ट्विटरमा ब्रजेश खनालको ‘मन नपरेका साथीहरू’ भन्ने ट्विट देखें । ‘कान्तिपुर कोसेली’मा उहाँको अनुभूति छापिएको रहेछ । केही हरफ पढेपछि र लेखको तस्विर देखेपछि उहाँका केही दिनअघिका ट्विट याद आए । उहाँको घुडा दुखेको भन्ने थाहा थियो, तर बैशाखी टेकेरै हिँड्नुपर्ने भएछ । लेखको अन्त्यतिरका केही वाक्यले भने मलाई केही कुरा लेख्नैपर्ने बनायो । अनि बसेँ लेख्न ।
ब्रजेश खनालले लेख्नु भएको थियो, ‘मलाई जाँच गर्ने पहिलो डाक्टरले नै एमआरआई गराएको भए, मलाई जाँच्ने डाक्टरहरूले पनि सकेसम्म अन्दाजको भरमा यो होला र त्यो होला भनेर बिरामीमाथि प्रयोग नगरेको भए, औÈधि नखुवाएको भए, युरिक एसिड हो कि भनेर सुरुमै जा“च गरिदिएको भए मैले बिनाकारण सात दिनसम्म बाथको औषधि खानुपर्दैनथ्यो ।’
यस्तै, केहीअघि कृष्ण धरावासीको ‘पाण्डुलिपि’ पढिसकेर फेसबुकमा स्टाटस लेखेको थिएँ, ‘परिणाम सोचेजस्तो नआउ“दा फर्केर हेरेमा जहिल्यै गल्ती र भुल मात्रै देखिन्छ । तर के थाहा त्यतिबेला गर्न सकिने त्यति नै थियो कि, त्यही नै ठिक थियो कि ।’ धराबासीले श्रीमती सीताको उपचारका क्रममा चिकित्सकहरूबाट भएका कमजोरी÷लापरबाही दाबाका साथ लेखेका छन् ।
ब्रजेश र धराबासीका सम्बन्धमा गल्ती नै भएनन् होला म भन्दिन । मेरो आशय चाहिँ के हो भने, सुरुको अवस्थामा सम्भव भएजति राम्रा कदम तिनै मात्र पो थिए कि ?
मेडिकल प्राक्टिसमा शत्प्रतिशत रोग पत्ता लगाएर मात्र उपचार थाल्छु भनेर कोही चल्न सक्दैन । किनकि, सुरु अवस्थाका जा“चहरूमा केही पनि नदेखिन सक्छ । रोग स्वयम् सुरुवातको अवस्थामा हुने हुँदा त्यतिबेला जस्तै जाँचले पनि रोग नभेट्टाउन सक्छ । अर्को कुरा, सुरुको अवस्थामा बिरामीको समस्या सामान्य खालको छ भने कसैले पनि ठूलो रोग होला भनेर सोच्दैन । यो मानवीय प्रवृत्ति हो, जुन मेडिकल प्राक्टिसमा पनि हुने गर्छ । र, यो धेरै हदसम्म कम खर्चिलो पनि हुन्छ ।
यसैगरी, बिरामीको समस्या सुनेर, क्लिनिकल जाँच (रगत, पिसाब, एक्सरेजस्ता जाँच होइन कि डाक्टरले गर्ने जाँच) गरेर क्लिनिकल ज्ञान, अनुभव र रोगहरूको इपिडेमियोलोजीका आधारमा के रोग हुनसक्छ भन्ने अनुमान गरेर डाक्टरले औषधि चलाउन सक्छन् । त्यसलाई साधारण बुझाइमा ‘अन्दाज’मा वा ‘हचुवा’मा उपचार गरेको भन्ने नि गरिन्छ, तर त्यो वास्तवमा ‘क्लिनिकल डायग्नोसिस’ हो, जुन सामान्य अन्दाजभन्दा धेरै प्रतिशत सही हुन्छ ।
