स्वास्थ्य हरेक व्यक्तिको नैसैंर्गिक अधिकार हो। कुनै पनि देश विकसित हुनको लागि त्यहाँको नागरिक स्वस्थ हुनु जरुरी हुन्छ। व्यक्तिलाई उसको लैङ्गिक, जातीय, धार्मिक वा आर्थिक अवस्थाका आधारमा स्वास्थ्य सेवाबाट वञ्चित गर्नु हुँदैन। व्यक्ति स्वस्थ्य रहन व्यक्तिको आफ्नै र उसको परिवार तथा समाजको महत्वपूर्ण भुमिका हुन्छ। स्वस्थ रहनु भनेको शारीरिक मात्र नभएर मानसिक, भावनात्मक तथा सामाजिक रुपले निरोगी हुनुपर्दछ। नेपालको संविधान २०७२ को धारा ३५ ले आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार हो भनेर सुनिश्चित गरेको छ। त्यसैका साथै, जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३ अनुसार कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ।
गास,बास र कपासले मानिसको स्वास्थ्यमा ठूलो भुमिका राख्छ। छाक टार्न समस्या भएको अवस्थामा जति नै निःशुल्क स्वास्थ्य जाँच भने पनि मानिसलाई हेक्का लाग्दैन। आर्थिक सर्वेक्षण २०२२/२३को अनुसार, १५.१ प्रतिशत गरिबीको रेखामुनि छन् भने अधिकांश दुर्गम क्षेत्रमा बसोबास गर्दछन्। सन् २०१८/१९ मा यो दर १७.४ प्रतिशत थियो। बहुआयामिक गरिबी सूचक गरिबी मापन अनुसार, ग्रामीण भेगका २८ प्रतिशत र सुगम ठाँउका १२.३ प्रतिशतले बहुआयामिक गरिबी भोगिरहेका छन्। यस मापनले स्वास्थ्य, शिक्षा र जीवनस्तरलाई सूचकको रुपमा लिन्छ र ३ आयामलाई थप १० उपआयामहरुमा बर्गीकरण गरिएको छ। दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गर्ने परिकल्पना सहित १७ लक्ष्य तथा १६९ सहायक लक्ष्यहरु आत्मसाथ गरेको छ। लक्ष्य ३ ले सबै उमेर समुहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्धन गर्ने कुरा उल्लेख गरेको छ।
जनस्वास्थ्यको विषयमा व्यक्ति आफैमा एकहद सम्म जिम्मेवार रहन्छ। तर सरकार वा राज्य जनस्वास्थ्यको महत्वपूर्ण पक्ष हो। सरकारको समग्रनीतिले जनस्वास्थ्यमा असर गर्दछ। नागरिकहरुको रोजगारी वा आय आर्जनको पद्धतिले स्वास्थ्य क्षेत्रलाई प्रभावित गर्दछ। आय अनुसार नागरिकको खानपान, जीवनशैली, शिक्षा र उपचारमा उसको संलग्नता निर्धारित हुन सक्छ। यसले पारिवारिक वातावरण तथा नागरिकहरुको सामाजिक वातावरण समेत निर्देशित गर्दछ। राज्यको प्राथमिकतामा नागरिकको रोजगारी वा स्वरोजगारी विकास र विस्तार नपरे सम्म जनस्वास्थ्यमा सुधार सहज हुँदैन।
मानिसको स्वास्थ्य एकजना व्यक्ति वा परिवारको चासो र सरोकार मात्र नभएर यो सामाजिक वा देशको र अन्तर्राष्ट्रिय सरोकारको विषय पनि हो। अहिले कुनै व्यक्ति एक्लै स्वस्थ रहन चाहेर मात्र पनि सहज छैन। विभिन्न प्रदुषण, खाद्य सामग्रीमा हुने विषादी र मिसावट तथा गलत अभ्यासले नागरिकहरुले चाहेर पनि स्वास्थ्यको पूर्वसर्त समुचित आहार दुरुह बन्दै गएको छ। भारतबाट आउने हरियो तरकारीमा अत्याधिक मात्रामा विषादी हालिएको हुन्छ भन्ने नागरिक तह र सरकारी तहमा पनि थाहा छ। तर विषादी भएको तरकारी देशमा आउन नदिन सरकारले पहल गर्दैन। देश भित्रै पनि तरकारी र अन्न उत्पादनमा विषादीको प्रयोग अवान्छित ढंगको छ।
यसलाई ब्यवस्थित गर्ने परिणाममुखि पहल भएको पाइँदैन। देशमा बढेको क्यान्सरका बिरामीको संख्यामा विषादी मिश्रित खाद्यवस्तुको अहं भूमिका रहेको छ। खाद्यवस्तुको गुणस्तर, औद्योगिक वातावरण, खानेपानीको शुद्धता, नागरिकहरुको रोजगारी वा आय आर्जनका विषय समेत स्वास्थ्य क्षेत्रसंग जोडेर परिणाममुखि योजना र त्यसको कार्यान्वयन नगर्दा सम्म जनस्वास्थ्यको विषय स्थायी समस्याको रुपमा रहि रहन्छ। स्वास्थ्य क्षेत्रलाई अन्य विषयसंग नजोडिएको पृथक वा एकाकि समस्याका रुपमा मात्र बुझ्नु गलत हुनेछ किनभने स्वास्थ्यको विषय शिक्षा, कृषि, उद्योग, ब्यापार, रोजगारी, भौतिक विकास निर्माण, वातावरण र एकहद सम्म संस्कृतिसंग समेत जोडिएको विषय हो। त्यसैले यसलाई एकिकृत रुपमा नै ब्यवस्थित गर्ने प्रयास गर्नु पर्छ।
