प्रयागराज, उत्तरप्रदेशमा आयोजित महाकुम्भ मेला धार्मिक आस्था र वैज्ञानिक तथ्यको अनुपम संगम हो। यो मेलामा त्रिवेणी सङ्गम (जहाँ गंगा, यमुना र पौराणिक सरस्वती नदीहरू एक आपसमा मिसिन्छ)मा स्नान गर्ने परम्परा छ। यसलाई पापमुक्ति र आत्मिक शुद्धिको माध्यम मानिन्छ। त्रिवेणी सङ्गममा स्नान गर्नु धार्मिक र वैज्ञानिक महत्त्वको प्रतीक हो। गंगा जलको जैविक गुणले पवित्रताको भावना मात्र नभई वैज्ञानिक दृष्टिले स्वास्थ्य र शुद्धता प्रदान गर्दछ। गंगा, यमुना, र सरस्वतीको यो पवित्र संगम मानव जीवन र प्रकृतिको महत्त्वलाई उजागर गर्ने अमूल्य परम्परा हो। गंगाजलको जैविक गुणले पवित्रताको भावना मात्र नभई वैज्ञानिक दृष्टिले स्वास्थ्य र शुद्धता प्रदान गर्दछ।
गंगाजल: पवित्रताको जैविक कारण
गंगा नदीको जल पवित्र र सधैं शुद्ध रहन्छ भन्ने मान्यताका पछाडि गहिरो वैज्ञानिक आधार छ। गंगा नदीमा पाइने ब्याक्टोरियोफेगहरूले यस जललाई अद्वितीय बनाउँछ। ब्याक्टोरियोफेग त्यस्ता भाइरस हुन्, जसले मानिसलाई संक्रमण गर्दैनन्। विशेषगरी हानिकारक ब्याक्टेरियाहरू माथि संक्रमण गरि पूर्णरूपमा नस्ट गर्न प्रभावकारी हुन्छन्।र, फरक-फरक ब्याक्टेरियाहरुको लागि विशिष्ट प्रकारका ब्याक्टोरियोफेग भेटिन्छन्।
गंगा जलमा सक्रिय ब्याक्टोरियोफेगहरूको उपस्थिति थुप्रै अनुसन्धानहरूले प्रमाणित गरेको छ। यी ब्याक्टोरियोफेगहरूले रोग लाउने ब्याक्टेरियाहरूलाई लक्षित गरेर नष्ट गर्छन्। विभिन्न समयमा प्रकाशित अध्ययनहरुले गंगा जलमा पायोगेनिक (रोग उत्पन्न गर्ने) ब्याक्टेरियाहरूको संख्या निकै कम रहेको देखाएका छन्। यसको मुख्य कारण ती ब्याक्टेरियाहरूमाथि सक्रिय ब्याक्टेरियाहरूको प्रभाव हो। गंगा जलमा रहेका यी जीवाणुनाशक ब्याक्टोरियोफेगहरूले कुनै पनि एन्टिबायोटिकले ठिक पार्न नसक्ने मल्टिड्रग-रेसिस्टेन्ट ब्याक्टेरिया (एमडीआर)माथि पनि प्रभावकारी असर गर्दछ। यसले शरीरलाई यी ब्याक्टेरियाको असरबाट बचाउँदै रोगजन्य प्रभावलाई रोक्छ। गंगाजलमा पाइने यी जैविक घटकहरूले यो जललाई बग्दै जाँदा पनि स्वाभाविक रूपमा शुद्ध राख्छन्।
त्रिवेणी सङ्गममा स्नानको लाभ
गंगाका विभिन्न शाखा नदिहरुमा जस्ता-जस्ता प्रकारका ब्याक्टेरिया मिसिन सक्छन्, त्यसै अनुरुप अलग-अलग किसिमका ब्याक्टेरियाफेगहरु भेटिन्छन्, तसर्थ जहाँ-जहाँ गंगाका शाखाहरु एकआपसमा मिसिन्छन, अर्थात् त्रिवेणीहरुमा, त्यस्ता दुवै नदिहरुमा पाईने फरक-फरक ब्याक्टोरियोफेग मिसिन्छन् र तिनको विविधता झनै बढ्छ।त्रिवेणी सङ्गम (जहाँ गंगा, यमुना, र सरस्वती नदीहरू एक आपसमा मिसिन्छन्), त्यस स्थानमा स्नान गर्दा स्वास्थ्यका लागि लाभदायक हुन्छ। यस्ता स्नान द्वारा गंगा जलमा रहेका ब्याक्टोरियोफेगहरूले शरीरमा रहेका हानिकारक ब्याक्टेरियाहरूलाई नष्ट गर्न मद्दत गर्छ र शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सक्रिय बनाउँछ। यसले छालामा संक्रमणको जोखिमलाई कम गर्दछ र शारीरिक ताजगी ल्याउँछ। चिसो पानीले शरीरको रक्तसञ्चार सुधार्छ र मांसपेशीको तनाव कम गर्छ। यसले मानसिक शान्ति र ऊर्जा पनि प्रदान गर्दछ।
