हरेक वर्ष अप्रिल ७ तारिकका दिन मनाइने विश्व स्वास्थ्य दिवस यस वर्ष मेरो स्वास्थ्य मेरो अधिकारं भन्ने नाराकासाथ मनाइँदै छ। यो दिवस विश्व स्वास्थ्य संगठनको वार्षिकोत्सवका रुपमा मनाइन्छ। विश्व स्वास्थ्य संगठनले वर्षेनी देखिने विभिन्न स्वास्थ्यसँग सम्बन्धित नारा छनौट गरी मनाउन आर्थिक सहयोग गर्दै जनचेतना फैलाउने उद्देश्यले विश्वभरका सरकारी, गैह्रसरकारी संस्था एवम् नेतृत्व तहलाई हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउन आव्हान गरेको छ।
विश्व स्वास्थ्य दिवसको उद्येश्य
विश्व स्वास्थ्य संगठनको मुख्य उद्देश्य नै स्वास्थ्यसम्बन्धी उत्पन्न प्रमुख समस्यालाई प्राथमिकता क्रममा समाधान गर्न समुदायस्तरसम्म जनचेतना मूलक विभिन्न कार्यक्रम तथा गतिविधि मार्फत् जनचेतना अभिबृद्धि गरी सम्बन्धित जनसंख्यालाई स्वस्थ र निरोगी तुल्याउने अभियान सञ्चालन गर्नु हो।
विश्व स्वास्थ्य दिवसको थालनी
सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको पहिलो साधारणसभा आयोजना गरियो, जसले सन् १९५० देखि हरेक वर्ष अप्रेल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाउन थालिएको हो। यो दिवसलाई विश्व स्वास्थ्य संगठनको वार्षिकोत्सवका रुपमा मनाउन थालिएको हो। हरेक वर्ष विश्व स्वास्थ्य संगठनको रुची एवम् विश्वव्यापी जल्दोबल्दो स्वास्थ्य समस्या तथा प्राथमिकताको क्षेत्र छनौट गरिन्छ.र त्यसैलाई नाराका रुपमा प्रकाश पार्दै दिवस मनाइन्छ, यसबाट विश्व स्वास्थ्य दिवसलाई विश्व स्वास्थ्य संगठनले विश्व व्यापी संघ÷संगठनको ध्यानाकर्षण गर्दै हरेक वर्ष सवभन्दा बढी महत्वपूर्ण स्वास्थ्य समस्या समाधान गर्ने प्रमुख अवसरका रुपमा लिइन्छ। यसका लागि विश्व स्वास्थ्य संगठनले अन्तरराष्ट्रिय, क्षेत्रीय तथा स्थानीय स्वास्थ्यसम्बन्धी घटनालाई विशेष नाराका रुपमा मनाइन्छ। विश्व स्वास्थ्य संगठनसंग जनस्वाथ्यसम्बन्धी विभिन्न सरकारी तथा गैह्रसरकारी संघ÷संस्थासंग सहकार्य गर्छ, जसले सञ्चार माध्यमको प्रतिवेदन अनुसार विभिन्न कार्यक्रम÷गतिविधिको आयोजना गर्छ। विश्व स्वास्थ्य दिवस विश्व स्वास्थ्य संगठनको विश्व क्षयरोग दिवस, विश्व खोप सप्ताह, विश्व मानसिक रोग दिवस, विश्व प्रतिजैविक निष्प्रभावी जनचेतना सप्ताह, विश्व एड्स दिवस, विश्व हेपाटाइटिस रोग दिवसजस्तै महत्वपूर्ण औपचारिक स्वास्थ्यसम्बन्धी अभियान हो। त्यसकारण विश्व दिवसले विश्व व्यापी जनस्वास्थ्य समस्याका साथै नयाँ तथा उत्पन्न जटिल स्वास्थ्य समस्या समाधान गर्न सवै पक्षसंग समन्वय र सहकार्य गर्ने महत्वपूर्ण अवसरका रुपमा मनाउन आव्हान गर्छ।
जनताको वर्तमान स्वास्थ्यसम्बन्धी अधिकार
नेपालको संविधान २०७२ को धारा ३५ को दफा (४) मा “प्रत्येक नागरिकलाई निशुल्क स्वास्थ्य सेवामा पहँुचको हक हुनेछ” भनी उल्लेख गरिएको छ। साथै दफा ३० बमोजिम हरेक नागरिकलाई स्वस्थकर र स्वच्छ वातावरणमा वस्न पाउने हक हुने कुरा उल्लेख गरिएको छ। यी धाराहरुबाट स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी दीगो रुपमा समानरुपले पर्याप्त सुविधा उपलब्ध हुने सुनिश्चित गरिएको छ।
