न्यूयोर्क- नेपालले प्रस्तुत गरेको प्रस्तावलाई पारित गर्दै संयुक्त राष्ट्रसंघको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय वेलनेस दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ।
संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी नियोगका अनुसार महासभाबाट पारित उक्त प्रस्तावले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय पक्षसँग सम्बन्धित समग्र कल्याणका रूपमा बुझ्नुपर्ने कुरामा जोड दिएको छ।
प्रस्तावले रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा समावेशी स्वास्थ्य प्रणालीको विकास मार्फत विश्वभर बलियो र सक्षम समाज निर्माण गर्न सहयोग पुग्ने उल्लेख गरेको छ।
यस प्रस्तावलाई विभिन्न देशहरूले समर्थन गरेका थिए। प्रस्ताव पारित गर्न सहयोग गर्ने सबै राष्ट्रहरूलाई नेपालले धन्यवाद व्यक्त गरेको छ।
यस निर्णयसँगै अब हरेक वर्ष अप्रिल १५ लाई विश्वभर ‘अन्तर्राष्ट्रिय वेलनेस दिवस’ का रूपमा मनाइनेछ।