काठमाडौं- काठमाडौँको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सेवा विस्तार सम्बन्धी औपचारिक सम्झौता भएको छ। बुधबार आयोजित एक कार्यक्रममा निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा. श्याम लम्सालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार अब निजामती कर्मचारीहरूले निजामती अस्पतालमार्फत पाउँदै आएका सेवा र सुविधाहरू राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै प्राप्त गर्ने भएका छन्। उपचारका अतिरिक्त दुवै संस्थाले जनशक्ति तालिम र स्वास्थ्य अनुसन्धानका क्षेत्रमा समेत सहकार्य गर्ने सम्झौतामा उल्लेख छ।
छुट र सुविधाको प्रावधान
निजामती अस्पतालले कर्मचारीहरूलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुट दिँदै आएको छ। जसअनुसार:
कर्मचारी र परिवार: बहालवाला कर्मचारी र उनका परिवार (बुबा, आमा, श्रीमान्/श्रीमती तथा २१ वर्षमुनिका दुई सन्तानसहित ६ जना) लाई उपचारमा ४० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। (यो सुविधा ओपिडी, एम्बुलेन्स र औषधिमा भने लागू हुँदैन)।
तहगत छुट: बहालवाला अधिकृत स्तरका कर्मचारीलाई ४० प्रतिशत र सोभन्दा तल्लो तहका कर्मचारीलाई सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था छ।
अवकाशप्राप्त कर्मचारी: सेवानिवृत्त कर्मचारीहरूले सबै किसिमका सेवामा ५० प्रतिशत छुट पाउने अस्पताल प्रशासनले जनाएको छ।
अनिवार्य दर्ता र प्रमाणीकरण
सेवा प्राप्त गर्न कर्मचारीहरूले विशेष सफ्टवेयर प्रणालीमा आबद्ध हुनुपर्नेछ। कर्मचारीले आफ्नो र परिवारका सदस्यको नामसहितको फारम भर्नुपर्ने र सो विवरणलाई अस्पतालले अप्टिकल फाइबर नेटवर्कमार्फत 'निजामती किताबखाना'को डाटाबेससँग जोड्ने गर्दछ। अस्पतालमा उपचारका लागि जाँदा सफ्टवेयरमा कर्मचारीको नाम प्रविष्ट भएपछि किताबखानाले 'भेरिफाई' गरेसँगै मात्र कर्मचारी सरहको सुविधा प्राप्त हुनेछ।
कुनै कर्मचारी निजामती सेवामा भए तापनि किताबखानामा दर्ता नरहेको खण्डमा अस्पतालको सिस्टमले मान्यता दिने छैन। यस्तो अवस्थामा कार्यालय वा कार्यालय प्रमुखको सिफारिस अनिवार्य हुनुपर्ने कडा प्रावधान राखिएको छ।
२०८३ वैशाखदेखि कार्यान्वयन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी २०८३ साल वैशाख १ गतेदेखि यो सेवा सुरु गर्ने लक्ष्य राखेको छ। प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले भने, 'देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमध्ये निजामती कर्मचारीको सेवाका लागि यस्तो पहल गर्ने हामी पहिलो हौँ। यसबाट लुम्बिनी प्रदेशका कर्मचारी र तिनका परिवारलाई ठुलो राहत पुग्नेछ।'
त्यस्तै, निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीले राज्यको दायित्व पूरा गर्न सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनाअनुरूप नै राप्तीसँग सम्झौता गरिएको बताए।
विगत दुई वर्षदेखि एमबिबिएस र एमडी/एमएस जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यो सम्झौताले विकास र विस्तारमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।