सम्पूर्ण प्रक्रियालाई न्यूरोप्लास्टिसिटी भनिन्छ। मान्छेहरूले सिक्ने, अनुभव बटुल्ने र यादहरूलाई थुपारेर राख्नुमा पनि यही प्रक्रियाले काम गर्छ।
कसरी बढाउन सकिन्छ न्यूरोप्लास्टिसिटी ?
प्रोफेसर थोरस्टेन बर्नहोफरका अनुसार मन भड्किन थालेपछि तनाव बढ्छ। बारम्बार एउटै कुरा सोचेर चिन्ता गर्नु हानिकारक हुन्छ। यसो गर्दा कोर्टिसोल हर्मोनको स्तर बढ्छ। यो हर्मोन मस्तिष्कको लागि हानिकारक छ। यसले न्यूरोप्लास्टिसिटीका लागि बाधा उत्पन्न गराउँछ। यसबाट बच्ने उपाय भएको सजग रहनु नै हो।
माइन्डफुलनेसको सीधा अर्थ आफ्नो वरपरको परिवेश, विचार र तपाईँको ज्ञानेन्द्रीयहरू (आँखा, कान, नाक, मुख, छाला)बारे सचेत रहनु हो। यसको मतलब, धेरै नसोची त्यस्तो समयमा आफूले के महसुस गरिरहेको छुँ भन्नेमा ध्यान दिने भन्ने हुन्छ। सरल भाषामा बुझ्ने हो भने, माइन्डफुलनेस भनेको हाम्रो ज्ञानेन्द्रियहरूबाट बाहिरबाट दिमागमा के–कस्ता सूचनाहरू आउँदै छ र भित्र रहेको जानकारी कसरी प्रयोग भइरहेको छ भन्ने कुराबारे सचेत हुनु हो। उदाहरणको लागि ध्यान। ध्यान ज्ञानेन्द्रियमा एकाग्र हुने प्रक्रिया हो। श्वासप्रश्वासमा ध्यान दिनु वा मौसम तातो छ कि चिसो, म राम्रोसँग सुन्न सक्छु कि सक्दिन, वरिपरि कुनै सुगन्ध छ कि आदिमा ध्यान केन्द्रित गर्न सकिन्छ।
यसबाट पनि न्यूरन कनेक्सन बन्दछ। कुनै मान्छेले दिनभरमा १५ मिनेट मात्रै पनि ज्ञनेनिद्रयहरुमा ध्यान केन्द्रित गर्दछ भने उसको हिँड्ने, बोल्ने, हाँस्ने, मुस्कुराउने सबै तरिकामा परिवर्तन आउने विज्ञहरू बताउँछन्।
न्यूरोप्लास्टिसिटीको प्रक्रियाको क्रममा मस्तिष्कको संरचना पनि परिवर्तन हुने हालै एक अध्ययनमा पाइएको थियो। यो परीक्षणका लागि मेलिसा होगेनबुमले एक पटक आफ्नो मस्तिष्क स्क्यान गराइन्। त्यसको छ हप्तासम्म उनले ध्यान गरिन् अनि फेरि स्क्यान गरिन्। अघिल्लो र पछिल्लो स्क्यानहरूको तुलना गर्दा छ हप्तामा मेलिसाको मस्तिष्कमा न्यूरोप्लास्टिसिटी बढेको पाइयो।
मस्तिष्कको दाहिने अमिगडालाको आकार घटेको पाइयो। यो तनावमा कमीको कारण भएको थियो। चिन्ता र तनाव धेरै लिने मानिसहरूमा अमिगडालाको आकार ठुलो हुन्छ। दिमागसबन्धी तालिम दिएर पनि यसको आकार घटाइएको हामीले पहिला पनि देखेका छौँ।
मस्तिष्कमा न्यूरोप्लास्टिसिटी बढाउन व्यायामले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन्। इटालीको ‘सेन्ट्रो न्युरोलेसी’ इन्स्टिच्युटका निर्देशक प्रोफेसर एन्जेलो क्वाट्रोनका अनुसार दिनमा ३० मिनेट र हप्तामा चारदेखि पाँच दिन व्यायाम गर्ने हो भने यसले मस्तिष्कमा राम्रो प्रभाव पार्छ। युनिभर्सिटी अफ ससेक्समा तुलनात्मक संज्ञानका प्राध्यापक गिलियन फोरेस्टरका अनुसार मस्तिष्कमा हुने गतिविधि र परिवर्तनहरूको शारीरिक गतिविधिसँग नजिकको सम्बन्ध हुन्छ।
कसैलाई बोल्न गाह्रो भइरहेको छ भने हातले इशारा गर्दै बोल्न सजिलो हुन सक्छ। बोल्न मद्दत गर्ने हाम्रो मस्तिष्कको हिस्सा हात, खुट्टा वा हातको मद्दतले काम गर्न मद्दत गर्ने हिस्साहरूसँग जोडिएको हुन्छ। भाषाको विकास इशाराबाट भएकोले पनि यस्तो हुन सक्छ।
ध्यान बाहेक शारीरिक व्यायामले पनि तनाव कम गर्ने लन्डन विश्वविद्यालयको बर्कबेकको स्कूल अफ साइकोलोजीका डा. ओरी ओस्मीले भनेका छन्। उनी भन्छन्, ‘हाम्रो मस्तिष्कले हर समय आफूलाई परिवर्तन गरिरहेको हुन्छ। तर बच्चाहरूमा यो प्रक्रिया तीव्र गतिमा हुन्छ। सामान्य स्तरमा हात र खुट्टा चलाउने बच्चाहरू पछि राम्रोसँग बोल्न सक्ने देखिएका छ। त्यसो नगर्नेहरूमध्ये केहीलाई पछि बोल्न वा सामाजिक व्यवहारमा समस्या हुन सक्छ।’
व्यायाम मात्र होइन, सङ्गीत वा भाषा सिक्ने जस्ता नयाँ कामले पनि न्यूरोप्लास्टिसिटी बढाउन सक्छ। जब हामी कुनै नयाँ कुरा देख्छौँ, सिक्छौँ वा सोच्छौँ तब मस्तिष्कमा नयाँ न्यूरल कनेक्सन बन्छन्। मानव मस्तिष्कले जीवनभर न्यूरल कनेक्सन बनाउन सक् छ। तपाईले ८० वर्षको उमेरमा पनि नयाँ भाषा सिक्न सक्नुहुन्छ। नयाँ ठाउँमा जानु, सधैँको एउटा दिनचर्या तोड्नु वा केही नयाँ गर्नुका धेरै फाइदाहरू छन्। एजेन्सी