डाक्टरी पेशा हो की समाजसेवा भन्ने कन्फ्युजन मेरो दिमागमा बेलाबेलामा चलीरहन्छ। नेपाली समाजलाई डाक्टरी समाजसेवा हो र हुनुपर्छ भन्ने भ्रम छ। यहाँ गरिव बिरामीले उपचार नपाउँदा, प्राइभेट अस्पतालमा उपचारका लागि चर्को शुल्क तिर्नुपर्दा डाक्टरी पेशा सेवाबाट व्यापारमा परिणत भएको आरोप लाग्ने गर्छ। केहि समय अघि मिडियामा आएको सुन्दरमणी दिक्षित सरको लेख (जसको शिर्षक नै चित्त नबुझेकोले मैले यहाँ राखिन) ले मेरो मनमा फेरी यो प्रश्न उठाइदियो। हुन त उहाँको लेख सस्ता शब्दहरु चयनका कारण सर्वसाधारणमा चर्चित रह्यो भने मेडिकल क्षेत्रमा निकै नै विवादास्पद बन्न पुग्यो।
सुन्दरमणी सरका तिखा आवाज मैले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दिक्षान्त समारोहमा र पाटन अस्पतालको एउटा ग्रान्ड राउन्डमा सुनेको थिए। जहिले पनि उहाँका शब्दहरु तिखा तर विचारहरु भने सुन्दर नै हुन्छन्। धेरैजसो मेरा विचारहरु पनि उहाँका विचारसंग मेल खान्छन्। तर उहाँको पछिल्लो त्यो लेख भने मलाई अल्लि चित्त बुझेन। डाक्टर माझ सोसल मिडियामा पनि उहाँको लेखको बिरोध भएको छ। त्यो लेखमा पोखिएका उहाँका विचारहरु भन्दा मेरा केही फरक धारणा छन्। र शब्द चयनप्रती पनि मेरो आपत्ती छ। ‘डाक्टरी पेशा सबैभन्दा सम्वेदनशील हो, शिक्षक केही मात्रामा सम्वेदनशील हुनुपर्छ, वकिलले त सम्वेदनशील हुने कुरै छैन।’ उहाँको लेखमा उल्लेख छ।
मेरो विचारमा सबै पेशा उत्तिकै जिम्मेवार हुन्छन्। हरेक पेशाकर्मीले आफ्नो जिम्मेवारी, महत्व बुझेको हुनुपर्छ र त्यसैअनुरुप दायित्व निभाउनु पनि पर्छ। ‘वकिलले सम्वेदनशील हुने कुरै छैन’ भनेर के भन्न खोज्नुभएको होला ? उसको पनि आफ्नो ‘क्लाइन्ट’ सँगको सम्बन्ध हुन्छ, उसैप्रती उसको जिम्मेवारी हुन्छ। पेशाकै आधारमा मान्छे ठुलो सानो वा जिम्मेवारी बढी कम भन्ने हुँदैन भन्ने मलाई लाग्छ। गाडी चालकहरुको आफ्नो कामप्रतीको असम्वेदनशीलता, हेलचेक्राइले धेरैको ज्यान गएको हामीले सुनेका र पढिरहेका पनि छौं।
‘कुनै महिलाले डाक्टरको अगाडि लुगा खोल्छिन्, त्यत्रो विश्वास गर्छिन्, यो बिरामीले डक्टरलाई दिएको इज्जत हो। हामीलाई समाजले कत्रो इज्जत दियो, यत्रो इज्जत कुन चाँही पेशाले पाउँछ।’ उहाँको लेखमा उल्लेख छ। यो उदाहरण आँफैमा नपच्दो छ। हरेक पेशामा सेवा दिने र सेवा लिने बीच आफ्नै प्रकारको विश्वासको सम्बन्ध हुन्छ। कुनै होटलमा गएर तपाईं ढुक्कसँग खाना खान सक्नुहुन्छ, खानामा विष हालेको छ कि भनेर शंका गर्नुहुन्न। आफूले अपराध नै गरेको छ भने पनि आफ्नो वकिल सामू सबै कुरा खुलस्त भन्नुहुन्छ। चुनावको बेला नेताहरुलाई जिताएर हामी आफ्नो देशै उनीहरुलाई सुम्पेका हुन्छौं। कपाल काट्न बस्दा धारिलो चक्कु लिएको नाई सामू आफ्नो घाँटी थापेर चुपचाप ढुक्कसँग बस्नुहुन्छ।
यी सबै विश्वासकै उदाहरणहरु हुन्। संसार विश्वासमै अडेको छ। त्यसैले बिरामीले आफू सामू नाङिएर जाच्न दिनु डक्टरको इज्जत हो भन्ने उदाहरण अपाच्य लाग्यो। यो त डाक्टर र बिरामीको बिचको सम्बन्ध र विश्वासको एउटा पाटो हो। अनी नभुल्नु पर्ने अर्को कुरा के हो भने सबै डाक्टरले विपरित लिङ्गको बिरामी जाँच गर्दा बिरामी पुरुष भए पुरुष र महिला भए महिला सहयोगी राख्नुपर्छ र राख्ने पनि गर्छन्। यो महिला, पुरुष डाक्टर दुबैको हकमा लागू हुन्छ। सर्वसाधारणले यो बुझ्नु जरुरी छ र आफ्नो जाँचको बेलामा त्यसको माग राख्न पाउँछन्।
