प्रोस्टेट पुरुषमा हुने यौन ग्रन्थी हो। यौन क्रियापछि वीर्य बाहिर निस्कने क्रममा सहयोग गर्नका लागि यसले चिल्लो पदार्थ बनाउँछ। बाहिर निस्किएको ७० देखि ८० प्रतिशत तरल पदार्थ प्रोस्टेटबाट उत्पादित हुन्छ।
पुरुषमा निश्चित उमेरसम्म यसको काम रहन्छ, त्यसपछि यसको कामै छैनभन्दा पनि हुन्छ। सामान्यतः मानिस यौन रुपमा सक्रिय रहँदासम्म यसको काम हुन्छ। जब उमेर ढल्कँदै जान्छ, हर्मोनल असन्तुलन पनि आउन थाल्छ र प्रोस्टेटको आकार पनि बढ्न थाल्छ। प्रोस्टेट सबै पुरुषमा बढ्छ नै भन्ने छैन। तर, अधिकांशमा बढ्छ।
४५ वर्ष नाघेपछि पुरुषमा प्रोस्टेटको समस्या देखिने हुन सक्छ। त्यसैले यो उमेरपछि पुरुषले पिसाबमा समस्या छ कि छैन, पिसाब रोकिई रोकिई आउने, पिसाबले च्याप्नेबित्तिकै शौचालय जान हतार हुने, शौचालय जाँदा पनि पिसाब नआउने, अन्त्यमा तप–तप चुहिने, ननिख्रनेजस्ता समस्या छ कि छैन भनेर दैनिक रुपमै ख्याल गर्नुपर्छ। यदि यस्ता लक्षण देखिएका छन् भने युरोलोजिस्टसँग परामर्श लिनुपर्छ।
कसैको उमेरअनुसार प्रोस्टेटको आकार बढ्दै गयो भने पनि डराउनुपर्दैन, जबसम्म यसले पिसाबमा समस्या ल्याउँदैन, तबसम्म यसलाई केही गर्नुपर्दैन। प्रोस्टेट ३०–४० ग्रामकै किन नहोस्, पिसाबको प्रवाहमा समस्या गरेको छैन भने केही गर्नुपर्दैन। तर, समस्या आएको छ, राति पटक–पटक उठ्नुपरेको छ, पिसाबले गर्दा निद्रामा समस्या आएको छ, दैनिक काममा असर गरेको छ भने उपचार चाहिन्छ।
के हुन्छ समयमा उपचार गरिएन भने?
पिसाबथैलीको मुखमा रहने प्रोस्टेटले पिसाब नलीलाई घेरेर बसेको हुन्छ। जब पिसाबको प्रवाहमा अवरोध आउँछ र पिसाब बाँकी रहिरहने हुन्छ भने पिसाबमा संक्रमण हुने डर हुन्छ। यदि सधैं यस्तै समस्या हुन्छ भने पिसाब थैली बिस्तारै खुम्चँदै जान्छ। त्यसपछि पनि उपचार गरिएन भने पिसाब मिर्गौलातिर नै फर्कने सम्भावना हुन्छ र संक्रमण झन् बढ्ने सम्भावना हुन्छ। लामो समयसम्म प्रोस्टेटको समस्यालाई वास्ता नगर्दा दुवै मिर्गौला फेल भएका उदाहरण पनि छन्।
के प्रोस्टेटलाई शल्यक्रिया गरेर निकाल्न सकिन्छ?
निश्चित उमेरपछि यो अंगको काम नहुने भएकाले यसलाई निकाल्दा कुनै ‘साइड इफेक्ट’ हुँदैन, अर्थात् प्रोस्टेटविना जिउनै नसकिने भन्ने हुँदैन। प्रोस्टेटको समस्या लिएर आएका बिरामीलाई हामी पहिले औषधि दिएर समाधानको प्रयास गर्छौं। औषधिले पनि भएन र पिसाब फेर्न गाह्रो भइराख्यो भने शल्यक्रियामा जान्छौं। पहिला चिरफारद्वारा शल्यक्रिया गर्ने गरिएकोमा अहिले अत्याधुनिक लेजर प्रविधिका माध्यमबाट शल्यक्रिया गरिन्छ।
विकसित देशमा नियमित स्वास्थ्य जाँच हुन्छ। तर, नेपालमा त्यसरी नियमित जाँच गरिँदैन। तर, ४५ वर्ष नाघेका हरेक पुरुषले वर्षमा एक पटक युरोलोजिस्टसँग परामर्श लिनु उपयुक्त हुन्छ। अल्ट्रासाउन्ड, पिसाब परीक्षण र पीएसए गर्ने हो भने प्रोस्टेटमा समस्या छ कि छैन पत्ता लागिहाल्छ।
त्यसैले पिसाबमा समस्या देखिएको छ भने कुरेर नबसौं, युरोलोजिस्टसँग परामर्श लिन नहिच्किचाऔं।
(डा श्रेष्ठ नर्भिक अस्पतालका कन्सल्टेन्ट युरोलोजिस्ट हुन्।)