अहिलेको जीवनशैलीले मानिसको वर्तमानमात्र नभएर भविष्यमा पार्न सक्ने प्रभावका बारेमा पनि बताउँछ। धेरै वर्ष अगाडि सरुवा रोगको बिगबिगी थियो। समय बित्दै जाँदा, विज्ञान तथा प्रविधिको प्रगतिले गर्दा नसर्ने रोगको भार बढ्न थाल्यो जसकारण विश्वव्यापी रुपमा राष्ट्रहरुले रोगको दोहोरो भार सँग जुध्न परेको छ। दुर्घटनाका कारण हुने क्षति बढे सँगै तेस्रो भार पनि थपिएको छ। अहिले हाम्रा विकास निर्माणका संरचना, सवारी साधनको यान्त्रिक अवस्था, पैदलयात्री तथा चालकहरुको लापरवाह चरित्रले गर्दा हुने दुर्घटनाबाट स्वास्थ्य समस्या र यसको उपचारमा हुने खर्च बढिरहेको छ। अर्थात् हाम्रो यातायात प्रणालीमा कहाँ समस्या छ, जसले बर्षमा सयौं नागरिकको ज्यान लिने गरेको छ र अझ धेरै नागरिकको अंगभंग र जीवन भर उपचारमा निर्भर रहन बाद्य पारेको छ भन्ने कुरा सोच्नु जरुरी छ। यसको आवश्यकता बढ्दो छ किनभने, यातायातलाई अन्य विकासको विषयमा जोड्दा नागरिकको जिउज्यानको सुरक्षा संग जोडिएको छैन।
वर्षदिनभरि विभिन्न स्वास्थ्य सम्बन्धी दिवस मनाइ रहँदा, स्वाथ्यलाई असर गर्ने कुराहरु के के छन् र कस्ता स्वास्थ्य समस्याले विश्वव्यापी रुपमा समस्या भइरहेकोे छ भनेर थाहा पाउन सकिन्छ। निःशुल्क औषधि पाइने भएपनि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा ६५ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला क्षयरोगको उपचार बाहिर छन्। गर्मी मौसमसँगै डेंगी (डेंगु)को संक्रमण बढ्छ। यो वर्षको धरानको स्थिति नदोहोरिनको लार्गि लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने अभियान’ प्रभावकारी रुपमाकार्यन्वयन गर्नु जरुरी हुन्छ। जीवन बाँच्नु ठूलो कुरा होइन, जीउनु महत्वपूर्ण हुन्छ। नयाँ महामारी, नसर्ने रोगको प्रकोप र जलवायु परिवर्तनले गर्दा सहज एवम् स्वथ्य जीवनयापन गर्न कठिन बन्दै गएको छ। गुणस्तरीय स्वास्थ्य सेवा, रोजगारमूलक र हामीलाई वास्तविक दुनियासँग सामना गर्न सहज गराउने खालको शिक्षा, स्वच्छ हावा, पौष्टिक आहार,सुरक्षित तथा स्वस्थ्य आवास र मर्यादित कामको प्रयोगले स्वस्थ्य जीवन जिउन सहज हुन्छ। अर्थात् स्वास्थ्यको विषय विभिन्न पक्षहरुसंग अन्योन्याश्रित छ। यसको एकल उपचार हुदैन भन्ने कुरा राज्यका तीनवटै तहले बुझ्नु जरुरी छ।
स्वास्थ्य क्षेत्रको सर्वांगिण विकासका लागि पहिलो जिम्मेवार निकाय राज्य नै हो। राज्यले स्वास्थ्यको विषयमा आफ्नो कर्तब्य र दायित्व आत्मसात गर्नु पर्छ र स्वास्थ्य क्षेत्रका अन्तर सम्बन्धित विषयवस्तुलाई एकद्वार प्रणालीबाट लैजानु पर्दछ। राज्यले आफ्नो कर्तब्य पुरा गर्दै स्वास्थ्यका विषयमा नागरिकलाई सूचित गर्ने, शिक्षित गर्ने र आवश्यक पर्दा अन्य उपाय अवलम्बन गर्ने कार्यमा तदारुकता अपनाउनु जरुरी छ। त्यसैगरी व्यक्तिले आफ्नो , परिवारको र समुदायको स्वास्थ्य सुधारमा आफ्नो कर्तब्य र अधिकार के हो, सो को जानकारी लिनु र पालना गर्नु आवश्यक छ। नागरिकको सहभागिता बिना स्वास्थ्य सुधार संभव छैन। त्यसका लागि परिस्थिति निर्माण गर्ने कार्यमा राज्य र नागरिकको भूमिका अपेक्षित छ।
(भूसाल जनस्वास्थ्य स्नातकोत्तरकी विद्यार्थी हुन्।)