'ए बाबु, जा जा त्यहाँ नजिकैको पसलबाट एक खिल्ली चुरोट मागेर लिएर आइज।'
'झट्टै यो चुरोट भित्र आगोमा सल्काएर आइज त।'
हाम्रो गाउँघरमा यो कुरा नौलो हैन। अझै पनि हाम्रा हजुरबुवा, बुवाहरुले आफ्ना नाती-छोरालाई सुर्तीजन्य पदार्थ लिन पठाउनु हाम्रो समाजमा सामान्य मानिन्छ । तर कसले सोचेको हुन्छ र, त्यो चुरोट ल्याउने र सल्काउने क्रममा अलि-अलि तान्दै तान्दै त्यो बिस्तारै एउटा बानीको रुपमा विकास भइसकेको हुन्छ।
सुर्तीजन्य पदार्थ धुवाँ र धुवाँरहित दुई खालका हुन्छन्। धुवाँ उडाउने सुर्तीजन्य पदार्थहरु चुरोट, बिडी, हुक्का, चिलिम आदि पर्छन् भने धुवाँ रहितमा खैनी, गुटका, सुर्ती, पानहरु पर्दछन्। यसमध्ये चुरोट, त्यसमा नी हाम्रो गाउँघरमा बिडी एकदमै प्रचलित छ । अचेलभरी सहरमा हुक्काको प्रवृत्ति बढ्दो क्रममा छ। युवाहरुमा फेसनका रुपमा रहेको हुक्का विभिन्न स्वादमा (फ्लेवर) उपलब्ध छ र यसले चुरोटको जस्तो हानी गर्दैन भन्ने भ्रम छ। निकोटिन नामक रसायन हुक्कामा पनि प्रशस्त मात्रमा पाइन्छ र सोही निकोटिनका कारण तलतल लाग्ने र अन्त्यमा कुलतमा फस्ने हुन्छ।
त्यसैगरि धुवाँरहित सुर्तीजन्य पदार्थमा गुट्खा, खैनी धेरै प्रयोगमा छ। निम्न वर्गले खाने गुट्खा (तुलसी) र अलिकति 'हुनेखाने' छ भने तुलसीमा राजनीगंधा (गुट्खा) मिसाएर खाने गरेको पाइन्छ। विश्व स्वास्थ्य संगठनको अनुसार, सुर्तीजन्य पदार्थले हरेक वर्ष ८० लाख मानिसको मृत्यु हुन्छ। त्यसैगरी १० लाख भन्दा बढी (जो धुम्रपान गर्दैनन्)को अरुले फालेको धुवाँका कारण अकालमै मृत्यु हुन्छ। जसमध्ये ६४ प्रतिसत महिला पर्दछन्। विश्वभरिका १ अरब ३० करोड सुर्तीजन्य पदार्थको सेवनकर्तामध्ये ८० प्रतिशत न्युन र मध्यम आय भएको देशमा बसोबास गर्दछन्।२०२० को तथ्यांक अनुसार २२.३ प्रतिशत विश्वको जनसंख्याले सुर्तीजन्य पदार्थ प्रयोग गर्छन्, जसमा ३६.७ प्रतिशत पुरुष र ७.८ प्रतिशत महिला रहेका छन्।
नेपालको एनडीएचएस २०२२ को तथ्यांक हेर्ने हो भने लगभग ५० प्रतिशत पुरुष र ७ प्रतिशत महिलाले सुर्तिजन्य पदार्थको प्रयोग गर्छन्। तथ्यांकले के पनि देखाएको छ भने नपढेका या माध्यमिक शिक्षा भन्दा कम पढेकामा सुर्तीजन्य पदार्थको प्रयोग धेरै छ।
शिक्षा सँगसँगै सुर्तीजन्य पदार्थको प्रयोग गर्नुमा अरु थुप्रै कारणहरु छन् । कसैले हजुरबुवा आमालाई सल्काउँदै दिँदै गर्दा सिके, कसैले भने जिज्ञासा र अनुभव लिन । त्यस्तै कोही भने साथीको संगतले, अरु भने देखासिकीले। सिनेमा र बिज्ञापनको पनि उत्तिकै हात छ। त्यसैगरी पार्टीमा एउटा हातमा ग्लास र अर्को हातमा चुरोट भएमात्र उसको व्यक्तित्व महान् ठान्ने भ्रम छ। हुँदाहुँदा खुशीमा मात्र हैन, मानसिक तनाबमा पनि। कसैलाई भने कारण नै चाहिँदैन, चिसो मौसम या मासु खाएर मुख चिल्लो भयो भने नि चाहिन्छ।
