नेपालमा सबैभन्दा पहिले सन् १९३७ मा टोखाबाट क्षयरोग सेवा सञ्चालन गरिएको पाइन्छ। १९९५ मा डट्स सेवा शुरू भयो। २००६ मा क्षयरोग रोक्ने रणनीति अनुसार काम भएको छ। साथै २०१६ मा ग्लोवल इण्ड टिबीको नीति अवलम्बन गरिएको छ। २०२४ बाट छोटो अवधिको उपचार विपाल एम.विपाल जस्ता उपयुक्त रेजिमेनवाट क्षयरोगीको उपचार हुँदैछ।
यसैगरी एआइ एक्सरेबाट देशभरीका संक्रमितको क्षयरोग परिक्षण हुँदैछ। सन् २०५० मा प्रति दश लाख एक भन्दा कममा क्षयरोग संक्रमण हुनुपर्ने नेपाल सरकारले लक्ष्य लिएको छ।
नेपालमा वर्षेनी नयाँ क्षयरोगीको संख्या ६८ हजार अनुमान गरिएको छ तर आर्थिक वर्ष २०८१/८२ मा ३९ हजार १ सय ५० जना डिएस र ३९७ जना डि आरका क्षयरोगी मात्र पत्ता लागेका छन्। करिब जम्मा जनसंख्याको आधा जनसंख्यालाई क्षयरोगको सुप्त संक्रमण भएको अनुमान छ। कोभिडबाट नेपालमा १२ हजार जतिको मृत्यु भएको थियो भने क्षयरोगबाट वर्षेनी १६ हजारको मृत्यु हुने अनुमान गरिएको छ।
नेपालमा क्षयरोगीको सेवा सम्बन्धी जानकारी लिन एनटीपीएमआईएस सूचना प्रणाली प्रयोगमा आएको छ। यस सूचना प्रणालीमा देशभरीका सरकारी र गैर सरकारी संस्थाहरूले प्रतिवेदन पेश गरीरहेका छन्। नयाँ क्षयरोगी, उपचारमा रहेका क्षयरोगी र उपचार पुरा गरेका क्षयरोगी साथै हराएका क्षयरोगीको समयमै पूर्ण र सत्य डाटा पत्ता लगाउन यस प्रणालीलाई सुदृढिकरण गर्न तपसिल अनुसारको केही सुझावहरू राखिएका छन्।
क्षयरोग व्यक्तिगत डाटा संरक्षण ऐन
यो ऐनले डेटा सुरक्षाको आधारशिलाको रूपमा काम गर्दछ, जसले व्यक्तिगत डेटाको सङ्कलन, प्रयोग र प्रस्तुतिकरणलाई नियन्त्रण गर्दछ। यसले व्यक्तिगत डेटा दुरुपयोग हुनबाट रोक्दछ । यो ऐनले डेटा सुरक्षाको लागि मापदण्डहरू सेट गर्दछ र व्यक्तिहरूलाई उनीहरूको व्यक्तिगत डेटा सम्बन्धी अधिकार प्रदान गर्दछ।
क्षयरोग स्वास्थ्य सूचना विधेयक
यो विधेयकले क्षयरोग सेवा प्रणालीमा सही जानकारी व्यवस्थापनको लागि एक व्यापक रूपरेखा स्थापित गर्ने लक्ष्य राखेर एक महत्वपूर्ण विकासको प्रतिनिधित्व गर्न सक्छ। यो विधेयकवाट क्षयरोग स्वास्थ्य सेवा क्षेत्रमा गोपनीयता र सुरक्षा बढाउने, क्षयरोग स्वास्थ्य जानकारीको सुरक्षित सङ्कलन, पहुँच, प्रयोग मा सहयोग पुग्न सक्छ।
साइबर सुरक्षा निर्देशिका तयार
यो निर्देशिकाले क्षयरोग सम्बन्धी सूचना सुरक्षित गर्न आवश्यक साइबर सुरक्षा मापदण्डहरू तयार गर्न सक्छ। यसले अनधिकृत क्षयरोगको सूचनामा पहुँचमा नियन्त्रण गरी साइबर सुरक्षा खतराहरूसँग सम्बन्धित जोखिमहरूलाई नियन्त्रणमा लिन सहयोग गर्न सक्दछ।
डेटा व्यवस्थापन निर्देशिका