आममानिसलाई मेडिकल प्राक्टिसमा कसरी बिरामी हेरिन्छ, कसरी रोग पत्ता लगाइन्छ, कसरी उपचार गरिन्छ भन्ने कुराको सामान्य ज्ञान पनि नभएजस्तो लाग्छ कहिलेकाहीँ । त्यसैले हामी मेडिकल साइन्सबाट चमत्कारको आशा गर्छौं, गल्ती हुन सक्दैन र हुनै हुँदैन भन्ने सोच्छौं । तर यी व्यावहारिक कुरा होइनन् । यसो भन्दैमा जानाजान गल्ती गर्न पाउनुपर्छ, गल्ती गर्नेलाई छुट दिनुपर्छ भनेको चाहिँ पटक्कै होइन । गल्ती वा लापरवाही गर्ने जोकोही किन नहोस् अवश्य दण्डित हुनुपर्छ । मैले उठाउन खोजेको विषय चाहिँ, मेडिकल साइन्सका सीमितताको हो, जुन मेडिकल प्राक्टिस गर्नेलाई थाहा हुन्छ, तर सेवा लिनेलाई अन्दाजसमेत हुँदैन ।
बिरामी कुनै समस्या लिएर डाक्टरकोमा गएपछि डाक्टरले उसको समस्याबारे सक्दो जानकारी लिन्छन् । कतिलाई ‘खुरुखुरु औषधि नलेखेर यो चाहिँदो–नचाहिँदो के सोधेर बसेको होला’ भन्ने लाग्न सक्छ । ‘के भएर आउनुभयो ?’ भन्दा कति बिरामीले ‘तपाईं डाक्टर, तपाईंलाई पो थाहा हुनुपर्ने नि’ समेत भन्छन् । तर, मेडिकल साइन्समा ‘हिस्ट्री’ भनेर चिनिने यी प्रश्न र यिनका उत्तर जत्तिको महत्वपूर्ण केही पनि हुँदैन । बिरामीको समस्याबारे जानकारी लिएपछि डाक्टरले बिरामीको नाडीको चाल, रक्तचाप, पेट, छाती आदि जाँच्ने विभिन्न क्लिनिकल जाँच गर्छन् । बिरामीको समस्या सुन्नबाट सुरु गरिएको यो प्रक्रियाले रोग पत्ता लगाउन ठूलो भूमिका खेल्छ ।
उदाहरणका लागि, ज्वरो आउने र पेट दुख्ने समस्या लिएर कुनै बिरामी आएमा त्यसका सयौं कारण हुन सक्छन् । सबैका लागि ल्याब जाँच गर्नु, औषधि चलाउनु सम्भव नि हुँदैन र ठिक नि होइन । अनि त्यसस“ग भएका र नभएका अरू लक्षणबारे सोधेर, क्लिनिकल जाँच गरेर सम्भावित रोगको लिस्ट तयार पारिन्छ । रोगबारे निक्र्योलमा पुग्न ल्याब जाँचहरू, एक्सरे, सिटिस्क्यान आदि परीक्षण गरिन्छ । सम्भावित रोगहरूको त्यस्तो लिस्टलाई ‘डिफरेन्सियल डायग्नोसिस’ भनिन्छ । र सबैभन्दा सम्भाव्य डायग्नोसिसलाई ‘प्रोभिजनल वा वर्किङ डायग्नोसिस’ भनिन्छ । युरोप–अमेरिकाजस्ता विकसित मुलुकमा बिरामी आउने बित्तिकै सिटिस्क्यान र एमआरआई गरिन्छ होला । तर, हाम्रोजस्तो देशमा कोही पनि सिधै त्यस्ता महँगा जाँचहरूमा हाम्फाल्दैनन्, बिरामीको तर्फबाट दबाब आएन र कमिसनको खेल भएन भने ।