हिन्दु परम्परा अनुरुप मृत्युशैयामा रहेका मानिसहरुलाई गंगाजल पिउन लाउने चलन समेत गंगाको पानीको यहि विशिस्ट गुणको कारणले हो । मृत्यु पश्चात मानिसहरुको आन्द्रामा रहेका मलजन्य ब्याक्टेरिया हरु सक्रिय हुन्छन र मृत शरीर गन्हाउन थाल्दछ ।मृत्यु आगाडी गंगाजल पिउन पाएकाहरुको आन्द्रा भित्र पाईने त्यस्ता ब्याक्टेरिया सक्रिय हुन पाउंदैन र मृत शरीर धेरै बेरसम्म गन्हाउँदैन ।
सुर्योदयको समयमा स्नानको वैज्ञानिक महत्त्व
सुर्योदयको समयमा स्नान गर्दा धार्मिक मात्र नभई वैज्ञानिक फाइदाहरू पनि पाइन्छ। बिहानको सुर्योदयको किरणले शरीरको सर्केडियन रिदम (जैविक घडी) सन्तुलनमा राख्छ। यसले मानसिक शान्ति, राम्रो निद्रा, र ऊर्जा प्रदान गर्दछ। बिहानको घामको किरणले भिटामिन-डी उत्पादन गर्छ, जसले हड्डी बलियो बनाउँछ। चिसो पानीले रक्तसञ्चार सुधार गर्दै मांसपेशीको तनाव कम गर्छ र स्नानले शरीरको प्रतिरोधात्मक प्रणालीलाई बलियो बनाउन सहयोग पुर्यापउँछ।
महाकुम्भको समयमा स्नान गर्नु कति उचित?
गंगा नदीको आत्म-शुद्धिकरणको क्षमता विशेष छ तर यस प्रक्रियालाई न्युनतम २-४ दिनको समय लाग्छ।त्यसैले लाखौँ भक्तजनहरूले गंगा नदीमा एकै पटक स्नान गर्दा केही स्वास्थ्य चुनौतीहरू उत्पन्न हुन सक्छन्। यस्ता भीडभाडले पानीमा मलजन्य ब्याक्टेरिया र अन्य सूक्ष्मजीवहरूको मात्रा बढाउन सक्छ, जसले रोगहरूको जोखिम बढाउन सक्छ। विशेषगरी, फेकल कोलिफर्म र अन्य हानिकारक सूक्ष्मजीवहरूको उपस्थितिले मानिसहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ।
हालै, २०२५ मा प्रयागराजको महाकुम्भ मेलामा गंगा नदीको पानीको गुणस्तरप्रति गम्भीर चासो व्यक्त गरिएको छ। जनवरी १४ तारिखको दिन मात्र २५ लाखभन्दा बढी भक्तजनहरूले संगममा स्नान गरेका थिए। यस्तो अवस्थामा गंगा नदीका साना खोलाहरूले पूर्ण रूपमा आफूलाई सफा गर्न सकेका छैनन्।मिडिया रिपोर्टका अनुसार, उक्त दिन बायोलोजिकल अक्सिजन डिमान्ड (बीओडी) स्तर ४ मिलिग्राम प्रति लिटर थियो, जुन अनुमत सीमा ३ मिलिग्राम प्रति लिटरभन्दा बढी हो। यो अवस्था गंगानदीको पानीमा जैविक पदार्थहरूको मात्रा अत्यधिक रहेको संकेत हो जसमा मलमुत्र समेत पर्दछन्। यस्ता चाडपर्वको समयमा उच्च भीडभाडले गंगा नदीको पानीलाई पूर्ण रूपमा सफा गर्न थप समय लाग्ने देखिएको छ। यसर्थ, महाकुम्भ जस्तो समयमा गंगाको संगममा स्नान गर्दा बैज्ञानिक स्वास्थ्य लाभ सिमित हुन सक्छ।