लुतो, यो शब्द नसुन्ने कमै होलान्। मलाई अझैं याद छ मेरो बाल्यकाल अवस्थामा हातमा चिलाउने समस्या आएको थियो र मलाई लुतो आयो भनेर भन्नु भएको थियो। केही समय ज्यादै दुख पनि दिएको थियो र अझै याद छ राती सुत्ने बेलामा आमाले सबै शरीर भरि चिल्लो झोल वाला दबाई लगाइदिनुभएको थियो। रातको समयमा ज्यादै चिलाउँथ्यो जति चिलायो त्यति मज्जा आउने। केही समय स्कुल पनि गएको थिइन अलिक ज्यादै चिलाउने भएकोले फोका पाकेर घाउसम्म भएको थियो । आज किन किन काम गर्ने बेलामा लुतोको बिरामी सङ्ख्या देख्दा यो रोगले समुदायमा आजको समयमा पनि ज्यादै दुख दिइरहेको देख्दा केही लेख्न मन लाग्यो। यो रोग अधिकांश ज्यादै निम्न वर्गको मानिसलाई सताउने हुनाले यो रोगको त्यति चर्चा भएको पनि सुनिँदैन। फेरि यसो भनीरहँदा अलिक हुनेखानेलाई लाग्दैन भन्ने मनमा आउला। यो रोगको संक्रमणमा आउने सबैलाई दुख दिन्छ। सुन्दा सानो लाग्ने तर हेलचेक्राई गर्दा यसको दीर्घकालीन असर भएको हुनाले आज यसबारे केही जानकारी दिन मन लग्यो।
लुतो अर्थात् “स्क्याबीज” एउटा सङ्क्रामक छालाको रोग हो जसलाई “सारकोप्टेस स्क्याबिइ भनिन्छ। यी मसिना जुम्रा जस्तै आखाले देख्न नसकिने माइटहरू छालामा पसेको हुन्छन्, जसले तीव्र चिलाउने गर्छ र ज्यादा चिलाउँदा दागहरू पनि निम्त्याउन सक्छ। यो सङ्क्रमित व्यक्तिसँग शारीरिक सम्पर्कबाट वा सङ्क्रमित व्यक्तिले प्रयोग गरेको ओछ्यान, लुगा, तौलिया वा सरसामग्रीहरुबाट फैलिन्छ। यो रोग बालबालिका र वयस्कमा ज्यादा देखिने र अलिक भिडभाड जस्तै स्कुल, होस्टेल, जेल, क्याम्प आदि ठाउँमा जहाँ सरसफाइको कमी भएको ठाउँमा यो रोग ज्यादा फैलने गर्छ।
यस रोगको लक्षणको कुरा गर्दा शरीरको विभिन्न अङ्गहरूमा जस्तै औलाहरूको बिचमा, काखी, कम्मरको रेखा तिर, कुहिनोको भित्री भाग खुट्टाको पैताला र महिलाको स्तन र पुरुषको गुप्ताङ्गमा रातको समयमा चिलाउने गर्छ जसको कारणले गर्दा सानो सानो रातो फोकाहरू देखिनुका साथै सङ्क्रमण भएको अवस्थामा पाक्ने पनि गर्छ। लुतो गराउने माइटहरू छालाको माथिल्लो तहमा बस्ने हुन्छ जहाँ वयस्क पोथी माइटले अण्डा दिन्छ। जुन अण्डा १-२ हप्तामा वयस्क माइटमा विकसित हुन्छ। शरीरमा माइट प्रोटिन र माइटको मलको कारणले एलर्जीको प्रतिक्रिया गर्दा चिलाउने गरेको हो र ज्यादा चिलाएमा बिरामीको भित्री छालामा सङ्क्रमण फैलिन्छ जसलाई छालाको घाउ भनिन्छ र सङ्क्रमण ज्यादा भएको अवस्थामा गम्भीर समस्या पनि आउन सक्छ यदि सङ्क्रमण गराउने ब्याक्टेरिया रक्त प्रवाहमा प्रवेश गर्यो भने अर्को जटिलता निम्त्याउँछ जसलाई सेप्टीकेमिया भनिन्छ।
