प्याथोलोजी विषय बिरामीको रोग निदान र उपचारको क्रममा उपयोग हुने निकै महत्वपूर्ण विषय हो। बिरामीहरू प्रायः अप्रत्यक्ष र कहिलेकाहिँ प्रत्यक्ष संसर्गमा आउने यो विषयको महत्व बिरामीहरुलाई थाहा हुन नसक्ला तर अस्पतालका अन्य विषयका डाक्टरहरुलाई राम्ररी थाहा हुन्छ। अस्पतालमा आउने करिब ८० प्रतिशत बिरामीहरु प्याथोलोजी विभागसँग प्रत्यक्ष–अप्रत्यक्ष रुपमा जोडिएका हुन्छन्। बिरामीको उपचारमा यति धेरै महत्वपुर्ण हुने यस विषय उपेक्षामा परेको छ । संसारमा द्रूत गतिमा विकास भइरहेको यो विषय हाम्रो देशमा भने अपेक्षित मात्रामा बिकास हुन सकेको छैन।
प्याथोलोजी विशेषत क्यान्सरको निदानमा केन्द्रित विषय हो। समाजमा यसको महत्व भिन्न किसिमले परिभाषित छ वा भनौं धेरैले यो विषयको महत्व बझेका छैनन्। धेरैको भनाइ छ, ‘क्यान्सर लागेका बिरामीहरुका लागि परीक्षण महङ्गो हुन्छ। सामान्य बिरामीहरुलाई भन्दा क्यान्सरका परीक्षणहरु निस्चय नै महङ्गो छन्। परीक्षण महङ्गो भएका कारणले धेरै बिरामीहरु डाक्टरहरुले मागेको परीक्षण गर्न मानिरहेका हुँदैनन्। यहाँ बुझ्न पर्ने कुरा के छ भने केही हजारको परीक्षण गर्न नमान्दा क्यान्सरको उपचारमा चाहिने भन्दा लाखौँ बढी खर्च हुने गर्छ।’
हाम्रो देशमा आज थुप्रै क्यान्सर विशिष्टिकृत अस्पतालहरु खुलेका छन् तर त्यहाँ परीक्षणको सन्दर्भमा के कस्तो व्यवस्था गरिएको छ त? प्याथोलोजी परीक्षणको अवस्था कस्तो छ त ? एक अर्ब लगानीमा क्यान्सर अस्पताल स्थापना भएको छ तर त्यस अस्पतालमा क्यान्सरको विशेष परीक्षणको व्यवस्था कस्तो छ त ? यो समालोचना गर्न पर्ने बेला आएको छ। धेरै परीक्षणहरु देश बाहिर पठाइन्छन्। १० देखि १५ हजार पर्ने जाँच देश बाहिर पठाइन्छन्। अझ विडम्बनाको विषय त यो छ भने नेपालमै गर्न सकिने विशिष्टिकृत जाँच पनि उही लहैलहैमा लागेर बाहिर गइरहेका छन्। क्यान्सर अस्पतालमा शैयामात्र राखेर हुदैन। सम्पूर्ण उपचारको व्यवस्था मिलाउन उत्तिकै महत्वपूर्ण छ। जति महत्व शैयाहरुको छ उत्तिकै या भनौ अझ बढि महत्व रोग परीक्षणको पनि छ।
अपूर्ण परीक्षणका कारणले अर्कै रोगको औषधि खाएर हुने स्वास्थ्य र पैसाका खर्चको लेखाजोखा पनि हुनुपर्छ। नेपालमा बच्चाहरुको क्यान्सरका धेरै औषधिहरु निःशुल्क पाइन्छन्। गलत रोगको उपचार भए के हुन्छ ?
ती अस्पतालका म्यानेजरहरूलाई चिन्ता छैन। परीक्षणका लागि देश बाहिर पठाइ हालिन्छ नि! यस्तो सोच लिएर हामी कहिलेसम्म रहने? देशको पैसा कति समयसम्म बाहिर पठाइरहने ? हाम्रो सीपलाई परिस्कृत बनाउँदै लाने कि नलाने ? हामी आत्मनिर्भर कहिले हुने?