कुनै पनि समस्या लिएर बिरामी आउँदा सुरुमा ‘कमन’ कुरा सोचिन्छ । माथिल्लो पेट दुखेर आएको छ भने ‘ग्यास्ट्राइटिस’ सोचिन्छ, दाँयापट्टि तल पेट दुखेको छ भने ‘एपेन्डिसाइटिस’ सोचिन्छ र लामो समयदेखि ज्वरो आउने, खोकी लाग्ने छ भने ‘टीबी’ सोचिन्छ । किनकि, मेडिकल साइन्समा एउटा भनाइ छ, ‘अनकमन सिम्टम्स अफ कमन डिजिज आर मोर कमन देन कमन सिम्टम्स अफ अनकमन डिजिज ।’
जस्तोसुकै समस्या होस्, बिरामीको ज्यान जानसक्ने रोगहरू छुट्नु हुँदैन । छाति दुखेको छ भने साधारण ग्यासले दुखेको होला भनेर मात्र बस्न मिल्दैन, ‘हार्टएट्याक’ हो कि भनेर ईसीजी गराउनुपर्छ । पेट दुख्ने समस्यामा सधैं ग्यास्ट्राइटिस मात्र भन्न मिल्दैन, आन्द्रामा प्वाल परेको नि हुन सक्छ । सुरुमै यो गरेको भए, यो औषधि चलाएको भए चाँडै रोग पत्ता लाग्थ्यो, बिरामीले यत्रो सास्ती खेप्नुपर्दैन थियो वा बिरामीको ज्यान बच्न सक्थ्यो भन्न सजिलो छ । कसैले भन्छन्, ‘डाक्टरले मलाई एक महिना नि बाँच्दैन भनेको दुई वर्ष भइसक्यो म अझै ठिक छु, मलाई त डाक्टरको विश्वासै लाग्दैन ।’
वास्तवमा कुनै पनि डाक्टरले बिरामीको आयु तोक्न सक्दैन । मेडिकल साइन्सले उसलाई त्यो सिकाएको पनि हुँदैन । अध्ययन–अनुसन्धानका आधारमा ‘यो रोगको यो अवस्थामा भएका यति प्रतिशत बिरामी यति वर्ष बाँचेको पाइएको छ’ भन्ने मात्रै हुन्छ । ‘यो बिरामी यति दिनको पाहुना हो’ भनेर कसैले भन्छ भने त्यो गलत अभ्यास हो ।
मेडिकल साइन्सको पनि आफ्नै सीमितता हुन्छन्, जुन तपाईं हामी डाक्टर, बिरामी र बिरामीका परिवारले थाहा पाउनै पर्छ र नचाहँदा नचाहँदै पनि मान्नै पर्छ । मेडिकल प्राक्टिसमा डाक्टरले मानवीय संवेदना र भावनाको ख्याल राख्नुपर्छ । हिजोआज स्वास्थ्य क्षेत्र अति नै संवेदनशील बन्दै गइरहेको छ । डाक्टर, नर्सको लापरबाही बढिरहेको, दिनप्रतिदिन अस्पताल तोडफोड, स्वास्थ्यकर्मीमाथि हातपात भइरहेका जस्ता घटना सुन्नमा आउँछन् । तर, मलाई लाग्छ स्वास्थ्य क्षेत्रमा यस्ता लापरबाही (साँच्चै भएका र नाम दिइएका) का घटना अहिले मात्र होइन पहिलेदेखि नै भइरहेका थिए ।
मेरो आग्रह चाहिँ के हो भने, स्वास्थ्य क्षेत्र अति संवेदनशील भएकाले सबै पक्षले संवेदनशीलता प्रदर्शन गर्नुपर्दछ । यसबारे लेख्दा, विचार राख्दा, निर्णय गर्दा सबैले संवेदनशील हुनु जरुरी छ । जसले आफ्नो लेखनमार्फत समाजमा प्रभाव छाड्न सक्छन्, उनीहरूले त झन् सम्बन्धित विषयमा लेख्दा धेरै होस पु¥याउनुपर्छ । डाक्टरहरूले पनि उपलब्ध प्रविधि, अभ्यास, ज्ञानको सहाराले नै रोग पत्ता लगाई उपचार गर्ने हो । न कि कुनै जादु वा दैवीशक्तिको भरमा काम गर्ने हो ।