नेपालको स्वास्थ्य क्षेत्रमा पछिल्ला दशकमा संरचनागत तथा प्राविधिक रूपमा धेरै सुधारहरू भएका छन्। अस्पताल विस्तार, स्वास्थ्य बीमा कार्यक्रम, डिजिटल स्वास्थ्यको प्रयोग, र रोग नियन्त्रणका कार्यक्रमहरू विस्तार हुँदै आएका छन्। तर यति धेरै लगानी र परियोजनाबीच पनि मूल प्रश्न भने उहीँ छ- के नेपाली नागरिकले गुणस्तरीय उपचारको अनुभव गरिरहेका छन्?
इमानदार मूल्यांकन गर्दा उत्तर स्पष्ट छ, नेपालको स्वास्थ्य प्रणाली अझै पनि ‘भोल्युम–बेस्ड’ सेवामै केन्द्रीकृत छ, जहाँ कति बिरामी आयो? भन्ने नै सफलताको प्रमुख सूचक बनेको छ।विश्व भने तीव्र गतिमा ‘भ्यालु–बेस्ड केयर’तर्फ अघि बढिरहेको छ। नेपाल भने बिस्तारै पछि परिरहेको अवस्था छ। त्यसैले अब स्वास्थ्य प्रणालीलाई भ्यालु-केन्द्रित मोडेलमा लैजानु विकल्प होइन, भविष्यको अपरिहार्य आवश्यकता हो।
स्वास्थ्य सेवा किन अझै भोल्युम केन्द्रित छ?
नेपालका धेरै अस्पतालमा अझै पनि जति धेरै सेवा, त्यति धेरै आम्दानी भन्ने संस्कृतिको प्रभाव छ।
जस्तै:
• अनावश्यक परीक्षण
• आवश्यकता बिना भर्ना
• उच्च दाबी
• औषधि र प्रक्रिया दोहोरिने
यी सबै भोल्युम-बेस्ड मोडेलका दुष्परिणाम हुन्। यस्तो मोडेलमा स्वास्थ्यकर्मीको ध्यान नतिजा (आउटकम) मा होइन, सेवा संख्या बढाउनतिर जान्छ। परिणामस्वरूप प्रणाली खर्चिलो तर कम प्रभावकारी बन्छ।
भ्यालु–बेस्ड केयरको सार के हो?
यसमा सेवालाई मूल्याङ्कन गर्ने आधार बिरामीको नतिजा हुन्छ—
• बिरामी कति निको भयो?
• उपचार कति प्रभावकारी रह्यो?
• दीर्घकालीन सुधार कत्तिको टिकाउ रह्यो?
• पुनःभर्ना दर घट्यो कि बढ्यो?
• रोग रोकथाममा कति प्रभावकारी योगदान भयो?
अर्थात्—सेवा संख्या होइन, सेवा गुणस्तर र मूल्य नै सूचक बन्ने।
नेपालले किन अब भ्यालु–बेस्ड केयर अपनाउनैपर्छ?
१. वर्तमान प्रणाली खर्चिलो तर गैर–प्रभावकारी बनेको छ। अस्पतालको कमाइ सेवा संख्यामा निर्भर भइरहको छ। बिरामी स्वस्थ भयो कि भएन—मापनको आधार नै छैन। बीमा दाबी अनावश्यक रूपमा बढ्दै गएको छ भने प्रणाली अस्थिर बन्दै गएको छ।
२. बिरामी अनुभव नमीठो छ। लाइन, अस्पष्ट शुल्क, सेवा गुणस्तरमा अन्तर, जानकारीको अभाव- यी सबैले पेसेन्ट जर्नी (बिरामीको उपचार अनुभव) असहज बनाएको छ। भ्यालु-बेस्ड मोडेलले बिरामी अनुभवलाई नै केन्द्रीय सूचक बनाउँछ।
३. सरकारको स्रोत सीमित
स्वास्थ्य बजेट जीडीपीको ५% भन्दा कम छ। भ्यालु–बेस्ड मोडेलले अनावश्यक खर्च कटौती र दीर्घरोग व्यवस्थापनमा ठूलो प्रभाव पार्छ।
४. नसर्ने (एनसिडीएस) रोगको बढ्दो बोझ
मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर—यी रोगको नियन्त्रण आउटकम-बेसड मोडेल बिना सम्भव छैन।
नेपाल कसरी भोल्युम → भ्यालु बेस्ड केयरमा रूपान्तरण हुन सक्छ?
१. ‘गुणस्तर’लाई सेवा मूल्यांकनको केन्द्रमा राख्ने
• अस्पतालहरूले क्लिनिकल आउटकम सार्वजनिक गर्नुपर्ने
• संक्रमण दर, पुनःभर्ना दर, सर्जरी सफलता, मातृ–शिशु मृत्यु—अनिवार्य रिपोर्टिङ
• “जति धेरै सेवा = जति राम्रो” भन्ने सोच अन्त्य
२. स्वास्थ्य बीमा बोर्ड (एचआईबी) लाई भ्यालु इन्सेन्टिभ मोडेलतर्फ लैजाने
• राम्रो नतिजा दिएका अस्पताललाई अतिरिक्त भुक्तानी—भ्यालु बोनस)
• कम गुणस्तर र अत्यधिक दाबीमा दण्ड
• आउटकम–बेस्ट प्याकेजको प्रयोग
• पेसेन्ट सेटिस्फ्याक्सनलाई भुक्तानीसँग जोड्ने
३. डिजिटल हेल्थलाई नतिजा–केन्द्रित बनाउने
• ओपन–आइमिस), ईएमआर, एचआईएमएस
अहिले ‘डेटा भर्ने’ प्रणाली-अब यसले
– जोखिम भविष्यवाणी (रिस्क प्रेडिक्सन)
– उपचार प्रभाव मापन
– उच्च जोखिम समूह पहिचान
– निरन्तर हेरचाह
जस्ता कार्य गर्नुपर्नेछ।
भ्यालु-बेस्ड केयर लागू भए के परिवर्तन आउँछ?
• बिरामी छिटो निको
• अनावश्यक परीक्षण घट्ने
• दाबी दुरुपयोग कम
• अस्पतालको दक्षता वृद्धि
• सरकारको खर्च कम
• स्वास्थ्य प्रणाली दिगो
२०३० को युनिभर्सल हेल्थ कवरेज लक्ष्य नजिकिँदै गर्दा नेपालले पुरानो भोल्युम-बेस्ड सोचमा अडिरहनु उपयुक्त छैन। अब परिवर्तन नआए बीमा कार्यक्रम अस्थिर, खर्च बढ्दो, र रोग नियन्त्रण कमजोर हुनेछ। नेपालले अब प्रश्न सोध्नुपर्ने स्पष्ट छ- 'कति सेवा दियो?' होइन, 'सेवाले कति मूल्य सिर्जना गर्यो? बिरामी कति निको भयो?' भ्यालु-बेस्ड केयर नै नेपालको स्वास्थ्य प्रणालीलाई दिगो, गुणस्तरीय र भविष्य–उन्मुख बनाउने सबैभन्दा व्यवहारिक मार्ग हो।