नसर्ने रोगको जोखिम वर्षेनी बढिरहेको छ । तथ्यांक हेर्ने हो भने हाल कुल मृत्युको ७० प्रतिशत भन्दा बढि नसर्ने रोगले ओगटेको छ । सुर्तीजन्य पदार्थ दीर्घ नसर्ने रोगहरुको एक जोखिम कारक हो। प्राय शरीरको सबै मुख्य अंगहरुलाई यसले असर पार्छ । विभिन्न किसिमका क्यान्सर, मुटु सम्बन्धि रोगहरु, मस्तिष्कघात, दम, खोकी, क्षय रोग, निमोनिया र दीर्घ श्वास-प्रश्वास अवरोध सम्बन्धि रोग, मधुमेह, पेटमा घाउ, कपाल झर्ने, छाला चाउरिने र औला नङहरु पहेलो हुने, दाँत र गिँजा बिग्रने, हाड कमजोर हुने आदि सबै सुर्तीजन्य पदार्थको परिणाम हो । तर यी सबै रोगहरु विकास हुन लामो समय लाग्छ । त्यही भएर त होला जोखिम भए नी मानिसहरुले खान छाड्दैनन्।
यस्तो पदार्थको सेवनले मानवको शरीरमा मात्र नभएर मानव जीवनको आर्थिक, सामाजिक, पारिवारिक र ब्याक्तिगतकिर्याकलापमा समेत उत्तिकै नकारात्मक असर पारिरहेको हुन्छ । त्यसैगरी अरुले फालेको धुवाँका कारण बच्चाहरुमा श्वासप्रश्वास र कानको संक्रमण हुने, दम देखा पर्ने र एक वर्ष मुनिको बच्चाको त आकस्मिक मृत्यु पनि हुन सक्छ।
हाम्रो देशमा ऐन कानुनको कमी छैन, हरेक बेथितिको लागि कानुन बनेको छ तर कमी छ त बस नियमनमा। सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार कुनै पनि सार्वजनिक स्थलहरुमा धुम्रपान तथा सुर्ती सेवन गर्न नपाइने साथै कुनै पनि बिज्ञापन गर्न नपाइने व्यवस्था छ। कसैले पनि १८ वर्ष नपुगेको र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने भनिएको छ। तर बिडम्बना, एउटा १८ वर्ष मुनिको चुरोट किन्न आयो भने नत, पसलेले दिन हिच्किचाउछ, नत सरोकारहरुले कडाइका साथ अनुगमन गरेको पाइन्छ।
सुर्तीजन्य पदार्थमा कर ४१ प्रतिशत छ, जुन वर्षेनी बढ्ने क्रममा नै छ तरपनि विश्व स्वास्थ्य संगठनको मापदण्ड ७५ प्रतिशत कर, त्यो अनुसारको कर लगाइएको छैन । सजिलै बजारमा सुर्तीजन्य पदार्थ पाउने हुनाले नि होला यसको प्रयोगकर्तामा कमी आएको छैन ।
सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाममा सरोकारवालाहरुको जिम्मेबारी संगसंगै हरेक नागरिक आफै जबाफदेही हुनुपर्छ । कुनैपनि प्रकारका सुर्तीजन्य पदार्थलाई 'नो म खान्न' भन्न सिकौ। नया सेवनकर्ताहरु बिशेषगरी किशोर किशोरी/युवाहरुलाई लक्षित गरी सचेतना कार्यक्रमहरु संचालन गरि उनीहरुलाई निरुत्साहित गरौं।
साथै सम्बन्धित निकायहरुले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई प्रभावकारी रुपमा कार्यन्वयनमा जोड दिए सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाम अवश्य सम्भव छ।
(बस्नेत उदयपुरमा जनस्वास्थ्य अधिकृतका रुपमा कार्यरत छिन्।)