अधिकांश लुतोबाट सङ्क्रमित व्यक्तिहरूमा १०-१५ ओटा माइट हुन्छन् भने असामान्य अवस्थामा रोगसँग लड्ने क्षमता घटेको बेला एचआइभीबाट सङ्क्रमित व्यक्तिहरूमा हजारौँ लाखौँ माइटबाट सङ्क्रमित हुनेगर्छ र जसको कारणले ज्यान जोखिम पनि हुन सक्छ जसलाई क्रस्टेड स्क्यावीज भन्ने गरिन्छ। विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार,अफ्रिका,दक्षिण पूर्व एसिया,मध्य र दक्षिण अमेरिका र प्रशान्त टापुहरूको उष्णप्रदेशीय क्षेत्रहरूमा लुतोको प्रकोप ५ प्रतिशत देखि ५० प्रतिशतसम्म बालबालिकाहरूमा देखिएको छ। यो रोग हेर्दा सामान्य लाग्छ तर धेरै वटा अध्ययनले देखाए अनुसार लुतोको कारणले मिर्गौला रोग (acute post-streptococcal glomerulonephritis) र मुटु सम्बन्धी रोग (rheumatic fever and rheumatic heart disease) पनि लाग्ने सम्भावना देखाएको छ र समयमा उपचार नगरेमा १० प्रतिशत बाच्चाहरुमा तीव्र मिर्गौला क्षति (Acute Renal Disease) हुनुको साथै लामो समय सम्म लुतोको सङ्क्रमण हुँदा स्थायी रूपमै मिर्गौला क्षति हुन सक्ने देखिएको छ। विश्वव्यापी रूपमा लुतोले कुनै पनि समयमा २०० मिलियन भन्दा ज्यादा मानिसहरूलाई दुख दिने गरेको तथ्याङ्क छ र नेपाल पनि यो रोग बाट अछुतो छैन नेपाल सरकारले यस रोगलाई उपेक्षित उष्णप्रदेशीय रोगको (NTD) सुचीमा राखेको छ।
यो रोगको निदान भिजुअल इमेजिङ प्रविधिबाट गर्न सकिन्छ तर यो सामान्यतया आवश्यक छैन क्लिनिकल मान्यता र बिरामीको लक्षण चिन्हको आधारमा निदान गर्न सकिन्छ। लुतोको उपचार क्रिम वा औषधिबाट गर्न सकिन्छ। यो रोगबाट जोगिन लागि सरसफाइमा ध्यान दिनुपर्छ भने सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका ओछ्यान र कपडाहरू प्रयोग गर्नु हुँदैन र सङ्क्रमित व्यक्तिको कपडाहरूलाई तातो पानीले धुनुका साथै घाममा सुकाउनुपर्छ र धुन नमिल्ने सामानहरूलाई प्लास्टिकको झोलामा एक हप्ताको लागि बाँधेर राख्नु पर्छ हावा पस्न दिनु हुँदैन त्यसो गर्दा लुतो गराउने माइटहरू आफै नष्ट भएर जाने गर्छ र सङ्क्रमण फैलिनबाट जोगिन्छ। ध्यान दिनुपर्ने कुरा चाहिँ यदि परिवारको कुनै एउटा सदस्यलाई लुतोबाट सङ्क्रमण भएको छ भने घरका सबै सदस्यहरूलाई लुतोको उपचार गर्नुपर्छ जसले गर्दा लुतो गराउने माइटहरू अरूमा फैलिन पाउँदैन।
अहिले पनि यो रोग हाम्रो समुदायमा देखिने गरेको छ र सेभ द अर्थ सुनसरीद्वारा सञ्चालित विश्वास परियोजनाले सुनसरी जिल्लामा उपेक्षित उष्णप्रदेशीय रोगको क्षेत्रमा काम गर्दै आएको र आ.व. २०८०/८१ को कार्यक्रममा सुनसरी जिल्ला अन्तर्गतको पालिकामा घर-घरमा गएर समुदायमा लुकेर रहेको छाला रोग सम्बन्धी खोज पडताल कार्यक्रम गर्दा ११९३ जना व्यक्तिहरुलाई छाला सम्बन्धी सेवा दिएका थियौ जसमध्ये २९१ जना लुतोको बिरामी भेटिएको थियो यसको बिरामी दर हेर्दा २४ प्रतिशत हो। यो त एउटा सानो अंश मात्र हो। यो रोगको प्रकोप हाम्रो समुदायमा अझै धेरै छ। बिरामीसँग कुरा गर्दा आफै बिरामीले पनि वास्ता नगरेको र स्वास्थ्य संस्थामा पनि पर्याप्त लुतो उपचार गर्ने औषधि नभएको गुनासो सुनियो।यदि यस रोगलाई सामान्य रूपमा लिएमा कुनै दिन यसले महामारीको रूप लिन सक्छ। अब यसलाई समुदायमा स्वास्थ्य प्रवर्धन गर्नु आवश्यक साथै स्थानीय सरकारबाट पनि यस्ता समस्याहरुलाई गहन रूपमा लिन जरुरी देखिन्छ।
(लेखक जनस्वास्थ्यकर्मी हुन्।)