काठमाडौं - विश्व मिर्गौला दिवसको अवसरमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ । मिर्गौला रोगको जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा कलेजका अस्पताल निर्देशक प्रा. डा. निलमणि उपाध्यायले जथाभावी औषधि सेवन गर्दा मिर्गौलामा गम्भीर असर पर्न सक्ने बताए।
उनले चिकित्सकको परामर्श बिना औषधि सेवन नगर्न सबैलाई आग्रह गर्दै स्वस्थ जीवनशैली अपनाउन, पर्याप्त पानी पिउन, नियमित स्वास्थ्य परीक्षण गराउन तथा मिर्गौला स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिए।
कार्यक्रमका क्रममा नर्सिङ स्टाफहरूले मिर्गौला रोगका प्रमुख कारण, देखिने लक्षण, रोकथामका उपाय तथा उपचार विधिबारे जानकारी प्रदान गर्दै सहभागीहरूलाई स्वास्थ्य सचेतना दिएका थिए ।
कार्यक्रममा अस्पतालका चिकित्सक, नर्सिङ स्टाफ, कर्मचारी तथा सेवाग्राहीहरूको सहभागिता रहेको थियो । यस्तो कार्यक्रमले मिर्गौला रोगसम्बन्धी जानकारी बढाउन तथा समयमै उपचारतर्फ प्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।