मलाई अर्को मन नपरेको उदाहरण हो ‘डाक्टर खान नपाउने हुँदैनन्, खाए लाएको परिवारबाट आएको हुन्छ, झन् खाएलाएको हुन्छ, त्यसैले उ सम्वेदनशील हुनुपर्ने, सभ्य हुनुपर्ने।’ भावको हिसाबले उहाँका कुरा ठिकै हुन् तर ४०/५० लाख खर्च गरेर एमविविएस तथा १ करोडसम्म खर्च गरेर एमडी सकेपछि त्यो डाक्टरले अब म यो समाजलाई के दिन सक्छु, देशलाई के दिन सक्छु भनेर सोच्नु पर्छ भन्ने कुरा तपाईं वा यो समाजले सोच्छ भने त्यो दिवास्वप्न बाहेक केही हुँदैन। हो छात्रवृत्तिमा पढेको डाक्टरसँग यो आशा राख्नु ठीक हो, देशले पढाएको छ भने त्यो गर्नु उसको जिम्मेवारी पनि हो। शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा एमवीवीएस गरेका प्रायः सबैले ‘बोन्ड’अनुसार गाउँगाउँमा गएर सेवा पनि गरिरहेकै छन्। तर सबै डाक्टरलाई एउटै पोल्टामा हालेर ‘तैंले समाजसेवा नै गर्नुपर्छ, तैंले देश छोड्न पाउँदैनस्, अमेरिका, बेलायत उड्न पाउँदैनस्’ भन्नु हिटलरीपना हो।
की देशले उनिहरुका लागि राम्रो सम्भावनाका बाटोहरु बनाउन सक्नुपर्छ होइन भने आफ्नो क्षमताअनुसारका राम्रा मौकाहरु खोज्दै उ कही पनि जान स्वतन्त्र हुन्छ। हो, तपाईंलाई देश छोड्न मन नलाग्ला, मलाई नलाग्ला, अरु केहीलाई नलाग्ला, तर डाक्टर भयो भन्दैमा सबैलाई यो भावना आउनुपर्छ भन्ने केही हुँदैन। र त्यो भावनाको छैन भन्दैमा उ नराम्रो, कम सम्वेदनशील भन्न मिल्दैन। उहाँकै शब्दमा ‘डाक्टरमा अलिकति समाजसेवा, राष्ट्र सेवा, जनताको सेवाको भावना आएन भने डाक्टरी पेशामा सम्वेदनशीलता रहँदैन।’ यही कुरा सबै पेशाकर्मीहरुबाट खोजिनुपर्ने हैन र ? कर्मचारी, नेता, इन्जिनियर, प्रहरी, मिडियाकर्मी आदी सबैबाट। यो प्रकारको देशप्रेम, समाजसेवीभाव किन डक्टरहरुसँग मात्र खोजिन्छ भनेर मैले अझैसम्म बुझ्न सकेको छैन।
डक्टरी पेशा हो की समाजसेवा ?
यो पेशामा गरिने बिरामीको सेवा, उपचारको हिसाबले धेरैलाई समाजसेवा हो की भन्ने लाग्न सक्छ। तर आखिरमा यो पेशा नै हो। सरकारी अस्पतालमा तलव लिन्छन् अनि सेवा दिन्छन्, प्राइभेटमा ओपिडी शुल्क, कन्सल्टेसन शुल्क लिन्छन् अनि सेवा दिन्छन्। हरेक पेशाको आफ्नै जिम्मेवारी हुन्छ र यो पेशाको जिम्मेवारी भनेको बिरामीको उपचार हो।
वरिष्ठ पत्रकार रविन्द्र मिश्रले भने झैं ‘पेशाको जिम्मेवारी भित्र रहेर गरिने कुनै पनि काम समाजसेवा हुँदैन।’ डक्टरहरुको काम नै बिरामीको उपचार गर्नु हो, त्यसैले कसैको उपचार गरेर निको बनाउनुलाई समाजसेवा भनेर न त समाजले हेर्नु ठीक हुन्छ न त डाक्टर आँफैले। त्यो कामको लागि उसले शुल्क लिएको हुन्छ र त्यहीअनुसार डाक्टरबाट उपचारका कामहरु गरिन्छ। यसलाई मैले तपाईको यो ठीक गरिदिएँ, तपाईलाई बचाइदिएँ भनेर डाक्टरले फूर्ती लगाउनु ठीक हैन, उसले त मात्र आफ्नो काम गरेको हो, जिम्मेवारी निभाएको हो।
