काठमाडौं - बर्दियाको ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै काम गरिरहेको छ। नगरपालिकाका स्वास्थ्य अधिकृत विष्णु प्रसाद ज्ञवालीका अनुसार नेपालमा नै पहिलो पटक पूर्ण हात धुने पालिकाका रुपमा नगरपालिका परिचित छ। यस पालिकाले गर्भवती आमासँग नगरपालिका नामक नयाँ कार्यक्रमको सुरुवात गरेको छ। उक्त कार्यक्रम सञ्चालनमा ल्याउने नेपालकै पहिलो नगरपालिका ठाकुरबाबा नै भएको ज्ञवालीको दाबी छ।
स्वास्थ्य सेवाको क्षेत्रमा सुधार गर्न सके मात्रै सामाजिक विकास सम्भव भएको निष्कर्षसहित नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको उनको दाबी छ।
‘नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ। सबै वडामा पुग्ने गरी स्वास्थ्यकर्मी छन्।’ ज्ञवाली भन्छन्, ‘एक आधारभुत नगर अस्पताल २४ औं घन्टा इमर्जेन्सी, ओपिडी तथा आइपिटी समेत सेवा दिने गरी सञ्चालनमा ल्याइएको छ।’
नगरपालिकाले सर्पदंश उपचार केन्द्र र स्वास्थ्य बीमा कार्यक्रमलाई पनि सञ्चालनमा ल्याएको छ। जनावरले बढी आक्रमण गर्ने तथा राष्ट्रिय निकुञ्ज क्षेत्र समेत रहेकोले रेबिज विरुद्धको खोप नगरपालिकाले निःशुल्क रुपमा प्रदान गर्दै आइरहेको छ ।
जिरो होम डेलिभरी पालिका
विगत चार वर्षयता नगरपालिकामा घरमा सुत्केरी हुनेको संख्या शुन्य रहेको ज्ञवाली बताउँछन्।
ज्ञवालीले थपे ‘कुनै पनि बालबालिका खोप लगाउन छुटेका छैनन्। विगत चार वर्षदेखि हामी पूर्णखोप पालिका घोषणा भइरहेका छौं।’
हाल पालिकामा चार वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् ।ती सेन्टर एसीसहित सञ्चालनमा ल्याइएको छ। बीमा कार्यक्रममा समावेश भएका बाहेक सेवाग्राहीले चाहेको औषधिले निश्चित प्रणाली बनाएर नगरपालिकाले दिने गरेको छ।
‘जनताको चाहना बुझेर काम गरिएको छ। त्यसकारण पनि स्वास्थ्य क्षेत्रमा अन्य पालिकाभन्दा अगाडि छौ,’ उनले भने।

डेलिभरीका लागि आएका महिलाहरुलाई स्थानीय स्वास्थ्य संस्थाले नसक्ने भएमा मात्र अन्य अस्पतालमा रेफर गर्ने गरिन्छ। सुत्केरी भइसकेपछि पिएनसी भिजिट नामक कार्यक्रम नेपाल सरकारले नै सञ्चालन गर्दै आइरहेको छ। जसअन्र्तगत सुत्केरी अवस्थामा खानपान लगायतका व्यावहारिक ज्ञान दिने गरिन्छ।
कार्यक्रम अन्तर्गत परिवारका सदस्यसहित परामर्श नहुँदा त्यति प्रभावकारी हुन नसकेको निष्कर्षसहित नगरपालिकाले उक्त कार्यक्रमको सट्टा नयाँ कार्यक्रम ल्याएको छ। उक्त कार्यक्रम अन्तर्गत २० देखि २४ साताका गर्भवतीहरुलाई पालिकाकै नर्सिङ कर्मचारी घर–घरमा गई परिवारका सदस्य नै राखेर परामर्श दिने गरिएको छ।
जनशक्ति अभावका बीच प्रभावकारी सेवा
नगरपालिकाका स्वास्थ्य संस्थामा पुराना संरचना अनुसार नै चार स्वास्थ्य चौकीको दरबन्दी कायम छ। संघीयता सँगै ९ वटा स्वास्थ्य संस्था र १ अस्पताल सञ्चालनमा छ।
अस्पतालका सबै जनशक्तिको व्यवस्थापन नगरपालिकाले नै गर्दै आइरहेको छ। ५ आधारभुत स्वास्थ्य केन्द्रको जनशक्तिको व्यवस्थापन समेत नगरपालिकाले नै गर्दै सेवा दिइरहेको छ।
करारमा जनशक्तिको नियुक्ति गरेर पनि सेवा दिइरहेको ज्ञवाली बताउँछन्। ओएनएम सर्वे भएपनि पास नहुँदा जनशक्तिको जनशक्तिको समस्या भएको हो। हाल ३ मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, पब्लिक हेल्थ अफिसर, अनमी, अहेब, ल्याबका कर्मचारी, रेडियोलोजिष्ट लगायतका कर्मचारी छन्।
नगरपापलिकाले आधारभुत अस्पताल मार्फत् साताको एक पटक विशेषज्ञ सेवा दिदैं आइरहेको छ। नगरपालिकाले केही समय अगाडि मात्रै पोषण प्रोफाइल समेत बनाइसकेको छ।
नगरपालिका भित्र कुपोषित बालबालिकाहरुको संख्या बढ्दै गएपछि पोषण लक्षित कार्यक्रम सञ्चालनमा ल्याइएको हो। नगरपालिकाका २ स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा नै गरेर काम अगाडि बढाइएको जानकारी ज्ञवालीले दिए। वडा ४ लाई पोषणमैत्री घोषणा गरिएको छ।
डिजिटल सेवातर्फ उन्मुख
नगरपालिकामा बहुसंख्यक चौधरी समुदायको बसोबास छ। उक्त समुदायमा बढी देखिने सिकलसेल रोगलाई सम्बोधन गर्दै नेपाल सरकारले नै सम्बोधन उपचार निःशुल्क बनाएको छ।

यद्यपि थालेसेमिया कतैबाट पनि सम्बोधन नगरिएको अवस्थामा नगरपालिकाले थालेसेमिया भएको बिरामीलाई मासिक ३ हजार रुपैयाँ उपचार खर्च दिदै आइरहेको छ। तथ्यांकलाई विश्वासिलो बनाउनका लागि डिजिटल सेवातर्फ अगाडि नगरपालिका अगाडि बढिरहेको छ।
चुनौती तथा समस्या
नगरपालिकामा धेरै पुराना कर्मचारी कार्यरत हुँदा प्रविधिमैत्री सेवा प्रवाहमा चुनौती थपिएको छ। डिजिटल सेवातर्फ उन्मुख हुँदा प्रविधिको ज्ञान नभएका पुराना कर्मचारी कार्यरत रहेकोले अपेक्षा अनुसारको काम हुन सकेको छैन।
नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्दै काम गरेपनि जनप्रतिनिधि तथा जनताले पनि अन्य पूर्वाधारलाई बढी महत्व दिँदा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन समस्या भएको छ।