नेपाल राजपत्र २०७७ को खण्ड ८ बमोजिम स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको सञ्चालन गर्दा मापदण्ड निर्धारण गरिएको छ, यसमा आवश्यक सुधार गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सही किसिमले फोहर मैला व्यवस्थापन (योजना ११) तथा खानेपानी तथा सरसफाई (योजना १२) मा सम्बोधन गरिएको छ, जुन सेवाग्राहीलाई स्वास्थ्य सेवा तथा सुविधा प्रदान गर्दा समानरुपले लागू हुन्छ।
जनस्वास्थ्य सेवा ऐन २०७५ मा स्वास्थ्य सेवाग्राहीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ चासो राख्दै “नेपाल सरकारले सरसफाई तथा फोहर व्यवस्थापनका लागि वातावरणीय प्रदूषण र फोहरबाट मानव स्वास्थ्यमा उत्पन्न गराउनसक्ने अवाञ्छित घटना नियन्त्रण गर्न संघीय कानून बमोजिम आवश्यक मापदण्ड बनाएर लागू गर्न सक्नेछ” (पृष्ठ १५) भनी स्पष्ठ पारेको छ। ऐन बमोजिम केन्द्रीय सरकारद्वारा प्रकाशित÷स्वीकृत गरिएका मापदण्ड बमोजिम कार्यान्वयन गर्न हरेक स्वास्थ्य संस्थाको जवाफदेहिता हुने गरी तोकेको छ। यस ऐनलाई जनस्वास्थ्य सेवा नियमावलीले विस्तारमा सघाउ पु¥याउने तथ्य उजागर गरेको छ।
संक्रामक रोग ऐन २०२० ले विगतका वर्षमा कोरोना भाइरस संक्रमणजस्तो विश्वव्यापी महामारी संग जुध्ने प्रयास गरेको छ। यस ऐनले स्थानीय, प्रदेश र संघीय सरकारलाई रोग प्रसारण रोकथाम तथा नियन्त्रणका उपायबारे आवश्यक कारबाही गर्न कानूनी आधार प्रदान गरेको छ। यस ऐनले स्थानीय सरकारलाई समुदाय तथा सार्वजनिक स्थानलाई लक्षित गरेर जनसमुदायको अनावश्यक भेला, सूचना केन्द्रको स्थापना, हातको सरसफाई सुविधाजस्ता धेरै प्रयासमा नेतृत्व गर्न सहजिकरण गरेको छ।
फोहर मैला व्यवस्थापन ऐन २०६८ ले जनस्वास्थ्यमा निम्तिन सक्ने अवाञ्छित घटनालाई न्यूनिकरण गर्दै सफा र स्वस्थकर वातावरणबारे स्वास्थ्य संस्थाजन्य फोहरको व्यवस्थापनमा जोड दिएको छ। ऐनको परिच्छेद २ को दफा ३ को उपदफा १, २ र ३ अनुसार फोहर मैला व्यवस्थापन गर्न अस्पताललगायत स्वास्थ्य संस्थामा फोहरको उत्पादनमै न्यूनिकरण, पृथकिकरण गर्न र सही तरिकाले विसर्जन गर्ने व्यवस्थापनमा स्थानीय सरकारको कर्तव्य र अधिकार सुम्पेको छ। यस्तै ऐनले पनि जनताको स्वास्थ्यसम्बन्धी अधिकारलाई सुरक्षित राख्न र कार्यान्वयन गर्न फोहर मैला व्यवस्थापनमा नीजि क्षेत्रलाई अनुमतिपत्र, पुरष्कार, दफा ४ बमोजिम फोहर मैला व्यवस्थापनका विभिन्न गतिविधिमा सहभागी गराउने अनुमति प्रदान गरेको छ।
राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले हरेक नागरिकलाई सवै प्रकारका स्वास्थ्य संस्थाबाट प्रदान गरिने गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नका लागि उच्चतम तथा प्रभावकारी श्रोतको उपयोग, सहकार्य र सहभागिता मौलिक हक हुने भनी उल्लेख गरेको छ। “स्वास्थ्य प्रणालीको विकास तथा विस्तार गर्न र संघीय संरचनामा आधारित सामाजिक न्याय, तथा सुशासनमा आधारित गुणस्तरीय स्वास्थ्य सेवाको उपयोग गर्ने” यसको उद्देश्य रहेको छ। यस ऐनका विभिन्न उद्देश्यहरु मध्ये स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी सान्दर्भिक उद्देश्यहरु (क) सवै तहका स्वास्थ्य संस्थाबाट प्रदान गरिने गुणस्तरीय स्वास्थ्य सेवामा सुधार गरी सहज पहुँच पु¥याउने, तथा ( ख) बहुपक्षीय साझेदारी तथा सरकारी, गैह्रसरकारी एवम् नीजि क्षेत्रबीच सहकार्य गर्ने र समुदाय सहभागिता बढाउने। गुणस्तरीय स्वास्थ्य सेवाको सुधारका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता नभै नहुने अंग हो र यसको समान पहुचका लागि साझेदारी महत्वपूर्ण छ।
