काठमाडौं- अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सुर्तीजन्य पदार्थ नियन्त्रणमा उद्योगीको हस्तक्षेप र त्यसले महिलामा पार्ने प्रभावबारे सामाजिक तथा नागरिक क्षेत्रका महिला नेतृहरू एकजुट भएका छन्।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जाल नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा आइतबार आयोजना गरेको ‘सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप र महिलाको भूमिका’ विषयक अन्तरसंवाद तथा प्यानल डिस्कसन कार्यक्रममा सहभागी महिला नेतृहरूले सुर्ती नियन्त्रणमा एकजुट हुनुपर्ने आवश्यकता बोध गरेका हुन्।
कार्यक्रमको सुरुवात गर्दै स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण राष्ट्रिय सञ्जालका राष्ट्रिय संयोजक शान्तलाल मुल्मीले महिलाहरूलाई सुर्तीमा आकर्षण गर्न उद्यमीहरूले विभिन्न छलछाम गरिरहेको बताए। उनले सामाजिक सञ्जाल र चलचित्रमार्फत महिलाले सुर्ती सेवन गर्नु सामान्य हो र सुर्ती सेवन गरेर पुरुष र महिला बराबर हुन्छन् भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको दृष्टान्त पेस गरे। विशेषगरी ई-सिग्रेट र भेप संस्कृतिमार्फत महिलालाई कुसंस्कारमा धकेलिरहेको भन्दै उहाँले सुर्ती नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयन र उद्योगीको हस्तक्षेपविरुद्ध सशक्त आवाज उठाउन महिलाहरूको भूमिका अपरिहार्य रहेको धारणा राखे।
कार्यक्रममा सहभागी वक्ताहरूले सुर्ती उद्योगले नयाँ–नयाँ रणनीति प्रयोग गर्दै महिलालाई लक्षित गरी बजार विस्तार गरिरहेको बताए। उनीहरूका अनुसार विशेषगरी सामाजिक सञ्जाल, 'लाइफस्टाइल मार्केटिङ', आकर्षक प्याकेजिङ तथा स्वादयुक्त उत्पादनमार्फत युवतीहरूलाई आकर्षित गर्ने प्रयास भइरहेको छ।
नेपालमा महिलामा सुर्तीको प्रयोग पुरुषको तुलनामा कम भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप परिवर्तन हुँदै गएको देखिन्छ। विशेषगरी शहरी युवतीहरूमा भेप तथा ई-सिग्रेट जस्ता नयाँ उत्पादनप्रति आकर्षण बढ्दै गएको संकेत देखिएको वक्ताहरूले बताए।
राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंहले सुर्ती उद्योगले महिलाको स्वतन्त्रता र आधुनिकताको छविलाई प्रयोग गरेर बजार विस्तार गर्ने रणनीति अपनाउने गरेको बताइन्। धुम्रपानलाई स्वतन्त्रता र आधुनिक जीवनशैलीसँग जोडेर प्रस्तुत गर्नु उद्योगको दीर्घकालीन मार्केटिङ रणनीति भएको उनको तर्क थियो।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले महिलामा सुर्ती प्रयोगको असर निकै गम्भीर हुने बताएका छन्। धुम्रपानले क्यान्सर, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउनुका साथै गर्भावस्थामा समेत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ। गर्भवती महिलाले सुर्ती प्रयोग गर्दा गर्भपतन हुने, कम तौलका शिशु जन्मिने तथा समयभन्दा अगाडि बच्चा जन्मिने जोखिम बढ्ने गर्दछ, जसले मातृ तथा शिशु स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ।
गैरसरकारी संस्था महासंघकी पूर्व अध्यक्ष शर्मिला कार्कीले सुर्ती उद्योगले नीति निर्माण प्रक्रियामा समेत प्रभाव पार्ने, कर वृद्धि रोक्ने, कानुन कार्यान्वयन कमजोर बनाउने र नयाँ उत्पादनमार्फत बजार विस्तार गर्ने रणनीति अपनाउने गरेको उल्लेख गरे।
वातावरणविद् डा. अनुसुया जोशीले नेपालमा सुर्ती नियन्त्रणका लागि कानुन भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन्। सार्वजनिक स्थानमा धुम्रपान प्रतिबन्ध, सुर्तीजन्य पदार्थको बिक्री नियन्त्रण तथा सामाजिक सञ्जालमार्फत हुने अप्रत्यक्ष प्रचार रोक्न कडा कदम आवश्यक रहेको उनको भनाइ थियो। सुर्ती सेवनले मानव स्वास्थ्य मात्र नभई वातावरणमा समेत गम्भीर क्षति पुर्याइरहेको उनले टिप्पणी गरिन्।
कार्यक्रममा सहभागी महिला नेतृहरूले सुर्ती नियन्त्रण अभियानमा महिला आन्दोलनको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिए। महिला समूह, आमा समूह तथा स्थानीय तहका महिला प्रतिनिधिहरूले समुदाय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्न सक्ने उनीहरूको सुझाव थियो।
वक्ताहरूले विद्यालय तथा विश्वविद्यालय स्तरमा युवालाई लक्षित गरी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने र भेप तथा ई-सिग्रेट सुरक्षित विकल्प होइनन् भन्ने सन्देश फैलाउनुपर्ने आवश्यकता औँल्याए।
सहभागीहरूले सुर्ती नियन्त्रणका लागि सरकार, नागरिक समाज, स्वास्थ्य क्षेत्र तथा सञ्चार क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राखे। उनीहरूले सुर्तीजन्य पदार्थमा कर वृद्धि, स्वादयुक्त उत्पादनमा नियन्त्रण तथा युवालाई लक्षित प्रचार रोक्नुपर्नेमा जोड दिए। कार्यक्रमको अन्त्यमा वक्ताहरूले महिला सशक्तीकरण र सुर्तीमुक्त समाजबीच गहिरो सम्बन्ध रहेको बताउँदै महिलाको नेतृत्व र सामूहिक प्रयासबाट सुर्तीमुक्त समाज निर्माण सम्भव हुने विश्वास व्यक्त गरे।