पूरानो समयमा डाक्टरहरुले गरेका उपचार, अप्रेसनहरुले ठीक भएको, बाच्ने सम्भावना नभएकाहरुको पनि रोग निको भएको देखेर अचम्म मानेर भगवानको दर्जा दिएर सम्मान गर्ने गर्थे। त्यो एक हिसाबले त्यो समयको लागि ठिकै होला। तर अहिले समय परिवर्तन भएको छ। यसको माने यो हैन की अहिले डाक्टरहरुले त्यसो गर्दैनन्। तर उसले गर्ने कुनै पनि कुरा चमत्कार हैन, दैवी हैन, उसले आफ्नो जिम्मेवारी मात्र निभाएको हो, आफूले सिकेको, जानेको कुरा गरेको हो भन्ने सबैलाई थाहा भईसकेको छ। त्यसैले न डाक्टरले आफूलाई चमत्कार गर्ने भगवानको रुपमा हेरेर घमन्ड गर्न सुहाउँछ न त बिरामी, उसको परिवार र समाजले त्यो दर्जा दिन मिल्छ। बरु एउटा सहयोगी साथीको रुपमा डक्टर÷बिरामीको सम्बन्धमा एउटै लेभलमा काम गर्नु अहिलेको समय सापेक्ष हुन्छ।
प्राइभेट अस्पतालमा डाक्टरले पैसा नभएको बिरामीको उपचार गर्दिन भन्न पाउने कि नपाउने ? सुन्दा नराम्रो लाग्ला, तर त्यो डाक्टरको अधिकारको कुरा हो। पहिलो कुरा, जल्ले जे भनोस् प्राइभेट अस्पताल पैसा कमाउनकै लागि खोलिएका हुन्, उनीहरु महँगो शुल्क लिन्छन् र त्यसै अनुसारको सेवा दिन्छन्, सरकारलाई कर बुझाउछन्। त्यसैले प्राइभेटमा पैसा नभएका बिरामीको उपचार हुन्छ भने त्यो डाक्टर वा अस्पतालको निर्णयअनुसार हुन्छ। कसैले कर गर्न पाउदैनन्। प्रायः प्राइभेट अस्पतालहरुले आफ्नो पब्लिसिटीको लागि त्यसो गरिरहेका हुन्छन्। दोस्रो कुरा, गरिव बिरामीहरुका लागि सरकारी अस्पतालहरु छन्, त्यहाँ सरकारले थोरै शुल्कमा र निःशुल्क पनि सेवा दिने व्यवस्था मिलाएको हुन्छ। पैसा अभाव भएका बिरामीहरु सरकारीमा जानुस् न, प्राइभेटमा गएर महँगो लियो भनेर भन्नु उचित हुँदैन। तर यहाँ के कुरा महत्वपूर्ण छ भने सरकारी अस्पतालहरुलाई राम्रो, सुदृढ बनाउने र प्राइभेट अस्पतालहरुलाई शुल्क र संख्यामा नियन्त्रण गर्ने, अनुगमन गर्ने काम स्वास्थ्य मन्त्रालयले गर्नुपर्छ।
मलाई अचम्म लाग्ने कुरा के हो भने लाखौं करोडौं खर्च गरेर डक्टर बन्न दिने, अनी खर्च भएको पैसा काम गरेर उठाउँछु भन्दा चाँहि यो पेशा सेवा हो भनेर अवरोध गर्ने कुरा पक्कै मेल खादैन। अनि आउँछ मेडिकल शिक्षामा बढ्दै गएको प्राइभेट मेडिकल कलेजहरुको हालीमुहाली, यसैलाई नियन्त्रण गरिनुपर्छ भन्ने गोविन्द केसी सरको आन्दोलन। यदी मेडिकल शिक्षा यही गतीमा महँगो हुँदै जाने र प्राइभेट मेडिकल कलेजहरु बढ्दै जाने हो भने हामीले सरकारी अस्पतालमा काम गरेर थोरै तलवमा चित्त बुझाउने डक्टर मुश्किलले भेट्टाउने छौ।
अन्तमा कुरा के भने डाक्टरी एउटा पेशा हो, यसमा लागेकाहरुको आफ्नै खालको जिम्मेवारी हुन्छ, डाक्टर/बिरामी सम्बन्धमा रहेर उनीहरुले काम गर्छनन्। तर यो समाजसेवा होइन, कसैले आफ्नो काम बाहेक समाजसेवा गर्छ भने त्यो उसको व्यक्तिगत रुची हो र गर्नु राम्रो पनि हो। तर सबैले त्यसो गर्नुपर्छ वा गर्लान् भनेर आस राख्नु मूर्खता मात्रै हो। अनि समस्याको जरा भनेको सरकारी अस्पताल, सरकारी मेडिकल कलेजहरुलाई सुधार नगरिनु, प्रोत्साहन नगरिनु र प्राइभेट अस्पतालहरु, प्राइभेट मेडिकल कलेजहरुलाई च्याउ सरह उम्रन दिनु हो। यो समस्याको उर्लदो भेललाई आँखा चिम्लेर यही वातावरणमा हुर्किएका डाक्टरहरुमा समाजसेवीको भाव आएन, पैसाको पछी मात्रै दौडिए, बिरामीको गोजीमा प्वाल पारे भन्नुको कुनै तुक छैन।
– डा. समिर लामा एमडिजिपी रेजिडेण्ट, महाराजगञ्ज मेडिकल क्याम्पस