अस्पताल व्यवस्थापन सुदृढिकरण कार्यक्रम, नेपाल २०१५ ले आन्तरिक संक्रमण रोकथाम तथा नियन्त्रणमा आधारित खानेपानी, सरसफाई, स्वच्छता तथा वातावरणीय सफाई तथा स्वास्थ्य जनशक्ति न्युनतम सेवा मापदण्ड समावेश गरेको छ। नेपाल स्वास्थ्य क्षेत्र नीति २०१५–२०२०, यसको चरण ७, सुधारिएको स्वस्थकर जीवनशैली तथा वातावरण चरण ७.१ ले स्वस्थकर बानीव्यहोरा तथा अभ्यासलाई प्रवर्धन गरेको छ,,यसले “स्वस्थकर समुदाय र स्वास्थ्य संस्थाबाट स्वस्थकर जीवनशैली”, “स्वच्छ हावा, खानेपानी, गुणस्तरीय खाद्यपदार्थका लागि सहकार्य” तथा “पानीको गुणस्तर सर्वेक्षण” लाई प्रवर्धन गर्दछ।
स्वास्थ्य संस्थाका लागि खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी राष्ट्रिय मापदण्ड २०१८ विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संस्थाहरुका लागि आवश्यक वातावरणीय मापदण्ड २००८ का आधारमा हरेक तहका स्वास्थ्य संस्थाहरुमा खानेपानी, सरसफाई तथा स्वच्छतासम्बन्धी निर्देशिकाको विकास भएको हो।
नेपाल–विश्व स्वास्थ्य संगठनको अन्तरदेशीय सहयोय रणनीति २०१८–२२ को रणनैतिक प्राथमिकीकरण ४ अन्तरगत स्वास्थ्य संग सम्बन्धित सुधारात्मक नतिजाका लागि बहुपक्षीय संलग्नताको खाँचो पर्छ। यसले ‘वातावरणीय स्वास्थ्य तथा मौसम परिवर्तनको प्रतिफललाई सम्बोधन’ नामक केन्द्रित क्षेत्रलाई ध्यान दिएको छ। यस केन्द्रित क्षेत्रले हावाको गुणस्तर नियन्त्रण, खानेपानीको गुणस्तर सर्वेक्षण, जोखिमपूर्ण रसायनबाट स्वास्थ्यस्तमा देखिने असर, तथा मौसम परिवर्तनमा स्वास्थ्यको ग्रहणतामा देखिएका चुनौतीको सम्बोधन गर्छ, जुन स्वास्थ्य संस्था तथा सेवा व्यवस्थापनमा समान रुपमा संलग्न हुन्छन्।
स्वास्थ्य प्रबर्धन र अधिकार
नेपालको संविधान –२०७२, जनस्वास्थ्य ऐन – २०७५, राष्ट्रिय स्वास्थ्य नीतिलगायत समय–समयमा प्रकाशित कानुनी प्रावधानलाई अक्षरशः कार्यान्वयन गर्न सरोकारवाला सवैले प्रण गर्नु पर्दछ। कुनै पनि स्वास्थ्य समस्या देखिनासाथ समयमै र सही संस्थामा परीक्षण, परामर्श र औषधि सेवन गर्नेबारे विभिन्न सञ्चार माध्यम स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार माध्यमबाट व्यापक जनचेतना अभिबृद्धि गर्नु पर्दछ।
केन्द्रका विभिन्न तारे होटलमा मनाइने विश्व स्वास्थ्य दिवस हरेक स्वास्थ्य संस्था परिसर, जन भेलालगायत समुदायस्तरसम्म मनाउनु पर्दछ। समुदायस्तरसम्मका स्वास्थ्यकर्मीको सहभागितामा जनताको स्वास्थ्यसम्बन्धी अधिकार जनस्तरमा प्रत्याभूत गराउन विद्यालयस्तरदेखि विभिन्न लेख, कविता, वादविवादलगायत रचनात्मक र चेनतामूलन कार्यक्रम परिचालन गर्नु पर्दछ। हरेक नागरिकस्तरका स्वास्थ्यसम्बन्धी अधिकारबारे जानकारी गराउनुपर्छ भने स्वास्थ्य सेवाग्राहीलाई पनि जनस्वास्थ्यसम्बन्धी कानुनी प्रावधानबारे तालिम तथा अभिमूखिकरण दिनुपर्दछ। समुदायको स्वास्थ्य र अधिकारको प्रत्याभूत गर्न यससम्बन्धी सुपरिवेक्षण तथा अनुगमन गर्नुपर्दछ र कार्यान्वयन भए/नभएको यकिन गरी आवश्यक सुधार गर्नुपर्दछ।