बाहिर पठाउन पनि सहज छैन। आवश्यक परेमा पठाउनु पनि पर्छ। बाहिर पनि परीक्षणलाई भनेर निजी प्रयोगशाला पुर्याइन्छन्। त्यस्ता प्रयोगशालाको प्रभावकारिता कति ? बाहिर पठाउँदा त्यहाँका प्याथोलोजिस्टसँग सम्पर्क गर्न सकिन्न। डाक्टर र प्याथोलोजीस्टको प्रभावकारी सञ्चारको कति महत्व छ भनिरहन पर्दैन।
परीक्षणमा लगानी गर्नु पर्छ। यसको विकल्प छैन।
यस विषयमा अर्को प्रसङ्ग पनि आउँछ। हाम्रा प्रत्यक्ष बिरामी हेर्ने डाक्टर क्लिनिसियनहरुले हामीलाई विश्वास नगरेको अवस्था पनि हो। बाहिर पठाए राम्रो रिपोर्ट आउँछ भन्ने आशा पनि होला। यस्तो सोच राख्ने हाम्रा साथीहरुले के बुझ्न पर्छ भने हामी उही अस्पतालबाट पढेका हौँ। हामीले उस्तै उस्तै नम्बर ल्याएका पनि हौँ। हाम्रो क्षमतामा खासै फरक छैन।
अर्को ल्याबमा समस्या भनेको कमिसन र बिचौलिया प्रवृत्ति हो । परीक्षणका लागि भनेर स्याम्पल पठाउनेलाई १० प्रतिशतदेखि ८० प्रतिशतसम्म कमिसन दिने गरेको पाइन्छ। बिचौलिया प्रवृत्ति मानव बिकासको क्रममा उत्पादक र प्रयोगकर्ताको सहजताका लागि आएपनि आजकाल यसमा आएका विकृतिबाट मेडिकल व्यवसाय पनि अछुतो छैन। यसमा कुरा प्रस्ट छ, ‘जाँच गर्नु पर्दा लाग्ने खर्च भन्दा बढि कमिसन लिएर पाएको ल्याबको रिपोर्ट कस्तो हुन्छ ? यहाँ ल्याब सञ्चालकहरुको दोष त छँदै छ बिरामी प्रत्यक्ष हेर्ने डाक्टरहरुले पनि बिचार पुर्याउनु पर्छ।
स्याम्पल लिएर ल्याबसँग बार्गेनिङ गर्दै हिड्ने प्रवृत्ति पनि छ। सेवा प्रदायक र सेवाग्राही बीचको दूरी टाढा भएमा कहिल्यै राम्रो हुन सक्दैन।
सामान्य प्याथोलोजीको सेवाहरु जस्तै सामान्य सुईबाट मासुका कोशिकाहरु तानेर क्यान्सर पुर्याउन सकिन्छ। मासुको टुक्रा काटेर गर्ने टेस्ट (बायोप्सी) पनि सस्तोमा गाउँ–गाउँका अस्पतालहरुमा सञ्चालन गर्न सकिन्छ। यस्ता आधारभूत स्वास्थ्य सेवा नपाएर बिरामीहरु स्वास्थ्य केन्द्रमा ढिला आउने गर्छन्। त्यो बेलासम्म बिरामीहरुको रोग निकै जटिल बनिसकेको हुन्छ।
संसार सानो रगतको थोपामात्र लिएर मानिसको शरीरमा भएका र पछि हुनसक्ने रोगहरु पत्ता लगाउने उपचार पद्धतिको बिकासमा अग्रसर भइरहेको छ। हाम्रो देशका बिरामीहरु सामान्य परीक्षणबाट बञ्चित हुनु बिडम्बना हो।
यसका साथसाथै हामीले पनि संसारमा भएकाजस्तै अत्याधुनिक मोलिक्युलर तहमा गएर रोगको निदान र उपचार हुने ल्याब र अस्पताल बनाउनुपर्छ। ं यस्तो ल्याब या अस्पताल कमसेकम देशको कुनै एक स्थानमा हुनुपर्छ।
यसमा केही दोष यस विषयका विशेषज्ञहरूको पनि होला। प्याथोलोजिस्टहरुले पनि देश बिदेशमा गएर अत्याधुनिक रोग निदानका पद्धतिहरू सिकेर आउन जरुरी छ। आफूलाई समय सापेक्ष नया सिपहरुसँग अभ्यस्त गराउन जरुरी छ। धेरै डाक्टरहरु त्यसमाथि भर्खर विशेषज्ञ भएका डाक्टरहरुले यसमा निकै ठुलो फड्को मरिरहनुभएको छ। तर उहाँहरुलाई उहाँहरुको सिपको सही सदुपयोग हुने वातावरण हामी सबैले मिलेर बनाइदिनु पर्छ ।
किताबमा मात्र घोत्लिने बानी भएका डाक्टरहरु विशेषज्ञको तालिम लिएर दक्ष भइन्जेलसम्म ४० उमेरको आसपास पुग्छन्। त्यसबेलासम्म उनीहरुमा समाजको वास्तविक यथार्थतासँग अभ्यस्त हुँदैनन्। त्यसकारण पनि डाक्टरहरूमा निराशा र पलायन हने सोच आउने गर्छ। प्रत्येक वर्ष हजारौंको संख्यामा डाक्टरहरु अमेरिका बेलायत, अष्ट्रेलिया पलाएन भइरहेकाछन्। त्यसमा प्याथोलोजीष्टको संख्या पनि उल्लेखनीय छ। अरु विषयमा आजको समयको आवश्यकता जस्तै प्याथोलोजी विषयलाई पनि प्राथमिकतामा राखेर कदम चालिनु आवश्यक छ।
-(उप प्राध्यापक डा बिनोद ढकाल (विधा) काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पतालमा प्याथोलोजी विभागमा कार्यरत छन्।)