विशेषगरी महामारीको तयारीसँग सम्बन्धित डाटा व्यवस्थापन र निगरानीका लागि निर्देशिकाले क्षयरोग स्वास्थ्य डाटाको गोपनीयता कायम राख्दछ। यो निर्देशिकाले स्वास्थ्य आपतकालको समयमा सङ्कलन गरिएको डाटा सुरक्षित रूपमा ह्यान्डल गरी उचित रूपमा प्रयोग गर्नमा सहयोग गर्न सक्छ।
निगरानी र अनुगमन
सही निगरानी र अनुगमनले क्षयरोग डेटा सुरक्षित रूपमा व्यवस्थापन गरी विशिष्ट उपकरणहरू कसरी प्रयोग गर्ने भन्ने विषयमा सहयोग गर्दछ। यसले वास्तविक समय निगरानी गरी क्षयरोग महामारी खतरालाई नियन्त्रण गर्न सक्दछ।
सरकार र सरोकारवालाहरूको संलग्नता
सरकार र सरोकारवालाहरूको सही संलग्नताले क्षयरोग डेटाको गोपनीयता र सुरक्षाको बारेमा छलफल गरी जनता र सरोकारवालाहरूलाई संलग्न गराउनमा जोड दिन सकिन्छ। यो संलग्नताले प्रभावकारी र सार्वजनिक रूपमा स्वीकार्य नीतिहरू तयार गर्न सहजीकरण गर्दछ।
नियमित डेटा लेखा परीक्षण
सही डेटा लेखा परीक्षणले क्षयरोगीको डाटा को सुरक्षा र कानुन पालना गर्न सकिन्छ। क्षयरोग डेटा ह्यान्डल गर्ने सबै क्षेत्रहरूमा नियमित लेखा परीक्षण गर्नु पर्दछ। क्षयरोग डाटाको विश्वास र जवाफदेहिता कायम राख्न यी उपायहरू महत्त्वपूर्ण छन्।
तालिम र जागरूकता कार्यक्रमहरू
निरन्तर सूचना व्यवस्थापन तालिम कार्यक्रमहरूले नेपालमा क्षयरोगको डेटा ह्यान्डलिङमा संलग्न सबै कर्मचारीहरूलाई डेटा सुरक्षाका लागि उत्तम अभ्यासहरू गराइ यस सम्बन्धी कानुनी आवश्यकताहरू बारे सचेत गराउन सकिन्छ ।
अतः नेपालमा क्षयरोग प्रिभिलेन्स २०१८/१९ को सर्भेको नतिजा अनुसार वार्षिक अनुमानित क्षयरोगी संख्या र रोग पत्ता लागि उपचारमा आउने गरेको संख्यालाई हेर्दा करिब ६० प्रतिशत संभावित क्षयरोग प्रभावित व्यक्तिहरूको रोग पत्ता लगाइ उपचारको दायरामा ल्याउनका लागि राष्ट्रिय क्षयरोग रणनितिक योजना २०७८/७९, २०८२/८३ तयार गरिएको छ।
यो कार्यक्रम मार्फत स्थानीय तहलाई जवाफदेही बनाउँदै उल्लेखित चुनैतीलाई सामाना गर्न सहयोगी सिद्द हुने भएकोले सन् २०५० भित्रमा क्षयरोगीलाई प्रति दश लाख जनसंख्यामा एक जना भन्दा कममा ल्याउने नेपाल सरकारको सोच रहेको छ।
स्थानीय श्रोत र साधनको परिचालन गरी गुणस्तरिय तथा दिगो रूपमा क्षयरोग सेवा प्रदान गर्न, क्षयरोग अन्तका लागि संघ प्रदेश र स्थानीय तह बीचको समन्वय र सहकार्य कायम गर्दै स्थानीय साझेदार तथा सरोकारवालासंगको स्वामित्व र संलग्नता विकास गर्न, क्षयरोग अन्तका लागि राजनैतिक प्रतिवद्दता सहित विरामी मैंत्री स्वास्थ्य प्रणालीको विकास गर्न आजको आवश्यकता भएकोले क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक रहेको देखिन्छ।
(वीरबहादुर रावल राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका तथ्यांक निर्देशक हुन्। )